८ वैशाख २०८१ शनिबार
राजनीति

ओली र दाहालको प्रशंसा गर्दै नेपालले भने, ‘कांग्रेस र मधेसवादी दल विकास विरोधी’

रौतहट – नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस र मधेसवादी दललाई उस्तै उस्तै दलको संज्ञा दिएका छन्। गृह जिल्ला रौतहटको कटहरियामा आयोजित दसैं, दीपावली तथा छठको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालले कांग्रेस, फोरम तथा राजपाले विरोध गर्नुबाहेक अरु केही गर्न नजानेको बताउँदै विकास विरोधी रहेको आरोप लगाए।

कांग्रेसले देशमा विकासको लागि नयाँ केही नगरेको र गर्न पनि नचाहेको बताउँदै नेता नेपालले नेपाली कांग्रेस असफल भइसकेको बताए। स्थानीय बज्जिका भाषामा मन्तव्य व्यक्त गर्दै नेता नेपालले प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डको प्रशंसा गरेका छन्। प्रधानमन्त्री ओलीले २९ सालको साथी रहेको प्रसंग दोहोर्याएको कुरालाई पुष्टि गर्दै नेता नेपालले आफूले २०२९ सालमा ओलीलाई गौरस्थित आफ्नो घरमा राखेको र रौतहटकै इनरबारीमा लामो समय भूमिगत रहेको स्पष्ट पारेका छन्।

केही नेताहरूले आफूहरूमा असमझदारी रहेको बताएर जनतामा भ्रम छर्न खोजेको भन्दै नेपालले देश विकासको लागि आफूहरू तीनैजना चिन्तित रहेको स्पष्ट पारे। सरकार पाँच वर्षसम्मको लागि स्थिर रहेको स्पष्ट पार्दै नेता नेपालले केही कर्मचारीले विकास रकमको बिलमात्र बनाएर हजम बनाउने काम गरेको भन्दै आपत्ति जनाए। धुर्मुस सुन्तलीले थोरै रकमले धेरै र राम्रो काम गर्न सक्ने तर कर्मचारीले भने गर्न नसक्ने अवस्था देखिएकोले कर्मचारीहरू खल्ती भर्न उद्यत रहेको आरोप लगाए।

देशमा दुई तिहाई बहुमतको कम्युनिष्ट पार्टीको सरकार रहेको बताउँदै नेता नेपालले अब देश अगाडि बढ्ने बाटोमा हिँडिसकेकाले नेकपा नै देश र जनताको समस्या समाधान गर्ने पार्टीको रुपमा रहेको बताए। स्थानीय सरकारमा पनि भ्रष्टाचार बढेको गुनासो सुन्न थालेको सन्दर्भमा नेता नेपालले स्थानीय सरकारसीत विकास निर्माणको सबै खर्च पारदर्शी बनाउँदै सीप विकास, साक्षरता, उद्यमशीलता तथा ठोस भौतिक पूर्वाधारमा लगानी गर्न विशेष जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका सांसद प्रभु साहले देशको सबैभन्दा कम साक्षरता भएको जिल्ला रौतहटलाई साक्षर बनाउन र मानव विकासको सूचकांकमा अगाडि ल्याउन सबैले परिश्रम गर्नुपर्ने बताएका छन्। विकासको काममा जनताले सहयोग गर्ने हो भने असम्भव केही पनि नहुने उनले बताए।

विना बजेट आफूले जनताको सहयोगमा ३० किलोमिटर सडक खोल्न सफल भएको स्मरण गर्दै गाउँको विकास हुन थालेपछि गाउँलाई छाडेर भाग्नेहरू फर्केर आउने साहले बताए। गाउँको विकासले नै देशको विकास हुने भएकोले हरेक गाउँमा विकासको जागृति ल्याउन आफू लागिपरेको स्पष्ट पारेका छन्। हरेक नागरिककको आवश्यकतालाई ध्यानमा राखेर आफूले विकासको पथमा आफ्नो क्षेत्रलाई डोर्याएको बताएका छन्।

कार्यक्रममा संघीय सांसद समिना हुसेन, सरला यादव, प्रदेश सांसद कुन्दन कुशवाहा, नागेन्द्र यादव, हसिमा खातुनले पनि नेकपाको सरकारले जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्दै देशलाई विकासको पथमा डोर्याउने काम गरिरहेको बताए थिए।

प्रकाशित: ३१ आश्विन २०७५ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App