coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘हाम्रो फेसन हेरेर कलाकारले केही सिकून् भन्ने लाग्छ’

रेनशा बान्तवा राई मूलतः कोरियोग्राफर हुन् । १० वर्षअघि ‘मेरो एउटा साथी छ’ फिल्मबाट उनले कोरियोग्राफी सुरु गरेकी हुन् । पहिलो फिल्मबाटै उनले उत्कृष्ट कोरियोग्राफरको नेसनल अवार्ड समेत पाइन् । दर्शकले निकै रुचाएका ‘प्रेम गीत’, ‘ए मेरो हजुर–२’ आदि फिल्मका गीतमा पनि उनकै कोरियोग्राफी छ । उनको पहिलो निर्देशकीय फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ असोज ५ बाट रिलिज हुँदैछ । प्रायः सार्वजनिक कार्यक्रममा पुग्दा मिडियाका क्यामेरा रेनशातिर सोझिएकै हुन्छन् । कारण, उनको फरक र आकर्षक लुक्स । हिरोइनलाई नै टक्कर दिने पहिरन लगाएर उनी कार्यक्रममा आएकी हुन्छिन् । रेनशासँग ‘नागरिक परिवार’का अनिल यादवले गरेको फेसन टकः

तपाईंका लागि फेसन के हो ?
ठ्याक्कै यही भन्ने छैन । आफूलाई जे लगाउँदा सहज लाग्छ, त्यही नै फेसन हो । फेसन भन्नेबित्तिकै कम्फर्ट र कन्फिडेन्सको कुरा आउँछ । कसैले पनि कसैलाई तैँले यो ला’को फेसनेबल हो, यो होइन भनेर टिप्पणी गर्न मिल्दैन।

आफूसँग कत्तिको फेसन सेन्स छ भन्ने लाग्छ ?
१० मा ९.५ त छ होला (हाँस्दै) । यति नभई त हुँदै हुन्न । मेरो कोरियोग्राफीको सबैभन्दा प्लसपोइन्ट नै यही हो । प्रायः लभ सङमा कोरियोग्राफी गरिरहेकी हुन्छु । त्यहाँ डान्स त्यति हुँदैन । त्यस्तो ठाउँमा कलाकारको फेसनमा खुब ध्यान दिनुपर्छ।

बजारको फेसन ट्रेन्ड कत्तिको फलो गर्नुहुन्छ ?
‘इन्टु मिन्टु लन्डनमा’मा लागेपछि अलि कम फलो भइरहेको छ । नत्र फेसन फलो नगर्ने केटी मान्छे कमै हुन्छन् ।
अहिले कस्तो ट्रेन्ड चलिरहेको छ त ? पुरानो सिक्स्टिजकै फेसन फेरि चलिरा’को छ । माथि ब्लाउज टप्स र मुनि प्यारालल पाइन्ट्स लगाउने चलन बढी देखिन्छ।

फेसन भनेको पहिरन मात्रै हो र ?
होइन । यो त आइडिया हो क्या ! मार्केटमा जे चलेको छ त्यही लाउने भन्ने हुन्न । आफैँले जन्माउन पनि सकिन्छ फेसन।

तपाईंलाई कुन सिजनमा फेसनेबल हुन सहज हुन्छ ?
मलाई त समर र विन्टर दुवै मनपर्छ।

परिवारमा सबैभन्दा फेसनेबल को छ ?
म नै हो।

सबैभन्दा फेसनेबल लाग्ने सहर ?
विदेशमा पेरिस र लन्डन नै हो । नेपालमा, धरान। 

किन केही मान्छेहरु फेसनलाई इग्नोर गर्छन् ?
यो आ–आफ्नो रुचिको कुरा हो । कसैले नसकेर इग्नोर गर्छन्, कसैले रुचि नभएर त कसैले आफूलाई नसुहाएर।

