परिवार सँगै छैन दसैँ खल्लो लाग्छ

बिहिबार, ०१ कार्तिक २०७५, १४ : १७ सृजना पाण्डेय

नेपाली समाजमा रिनधन गरेर भए पनि दसैँ रमाइलो गरी मनाउने चलन छ । हुनेखानेले मात्र होइन हुँदा खानेले पनि वर्षमा एकचोटि नयाँ लुगा र टीका–जमरा लगाएर ठाँटिने र वर्षभरिका पिरबेथा भुल्ने चाड हो दसैँ । कसैले केही मोज गर्यो भने नेपालीमा भनाइ नै छ– ‘यसलाई त दसैं पो आएछ ।’ यसरी खुसी हुने, नयाँ कपडा लगाउने, मिठामिठा खानेकुरा खाने र रमाइलो गर्ने पर्वका रूपमा परिचित छ दसैँ।

दसैँ लाउने खानेबाहेक आफन्तसँग भेटघाट गर्ने पर्व पनि हो । दसैँमा परिवारका सबै सदस्य सँगै भएर मान्यजनका हातको टीका र जमरा लगाउने, आशीर्वाद लिने गरिन्छ । यस पर्वमा विदेश गएका आफन्तहरु पनि मान्यजनको हातबाट टीका ग्रहण गर्नका लागि स्वदेश फर्कन्छन् । नेपालमै पनि पढ्न वा रोजगारीको सिलसिलामा आफ्नो परिवार छोडेर शहर पसेकाहरु दसैं मनाउन घर फर्कन्छन्।

नेपालका पूर्वी क्षेत्रमा दसैंको टीका दशमीदेखि पूर्णिमासम्म लगाउने चलन छ भने पश्चिम क्षेत्रमा विजया दशमीका दिन मात्र टीका लगाउने चलन छ । टाढाटाढाका आफन्तसँग पनि भेटघाट गर्न सकियोस् भनेर नै पाँच दिनसम्म आफन्तकहाँ जाने र टीका लगाउने चलन चलेको हुनुपर्छ । वर्षभरिका अरू दिनमा भेट नभए पनि दसैँमा भेट्ने र सुखदुःख साटासाट गर्ने हुनाले दसैँले पारिवारिक स्नेह र सामाजिक सद्भाव बढाउनमा ठूलो टेवा पुर्याएको छ।

दसैँका अवसरमा दसैंको दिनदेखि पूर्णिमाको दिनसम्म पूmलपाती विसर्जनको मौका पारेर ठाउँठाउँमा मेला लाग्ने गर्छ । घरघरमा गएर भेटघाट गर्न सम्भव नभएका आफन्त र साथीसँगीसँग भेट्न सकिने हुनाले यी मेलाहरूको पनि आफ्नै महत्व छ । यी मेलाले पनि परिचितसँगको सम्बन्ध नवीकरण गरेर व्यक्तिगत जीवनलाई उल्लासमय बनाउन र सामाजिक एकता कायम गर्न सहयोग पुर्याएका छन्।

उहिलेको दसैँ र अहिलेको दसैँको रौनकमा निकै परिवर्तन आएको छ । उहिले दसैं जति उल्लासमय हुन्थ्यो हिजोआज त्यति उल्लासमय हुन छोडेको छ । आजभन्दा २५–३० वर्षअघिको दसैँको रौनक अहिलेको पुस्तालाई कथा जस्तै हुन थालेको छ । दसैँको मुखमा बाकस र गुन्टा बोकेर टेपरेकर्डर घन्काउँदै लाहुरे आउने बाटा अहिले सुनसानजस्ता छन् । रातोसेतो माटाले चिटिक्क पारेर लिपिने गाउँका कतिपय घर उभिन नसकेर विश्राम गरिसकेका छन् भने कति घरले छानामाथि फूलबारी बनाइसकेका छन्।

हिजोआज प्रायः नेपालीहरूको परिवार छिन्नभिन्न भएको छ । एकातर्पm पारिवारिक संरचना सामूहिकबाट एकलतिर गइरहेको छ अर्कातर्पm गाउँमा यातायात, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा नहुने भएकाले नयाँ पुस्ता परिवार छोडेर शहर पसेको छ । कोही रोजगारीका लागि विदेश पसेका छन् । कोही शिक्षादीक्षाका लागि शहर पसेका छन् । कसैका छोराछोरी विदेशमा छन्, कसैका श्रीमान् विदेशमा छन्, कसैका श्रीमती विदेशमा छन् । कतिका वृद्ध बाबुआमा मात्र घर कुरेर बसेका छन् । पहिलेको जस्तो बाजेदेखि नातिपनातिसम्मका तीन चार पुस्ता सँगै बस्ने कुरा त कता हो कता वर्षमा एकदुईपल्ट भेटघाट हुन पनि मुस्किल भइसकेको छ।

