६ वैशाख २०८१ बिहीबार
कला

रहरै रहरमा गायक, नारायण गोपालको गीत 'टर्निङ प्वाइन्ट'

काठमाडौं- झापाको धुलावारीमा जन्मिएको एउटा ठिटो, सरोज ओली। जसले ख्याल ख्यालमै गतिलो गायकको छवि बनाइसकेको छ। पछिल्लो समय हिट गीत दिने गायकको लिस्टको अग्रपङ्क्तीमा छन् उनी। 'तिमीलाई देखेपछि आई लभ यु', 'माछीले खाने खोलीको लेउ', 'जता जता पिरतीको बाटो' यी तीनवटा गीत नै गायक ओलीको परिचयको लागि काफी छन्। किनकी यी गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक दर्शकले हेरिसकेका छन्। माछीले खाने खोलीको लेउ र तिमीलाई देखेपछिको त दुई करोड बढी भ्युज छ। 

सरोज सानैदेखि गीत गाउने र नाच्ने गर्थे। पढाईमा भन्दा नृत्यमा उनको बढी ध्यान गयो। फलस्वरुप अल्लारे उमेरमा सपनाको शहर काठमाडौं छिरे। उच्च शिक्षाको लागि भन्दा बढी कलाकारिता र नृत्यमा भविष्य खोज्दैमा उनका संघर्षका दिन बिते। विभिन्न ठाउँमा नृत्य सिके र डान्स सेन्टरमा नृत्य सिकाउने शिक्षक बने। 

यसले मात्र जीवन निर्वाह हुन गाह्रो थियो, त्यसैले उनले अन्तिममा शुभ मिडिया होम नामक मिडिया हाउस स्थापना गरे। विभिन्न सामाजिक गीतको म्युजिक भिडियो, सामाजिक लघुचलचित्र, वृत्तचित्र निर्माणको काम थाले। उनले डेढ सयभन्दा बढी म्युजिक भिडियो र दर्जनौं लघुचलचित्रको निर्देशन गरेका छन्। पछिल्लो समय सिंहदरबार २ पनि शुभ मिडिया होममार्फत नै निर्माण भइरहेको छ। 

नृत्यमा पोख्त सरोज ओली म्युजिक भिडियो बनाउँथे। त्यो भन्दा अघि गीत रेर्कडिङका लागि संगीतकार, गायक गायिकासँगको भेट अपरिहार्य थियो। यस्ता भेटले संगीतसँग उनको नाता अझै नजिकियो। संगीतकार बसन्त सापकोटासँग उनको पारिवारिक सम्बन्ध गाँसियो। सोही सम्बन्धका कारण सरोज ओलीले गाएका अधिकाँश गीतमा बसन्त सापकोटाकै संगीत हुने गर्दछ।

सानोमा छँदै बुवाले किनेर ल्याएको रेडियोमा नारायण गोपालको यो सम्झिने मन बोलको गीत बजेको थियो। त्यो गीत अहिलेसम्म पनि गायक ओलीको हृदय बसिरहेको छ। गीतको सुमधुर स्वरले उनलाई पनि गायक बन्ने अभिरुची सानैदेखि पलाएको थियो। तर, उनले नृत्यलाई बढी महत्व दिए। गीत गाउनका लागि कुनै पनि औपचारिक कक्षा लिएनन्। यद्यपी, संगीतकारको गतिलो साथका कारण उनलाई सजिलो पर्नेगरी नै गीत बनाइयो। लामो अभ्यासपछि मात्र गीत रेकर्ड गराइयो। फलस्वरुप दर्शकहरुबाट गीत रुचाइयो। 

तिमीलाई देखेपछिको सफलताले उनलाई गायकको परिचय दियो। केही चर्चित अवार्डको मनोनयमा पर्यो। कालिका अवार्डबाट विभिन्न विधामा पुरस्कार पनि दिलायो। यो परिचय र सफलताले उनलाई गीत गाउन अझै हौस्यायो। अझै मेहनत गर्न प्रेरित गर्यो। गीतलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनन्। त्यही मेहनतका कारण अहिले उनका अधिकाँश गीत सफल भइरहेका छन्। उनी भन्छन्, ‘मेरो स्वरले मात्र गीत चलेका होइनन्। गीतलाई उत्कृष्ट बनाउन गीतकार, संगीतकार, एरेन्जर, बाध्यवाधक, निर्देशक, डान्स क्रिउ, छायाकार, कोरसलगायत सबैसँगको गतिलो संयोजन नै गीत सफल हुनुको कारण हो।’

गायन उनको रहर हो। यो रहरलाई पुरा गर्न संगीत क्षेत्रका दिग्गजहरुको साथ मिलेको छ। दर्शकको माया र साथले सन्तुष्टि दिएको छ। युट्युबले गीतलाई उत्कृष्ट बनाउन गरेको खर्च परिपूर्ति गरिदिएको छ। ‘यस्तै माया पाए र साथ पाए, अझै उत्कृष्ट गीतहरु पस्किरहनेछु,’ उनी भन्छन्। 

प्रकाशित: ३१ आश्विन २०७५ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App