तपाईंलाई कस्तो पहिरन लाउन मनपर्छ ?
सबै खाले पहिरन लाउँछु । बरु पाइन्ट, त्यति लाउँदिनँ।

सार्वजनिक कार्यक्रममा पुग्दा तपाई त हिरोइनलाई पनि माथ खुवाउने गरी ड्रेसअप गर्नुहुन्छ, है ?
त्यति त हुनैपर्छ नि ! हामी कोरियोग्राफर भनेको एक्टर–एक्ट्रेसलाई राम्रो बनाउने मान्छे हो । त्यसैले हामी आफैँ पनि राम्रो भएर हिँड्नुपर्छ । त्यो हाम्रो पार्ट अफ जब नै हो । कलाकारलाई कति अन द क्यामेरामात्र सिकाउनु, कहिलेकाहीँ हामीलाई हेरेर अफ द क्यामेरा पनि केही सिकोस् न भन्ने लागेर हो।

कुनै इभेन्टमा ड्रेस कोर्ड राखिएको छ भने त्यसलाई फलो गर्नुपर्छ भन्ने लाग्छ ?
मलाई ड्रेस कोर्ड राखेको एकदम मनपर्छ । म आफैँ पनि कार्यक्रम राख्दा ड्रेस कोर्ड राख्न रुचाउँछु तर विविध कारणले सम्भव हुँदैन।

डिस्को जाँदा के लाउन मनपर्छ ?
ड्रेस नै हो । अरु त जे पनि लाएको हुन्छु तर हाफ पाइन्ट कहिल्यै लाउँदिनँ । कम्फर्ट फिल हुँदैन। 

कुन रङको पहिरन बढी लाउनुहुन्छ ?
मेरो फेबरेट कलर भन्ने छैन । त्यसैले त म कलरफूल ड्रेस लाइरा’ हुन्छ।

तपाईंको मनपर्ने डिजाइनर को हो ?
डिजाइनरसँग तीनटा खुबी हुनुपर्छ, फिनिसिङ, फेब्रिक र फास्ट । मलाई युबी थापा र स्वर्णिम राई मन पर्छन् । कारण, उनीहरुसँग त्यो खुबी छ।

तपाईंले किनेको अहिलेसम्मकै महँगो सामान ?
युज गरेको कुरा गर्ने हो भन्ने ४८ हजारको गाउन हो । आफैँले किनेर युज गरेको १८ हजारको जुत्ता थियो।

कस्तो पहिरन लाउन अप्ठेरो लाग्छ ?
लेदर पाइन्ट, जिन्स, हाइनेक त्यति लाउँदिनँ। 

हेयर स्टाइलमा कतिको सौखिन हुनुहुन्छ ?
अरुबेला त नर्मल नै हो । पार्टीतिर जाँदा अलिकति कर्ली गर्छु।

पैसा खर्च नगरी फेसन सम्भव छ ?
छैन । पैसा खर्च नगरी त कसरी फेसनेबल हुने ? केही आइडिया छ भने मलाई पनि भन्नुस् है (हाँस्दै)।

नेपालीहरु कत्तिको फेसनबेल छन् भन्ने लाग्छ ?
नेपालीहरु धेरै फेसनबेल छन् । बरु बलिउडका कलाकार त्यति धेरै छैनन्, जति नेपाली छन् । उनीहरुसँग हरपल ड्रेसदेखि हेयर डिजाइनरसम्म साथमा हुन्छन् तर यहाँका कलाकारसँग त्यो सुविधा हुन्न । तैपनि राम्रो फेसन गरिरहेका हुन्छन् । आम मान्छेकै कुरा गर्ने हो भने पनि बाहिरबाट आउने पर्यटकहरुलाई बुझ्दा हुन्छ । उनीहरु नेपालीहरुलाई एकदमै घुरेर हेर्छन् । कारण, फेसन पनि हो जस्तो लाग्छ।

प्रकाशित: १ कार्तिक २०७५ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App