हिजो रोजगारीका लागि अधिकांश नेपालीहरू भारतका विभिन्न शहरमा जान्थे तर दसैँमा उता पनि सजिलै छुट्टी मिल्ने भएकाले प्रायः लाहुरेहरू दसैँ मनाउन घर फर्कन्थे । आज वैदेशिक रोजगारीका क्षेत्र व्यापक भइसकेका छन् । अधिकांश नेपाली युवाहरू खाडी मुलुकमा पुगेका छन् भने कोही युरोप अमेरिकाका विभिन्न ठाउँमा पुगेका छन् । उनीहरूलाई दसैँमा घर फर्कने र परिवार सँगै बसेर रमाइलो गर्ने मन हुँदा हुँदै पनि त्यति सजिलो छैन । त्यसैले हिजोआज दसैँमा पनि पारिवारिक जमघट कम भएको पाइन्छ।

विभिन्न कारणले गाउँ छोडेर शहर पसेका र भिन्नभिन्न ठाउँमा बसाइ भएकाहरुले दसैं कसरी मनाउँछन् ? उनीहरुलाई परिवारका सबै सदस्य जम्मा हुन नपाउँदा कस्तो अनुभव हुन्छ यहाँ बुझ्न खोजिएको छ।

झापा घर भएका राम शर्मा फुयाँल (५४वर्ष) काठमाडौँ छेत्रपाटीमा बस्न थालेको २० वर्षभन्दा बढी भयो । पढ्नका लागि काठमाडौँ पसेका उनी अहिले डिजाइन र आर्टको काम गरेर जीविकोपार्जन गर्छन् । अहिले श्रीमती र छोराछोरी सँगै भए पनि आफन्त भने यता छैनन् । त्यसैले दसैँ त्यति उल्लासमय नलाग्ने अनुभव सुनाउँदै उनी भन्छन्, पहिला–पहिला गाउँमा आफन्तहरु हुनुहन्थ्यो, दसैँमा घर पनि गइन्थ्यो । त्यसबेला दसैं रमाइलो लाग्थ्यो । अहिले आफन्तहरु कोही नभएकोले दसैं आउँछ जान्छ खासै रमाइलो लाग्दैन।

बुबा त धेरै पहिला बित्नुभएको हो । आमा हुनुहुन्थ्यो, घरमा गइन्थ्यो । टीका लगाएर रमाइलो गरिन्थ्यो । अहिले आमा पनि बितिसक्नुभयो । अहिले दसैं आउँछ, जान्छ । वास्तवमा दसैं आएजस्तो पनि लाग्दैन । आफू जेठो भएको र आफन्त सबै बितिसक्नुभएकोले टीका लगाइदिने पनि कोही छैन । आफन्तको नाममा एकजना मामा विराटनगरमा बस्नुहुन्छ । मामाको हातको टीका लगाउन गए त हुन्थ्यो त्यति टाढा जान–आउन पनि गाह्रो छ । उता नगएको धेरै भयो।

उमेरले पनि जीवनको उत्तरार्धतिर गइसकेकोले त्यत्ति रहर नभएको उनको भनाइ छ । गाउँ छोडेर शहर पसेकोमा पनि उनलाई त्यति सन्तोष छैन । शहर पसेर उनलाई कता कता हराएजस्तो लागेको छ । उनी भन्छन्, पहिले गाउँलाई त्यति वास्ता गरिएन, शहर पसियो । यो शहरमा वल्लो घर र पल्लो घरको पनि केही मतलब नहुने । गाउँमै बसेको भए आजसम्म कति आफ्ना मान्छे हुन्थे, कतिले चिन्थे । शहरमा आएपछि त्यो नहुने रहेछ।

दसैंमा आफ्नै सानो परिवारमा टीका लगाउने र ससुराल यतै भएकाले अर्को दिन ससुराली जाने गर्छन् उनी । पोहोर सालको दसैंमा मुक्तिनाथ दर्शन गर्न गएका उनी यसपाली परिस्थितिले साथ दिए लुम्बिनी जाने सोचाइमा छन्।

