८ वैशाख २०८१ शनिबार
विचार

निन्दनीय निसाना

मंगलबार राजधानी उपत्यकाका करिब एक दर्जन विद्यालयमा गराइएको शंृखलाबद्ध बम विस्फोटलाई कुनै पनि राजनीतिक आवरणमा छोप्न सकिन्न। निःसन्देह यो आतंककारी काम हो। कलिला मस्तिष्कमा आफ्नो उज्ज्वल भविष्य खोजिरहेका स्कुले विद्यार्थीलाई त्रसित पार्नुलाई आततायी कामबाहेक अर्को नाम दिन सकिँदैन। यस्ता कार्यको जतिसुकै भर्त्सना पनि कम हुन्छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले बम आतंक फैलाउने 'माओवादी कम्युनिस्ट केन्द्र'सँग आवद्ध विभिन्न संगठन रहेको देखिएको छ। यही संगठनले गत साउनको पहिलो साता विद्यायमा तोडफोडका साथै विद्यार्थी बोक्ने बसमा आगजनी समेत गरेका थियो। सोही संगठनमा आबद्ध शंकर लाखे तथा चन्द्रबहादुर तामाङलाई प्रहरीले मंगलबारको बम विस्फोटको आशंकामा पक्राउ पनि गरेको छ। विस्फोटस्थलमा फेला परेका पर्चा, नारा तथा शंकास्पद वस्तुले पनि सोही संगठनको संलग्नता देखाउँछ। संगठनमा विगतमा माओवादी सशस्त्र द्वन्द्वमा सक्रिय रहेका र विविध कारणले अहिले उक्त दलमा नरहेका व्यक्ति संलग्न छन्। तिनले पछिल्लो समय निजी विद्यालयको शुल्क, डे्रस, पाठ्यक्रमलगायतका विषयमा तीव्र विमति राख्दै आएका छन्। गरिब तथा विपन्न वर्गका जनताका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्ने माग पनि तिनले उठाएको सतहमा देखिएको छ।

विद्यालयमा बम विस्फोट गराउने व्यक्ति जुनसुकै समूहका हुन्, तिनलाई जोसुकैले आफ्नो दल वा संगठनमा आबद्ध भएको वा नभएको बताउन् त्यसको कुनै अर्थ छैन। तिनले आवरणमा शिक्षा सर्वसुलभ वा समानस्तर र गरिबका निम्ति समेत हुनुपर्ने माग राखेको देखिए पनि तिनको प्रमुख उद्देश्य विद्यालयबाट चन्दा असुल्नु र समाजमा आतंक फैलाउनु रहेको स्पष्ट छ। सर्वसुलभ तथा समानस्तरको शिक्षाको वकालत गर्ने समूहले साना बच्चालाई आतंकित पार्नेगरी कदापि विद्यालय हातामा बम विस्फोट गराउँदैन। यसकारण पनि शिक्षासँग जोडिएको तिनको माग देखावटीमात्र हो। मंगलबारको घटनाले एक पटक पुनः दस वर्ष लामो माओवादी द्वन्द्वका समयमा 'बुर्जवा शिक्षा' बहिष्कारको नारा दिँदै विद्यालयमा आक्रमण गर्ने, भवन भत्काइदिने, शिक्षक–शिक्षिकालाई कारबाही गर्ने, विद्यार्थीलाई जबर्जस्ती हतियार बोक्न लगाउनेजस्ता गतिविधिको स्मरण गराएको छ। आज सोही संठनमा आबद्ध व्यक्ति (पहिला)कै संलग्नतामा विद्यालयमा बम विस्फोट हुन पुगेको छ। यसले पटक पटक नाम परिवर्तन गर्दै हाल नेकपा माओवादी केन्द्र बनेर सत्तासयर गरेको माओवादी दलले आफ्ना पूर्व लडाकुबारे पुनर्विचार गर्नुपर्ने अवस्था सृजना हुन पुगेको छ। मिलिजुली बनेको अहिलेको सरकारको नेतृत्व सोही दलले गरेको मात्र होइन शिक्षा मन्त्रालय पनि माओवादीकै भागमा परेको छ। देशको समग्र शिक्षा नीति, निजी विद्यालय सञ्चालन निर्देशिका, शिक्षामा समान पहुँच तथा सरकारी विद्यालयको स्तरजस्ता विषयमा सरकार संवेदनशील हुनुपर्छ। यही सिलसिलामा सरकारले संविधानमै उल्लेख भएको विद्यालय शान्ति क्षेत्रको नारालाई व्यवहारमा उतार्न पनि कुनै कसर बाँकी राख्नु हुँदैन। यसका निम्ति सर्वप्रथम कलिला विद्यार्थीले निर्धक्क पढ्न पाउने र अभिभावकले बिनात्रास आफ्ना बालबच्चालाई स्कुल पठाउने वातावरण बन्नुपर्छ। विद्यालयमा जबर्जस्ती चन्दा असुल्ने, नदिएमा आतंक फैलाउने तत्वलाई खोजीखोजी कडा कारबाही गर्न सक्नुपर्छ।

मंगलबार उपत्यकाका विभिन्न विद्यालयमा भएका बम विस्फोट कायरतापूर्ण आक्रमण हो। निर्दोष बालबालिकाका मस्तिष्कमा त्रासदीको बिजारोपण गरिनु कुनै पनि अर्थमा मानवोचित कार्य होइन। यस्ता कार्यलाई हतियार बनाएर सत्तारोहणको सपना देख्ने वा लोकप्रियताको भर्‍याङ चढ्ने कल्पना गर्ने तथा चन्दा असुली गर्ने दल अथवा समूहको भविष्य अवश्य नै अन्धकारपूर्ण छ। तिनले जनताको मन कुनै पनि हालत जित्न सक्ने छैनन्। ती सर्वत्र घृणा र तिरष्कारका पात्र हुने छन्। अब समाजमा बम–बारुद–बन्दुकको त्रास फैलाएर लोकप्रियता हासिल गर्ने जमाना छैन। त्यो क्षणिकरूपमा त्रास फैलाएर डरजन्य प्रभाव उत्पन्न गर्ने अस्त्रमात्र हो। संसार असल तथा प्रभावकारी विचारले मात्र चल्न सक्छ, मान्छेको मन विचारबाट जित्न सक्दा नै दिगो हुन्छ। नेपालजस्तो अविकसित, कमजोर चेतना, गरिबीको रेखामुनि बाँच्न विवश नागरिकको बाहुल्य भएको मुलुकमा शिक्षालयमाथि आक्रमण गर्नु देशलाई अझै लामो समय अन्धकार र अविकसित पार्ने कुत्सित मनशायमात्र हो। यस्ता मनशाय राख्ने व्यक्ति हुन् वा दल–समूह तिनको अन्त्य अवश्यम्भावी छ। विद्यालयमा आक्रमण गरी कलिला बालबालिकाको मस्तिष्कमा त्रासको छायाँ पार्न खोज्ने तत्वलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाहीको भागिदार बनाउने जिम्मा सरकारको हो।         

प्रकाशित: ६ आश्विन २०७३ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App