७ वैशाख २०८१ शुक्रबार
समाज

मेला लगाउने कार्यपालिका निर्णय विवादमा, विभिन्न दल र संगठनद्वारा विरोध

मेलाको विरोधमा बुधबार धरानमा निकालिएको र्याली ।    तस्बिर : रोहित/नारिक

धरान – सबैतिर वडादसैंको रौनक छाइरहँदा बुधबार धरानमा भने आन्दोलन चल्यो। दसैं तिहारको अवसरमा रमाइलो मेलाको नाममा जुवा र मदिराजन्य मेला लगाउने स्वीकृति दिएको भन्दै विभिन्न साना दलहरु आन्दोलनमा उत्रिएका हुन्।

एक साताअघि बिहीबार नगर कार्यपालिका बैठकले एक्कासी मेला लगाउने निर्णय गरेसँगै चर्को विरोध र आलोचना भइरहेको छ। विगतमा युवा समुहहरूबीचमा मेलाको आम्दानीलाई लिएर झगडा र मनमुटाव बढेको भन्दै ३ वर्षदेखि मेला लगाउन बन्द गरिएको थियो। यो वर्ष भने कार्यपालिका बैठकले धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा छिमेकी युवा समुहलाई मेला लगाउन स्वीकृति दिएपछि विवाद बढेको हो।

कार्यपालिका निर्णयप्रति प्रमुख दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर नीतिगत भ्रष्टचार गरेको आरोप लगाइसकेको छ भने संघीय समाजवादी फोरम, संघीय लिम्बुवान मञ्च, जनमुक्ति पार्टी, वाइसीएल, मंगोल नेशनल अर्गनाइजेशनलगायत दलहरू पनि मेलाको विरोधमा छन्। अर्ध भुमिगत विप्लव नेतृत्वको नेकपा पनि मेलाको विरोधमा छ। नगर कार्यपालिकाले स्वीकृत दिएपनि जिल्ला सुरक्षा समिति एवं जिल्ला प्रशासन कार्यालयले आजको मितिसम्म मेला सञ्चालनको स्वीकृति दिएको छैन भने प्रहरीलाई पनि सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएको छैन।

सुरक्षा निकायसँग समन्वय नगरी मेलाको स्वीकृति दिएकोमा प्रहरी पनि सन्तुष्ट छैन। दसैं तिहार जस्तो समयमा मेलाले सुरक्षा चुनौती थपिने भन्दै प्रहरी पनि मेलाको पक्षमा छैन। मेला लगाउने र नलगाउने युवा समुहबीचमा विवाद चर्केर झडप हुने खतरा पनि धरानमा बढेको छ। केही वर्षअघि मेलाकै विषयमा धरानका युवाहरू दुई पक्षमा बाडिएर सडकमा उत्रिएका थिए। मेला लगाउदा मनग्ये कमाई हुने भएकोले यहाँका राजनीतिक दलका नेता, युवाहरू, विभिन्न संघसंस्थाहरू आयोजना गर्न हानाथाप हुने गरेको छ। बुधबार पनि मेलाको विरोधमा धरानमा युवाहरुसहित र्याली निस्केको थियो। मेलाको विरोधमा रहेको कांग्रेसबाहेक अन्य दल र संघसंगठनहरुले विरोध र्याली निकालेको थियो। 

धरान ७ शान्तिपथबाट शुरु भएको र्याली भानुचोक, छाताचोक हुँदै उपमहानगरपालिका पुगेको थियो। विदा भइसकेको हुनाले उपमहानगरपालिकामा कोही पनि कर्मचारी र जनप्रतिनिधिहरु भने थिएनन्। केही समय नाराबाजी गरेर र्याली पुनः भानुचोक फर्केर कोणसभा आयोजना भएको थियो। कोणसभामा बोल्दै विभिन्न दलका नेताहरुले केही व्यक्तिलाई मात्र फाइदा हुने मेला स्वीकृति दिएर नगर कार्यपालिकाले संस्थागत भ्रष्टचार गरेको आरोप लगाए। आन्दोलनको संयोजक सञ्जुहाङ साँवाले सडकको खाल्डाखुल्डी पुर्ने निर्णय नगरी मेला आयोजनाको निर्णय गरेर जनप्रतिनिधिहरु कमाउ धन्दामा लागेको बताए।

संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष ताजुब लिम्बुले धरानको सुरक्षा संवेदनशीलतालाई ध्यान नदिई निश्चित व्यक्तिलाई फाइदा पुग्ने गरेर कार्यपालिकाले मेलाको स्वीकृति दिएको बताए। कोणसभामा किरात खम्बुवान साझा पार्टीका कुमार राई,  मंगोल नेशनल अर्गनाइजेशनका नगर अध्यक्ष लोकबहादुर राई, धरान एकता समाजका कान्छी राईलगायतले पनि चाडपर्वमा सस्तो बजार लगाउनु छोडेर महंगो प्रवेश शुल्कको जुवा र मदिराजन्य मेलाको स्वीकृति दिएकोमा चर्को विरोध जनाए। 

प्रकाशित: ३१ आश्विन २०७५ १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App