७ वैशाख २०८१ शुक्रबार
प्रवास

बाघको संख्या दोब्बर वृद्धि भएकोमा बेलायतद्धारा नेपालकाे प्रशंसा

लण्डन- बेलायत सरकारको आयोजनामा लण्डनमा बन्यजन्तुको अवैध व्यापार निराकरण सम्बन्धी द्धिदिवसीय सम्मेलन सम्पन्न भएको छ। 

सम्मेलनले अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधको रुपमा लिई यसको नियन्त्रणको लागि सरकार र सबै सरोकारवाला निकायहरुबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्य निर्दिष्ट २० वुदेँ विश्व घोषणापत्र जारी गरेको नेपाली दूतावास लण्डनले जनाएको छ। 

गत विहीवार देखी शुरु भएको दुई दिने सो सम्मेलनमा  नेपाली उच्चस्तरिय प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले  वन्यजन्तुको अवैध व्यापारलाई निरुत्साहन र नियन्त्रण गर्न नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए।

उनले विगत ९ वर्षको अवधिमा नेपालमा बाघको संख्या दोव्वर नजिक भएको उल्लेख गर्दै नेपालको कुल भूभागको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्र रहेको र वन्यजन्तुको शिकारमा पूर्ण प्रतिवन्ध लगाईएको जानकारी सम्मेलनमा दिए। 

उनले नेपाल सरकारले वन, वातावरण तथा वन्यजन्तुको संरक्षणमा समुदायको सहभागितामा जोड दिन नीति अवलम्बन गरेको वताउँदै  वन्यजन्तुको संख्या वृद्धि र सुरक्षामा नेपाल सरकार प्रतिवद्ध रहेको  जनाए।

सम्मेलन उद्घाटन सत्रमा  वोल्दै वेलायती विदेश मन्त्री जेरेमी हन्टले नेपालमा सन् २००९ देखि हालसम्मको स्थितिमा बाघको संख्या दोव्वर वृद्धि भएको र विगत चारवर्षदेखि गैँडा र वाघको शिकार शुन्य रहेकोले यस्तो उदाहरणीय कार्यको अन्य देशहरुले पनि अनुशरण गर्नुपर्ने विचार व्यक्त  गरे। 

सोही अवसरमा मन्त्री बस्नेतसंग वेलायती सांसद जोन मान र श्रीलंकाको प्रतिनिधि मण्डलका नेता  सन्डिथ समरसिङ्गेले शिष्टाचार भेट गरे।

८० देशका सरकारी र निजी क्षेत्रका प्रतिनिधिमण्डलले भाग लिएको यस विश्व सम्मेलनमा  बस्नेतको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, नेसनल पार्क र वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मान बहादुर खड्का, राजदूतावासका काउन्सेलर शरदराज आरण र चितवन नेशनल पार्कका उपसचिव वेद कुमार ढकाल  सहभागी थिए। 

प्रकाशित: ३० आश्विन २०७५ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App