गुल्मी रुपाकोटकी इन्दिरा भण्डारी (७५वर्ष) का श्रीमान् गृहस्थाश्रम छोडेर सन्यासी भएका छन् । उनका दुई छोरा र तीनवटी बुहारी विदेशमा छन् । परिवार यताउता छरिएको भए पनि छोराहरूले प्रगति गरेको देख्दा र आफ्नो ख्याल पनि राम्ररी गरेकाले अरू कुरामा त उनलाई सन्तोष नै छ तर चाडपर्वमा भने उनलाई खल्लो अनुभव हुन्छ । भन्छिन्, दसैंमा श्रीमान्, छोरा–छोरी, बुहारी सबै एकै ठाउँमा जम्मा भई टीका लगाउन पाए कति रमाइलो हुन्थ्यो होला । सबैजना जम्मा हुन नपाएको त कति वर्ष भइसक्यो।

सामाखुसीकी निर्मला भण्डारीका छोरा अस्ट्रेलिया बस्न थालेको ४ वर्ष भइसक्यो । दसैँमा छोरालाई टीका लगाइदिन नपाउँदा उनलाई ज्यादै नरमाइलो लाग्छ । उनी भन्छिन्, यसपाली पनि दसैंमा छोरो आउँदैन । अस्ति भर्खर जेठमा आएर गएको हो, कसरी आउनु त्यति टाढाबाट यति चाँडै । के गर्ने ? नेपालमा भनेजस्तो जागिर पाइन्न । हाम्रो छोराको मात्र होइन, हामी नेपालीको यस्तै बाध्यता छ।

छोरालाई टीका लगाइदिन नपाए पनि बुबाआमाका हातको टीका लगाएर यसपालीको दसैँ मनाउने उनको योजना छ । उनी भन्छिन्, बुबाआमा बुटवल हुनुहुन्छ । यहीँ आएर दसैं मनाउने कुरा छ । बुबाआमा आउनुभएन भने हामी नै बुटवल जान्छाैं र उतै टीका लगाउँछौँ।

गुल्मी वामीका हरिप्रसाद खराल (५५ वर्ष) को पनि परिवार सँगै छैन । श्रीमान्–श्रीमती र दुई छोरा भएको उनको परिवार तीनतिर छरिएको छ । अरू कुरामा खुसी भए पनि यो परिवार चाडपर्व मनाउने कुरामा त्यति उत्साही छैन । खराल भन्छन्, ‘बुबाआमा हुँदा त दसैं धेरै रमाइलो हुन्थ्यो । अहिले छोराहरू पनि यहाँ छैनन् । ठीकठीकैको हुन्छ दसैं । जेठो छोरो अमेरिकामा बस्न थालेको १० वर्ष भइसक्यो । सानो छोरो पनि अहिले लन्डनमा छ । ऊ चाहिँ दसैंमा आउँछु भनेको छ । हेरौँ कस्तो हुन्छ । दसैंमा छोराहरू बाहिर हुँदा मानसिकरूपमा उत्साहित भइँदैन । तर देशको परिस्थिति बुझेका हुनाले खराल भन्छन्, ‘अहिले देशको ट्र्याक ठीक छैन, यदि देशको ट्र्याक ठीक ठाउँमा आयोे भने त नेपालमै बस्ने चाहना छ छोराहरुको । कमसेकम छोराहरू बाहिर छन् र त उनीहरू आफू पनि पालिएका छन्, हामीलाई पनि केही सहयोग गरेका छन् । नेपालमा बसेको भए त त्यो पनि हुने थिएन।’

खरालकी श्रीमती विजयाले पनि सम्झेर मात्रै बस्नुपर्ने भएकाले दसैँ खासै रमाइलो नहुने बताइन् । घरमा दाइभाउजू, भाइबुहारीहरु र मामा घरमा मामा भएकाले यसपालीको दसैँमा मिलेसम्म गाउँ जाँदै छन् उनी । हाल बालाजु घर भएका वासुदेव खनाल (४८वर्ष) को मूल घर अर्घाखाँची जुकेना हो । आफू प्राध्यापक र श्रीमती स्वास्थ्य सेवाकी कर्मचारी भएका उनका पनि छोरा–छोरी सँगै छैनन् । छोरा अमेरिका र छोरी फिनल्यान्डमा छन् उनका । लामो समयदेखि छोराछोरी बाहिरै भएकाले उनलाई भने बानी परिसकेको छ । भन्छन्, आधुनिक युगमा प्रविधिले गर्दा धेरै सजिलो भएको छ । गत वर्षको दसैँमा छोराछोरीलाई स्काइपमा बोलायौँ र त्यसैबाट टीका आशीर्वाद दियौँ ।’ यसपाली पनि त्यसै गर्ने योजना छ उनको । घरमा दाइभाउजू भएकाले सकेसम्म जाने योजना पनि बनाएका छन्।

