८ वैशाख २०८१ शनिबार
कला

क्रिकेट एकेडेमीका लागि सहयोग जुटाउन झिलझिलेमा सांस्कृतिक महोत्सव

झिलझिले– क्रिकेट एकेडेमी निर्माणका लागि सहयोग जुटाउन झापाको शिवसताक्षीस्थित झिलझिलेमा एक साता लामो सांस्कृतिक महोत्सवसहित सांगीतिक मेला लाग्ने भएको छ।

वडादशै, दीपावली तथा छठ पर्वको अवसर पारेर शिवसताक्षी युथ क्लबले सास इन्टरनेमेन्टको सहकार्यमा यहीँ कात्तिक १३ गतेदेखि २० गतेसम्म सांस्कृतिक महोत्सवसहित मेला सञ्चालन गर्न लागेको हो। झिलझिलेमा क्रिकेट एकेडेमी निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको क्लवले जनाएको छ।

क्लबले झिलझिलेमा पत्रकार सम्मेलन गरि सांगीतिक मेलाको तयारीका बारे जानकारी दिएको हो। मिनी मेलाका कार्यक्रम संयोजक सुरज रिङालुङ राईका अनुसार शिवसताक्षीका पर्यटकीय स्थलको प्रचार प्रसारसहित क्रिकेट एकेडेमी निर्माण गर्न सहयोगार्थ मिनी मेलाको तयारी तीव्र पारिएको छ। स्थानीय गणेशमान सिंह अध्ययन प्रतिष्ठानको प्राङगणमा सञ्चालन हुने सो मिनी मेलालाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी धमाधम भइरहेको संयोजक रिङालुङले जानकारी दिए। उनले मेलाको करिव १७ लाख ५० हजार रुपैयाँको अनुमानित आयव्यय समेत सार्वजनिक गरेका थिए।

सोही अवसरमा विगत ९ वर्ष नियमीत रुपमा आयोजना गरिदै आएको म्यूजिक लाइभ नाइट कन्सर्ट समेत यसवर्ष सातैंदिन सञ्चालन हुने व्यवस्था गरिएको संयोजक रिङालुङले बताए।

पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष ऋतिज रिजालले युवाहरुलाई दुव्यर्सनबाट सचेत गराउन मेलाले सघाउ पुग्ने बताएका थिए। उनले मेलाको सम्पूर्ण तयारीका बारेमा जानकारी गराएका थिए। त्यस्तै, कार्यक्रमका सल्लाहकार संयोजक पर्वत थुलुङ राई,भद्र दुमी राई , इभेन्ट प्रमोटर सूर्य अधिकारी लगायतले सांगीतिक महोत्सवका बारेमा बोलेका थिए।

मेलामा दैनिक शिवसताक्षीका पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी गरिने छन् भने एक दर्जन बढी विभिन्न व्यापारिक स्टलहरु रहने व्यवस्था गरिएको बताइएको छ। मेला व्यवस्थित गर्न एक दर्जन बढी विभिन्न उपसमितिहरु गठन गरिएको क्लवका सचिव सागर कडरियाले जानकारी दिए।

प्रकाशित: ३१ आश्विन २०७५ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App