भक्तपुर मूल घर भएका गजेन्द्र भुजु (६४ वर्ष) औषधि व्यवस्था विभागमा फार्मेसिष्टको पदमा काम गरेर रिटायर्ड जीवन बिताइरहेका छन् । नेवार समुदायमा पनि दसैँ मनाइन्छ तर अरू जातको भन्दा अलि फरक तरिकाले । परिवारका सदस्य जम्मा हुने, टीका लगाउने, मिठा परिकार खाने गर्छन् । तर चाडपर्वमा परिवार सँगै नहुँदा उनलाई पनि खल्लो अनुभव हुन्छ । उनी भन्छन्, ‘सबै परिवार एकै ठाउँ नहुँदा नरमाइलो त अवश्य लाग्छ तर त्यस्तो नरमाइलोलाई सामान्य रुपमा लिन्छौं । हाम्रो नेवारी समुदायमा दसैंमा घरमा टीका लगाउने अनि घरमै खाने बस्ने गर्छाैं, बाहिर टीका लगाउन हिँड्ने हाम्रो चलन नै छैन । घरमा टीका लगायो, खानेकुरा खायो, बस्यो, कहीँ जाँदैनौं । ससुराली पनि बोलाए भने दसैंको दुई तीन दिन पछि मात्र जाने हो, नबोलाए गइँदैन । हामीलाई अरु समुदायमा जस्तो दसैं बढी उल्लासमय लाग्दैन ठीकठीकै मात्र लाग्छ।’

प्युठानका खुमराज आचार्य (५२ वर्ष) गाउँमै खेतीकिसानी गर्छन् । उनका तीन छोरा र एक छोरीमध्ये दुई छोरा कुबेतमा छन् । छोराहरू बाहिर जानेआउने भइरहे पनि दसैँमा छोराहरू नहुँदा उति रमाइलो लाग्दैन उनलाई । उनी भन्छन्, ‘पोहोर सालको दसैंमा छोराहरु यहीँ थिए । हामी दाजुभाइका सबै गर्दा ३०–३५ जनाले एकै ठाउँ बसेर टीका लगाएको हो । साह्रै रमाइलो भएथ्यो । अहिले छोराहरु दसैंमा नआउने भएपछि यहाँ भएकालाई टीका लगाइदिने हो । म जेठो छोरो । बुबा हुनुहुन्छ । उहाँसँग टीका थाप्ने खाना खाने त्यत्ति हो । भित्रैबाट खुसी र उल्लासपूर्ण दसैं त हुन्न नभए पनि यत्तिकैमा चित्त बुझाउनुपर्छ । छोराहरुलाई नेपालमै स्थापित गर्न धेरै कोसिस गरेको हुँ, तर राम्रो कमाइ गर्न नसकेपछि बाध्य भएर विदेश पठाएँ । यस्तै हो, चाडपर्व त जो घरमा छ उसैले मनाउने त हो।’

सबैभन्दा बढी बेरोजगारीको समस्याले पिरोलेको छ नेपालीहरूलाई । परिवार सँगै बसौँ कमाइ गर्ने बाटो छैन । कमाइ गर्न जाऔँ परिवारसँगको बसाइ छैन । यसले गर्दा वर्षमा एकपल्ट आउने चाडबाड पनि खुसीसँग मनाउन पाएका छैनन् नेपालीहरू । हर्षोल्लासका साथ चाडबाड मनाउँदा वर्षभरिका पिरव्यथा भुलिन्थ्यो, जिन्दगी तनावमुक्त हुन्थ्यो । यसले ऊर्जा दिएर सृजनशीलता पनि बढाउँथ्यो । अब त नयाँ पुस्ताले सामाजिक मूल्य–मान्यता र रीतिरिवाज पनि भुल्ने हो कि भन्ने चिन्ता सबैतिर छ । नेपालका सबै क्षेत्रको समान विकास गरेर गाउँलाई पनि विकासको मूल धारमा लैजान सके गाउँगाउँमै रोजगारीका अवसर सृजना हुन्थे । यतातिर सरोकारवालाको ध्यान जानु जरुरी छ।








यसमा तपाईको मत

अन्य समाचार

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

Ncell Footer Ad