७ वैशाख २०८१ शुक्रबार
समाज

गोरखाको उपहार जाजरकोट दरबारमा भित्रियो

जाजरकोट – गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण अभियानका क्रममा २ सय ५० वर्षअघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको खड्ग अर्थात तरबार जाजरकोट दरबारमा भित्र्याइएको छ। वडादसैंका अवसरमा फूलपाती भित्र्याउने कार्यक्रम अनुसार जाजरकोट राज्यको शक्तिको प्रतीकको रुपमा रहेको उक्त खड्ग सोमबार  रानागाउँस्थित २ सय २२ वर्ष पुरानो कालिका मन्दिरबाट जाजरकोट दरबारमा भित्र्याइएको हो।

स्थानीय सर्वसाधारणहरू, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरूको व्यापक सहभागितामा शंखध्वनी सहित जुलुस गर्दै भेरी नगरपालिका ३ गैरीखालीमा पूजाआजा र सलामी दिए। बिहान ९ बजेर २१ मिनेटमा उक्त खड्गलाई जाजरकोट दरबारतिर हिँडाइएको थियो। विक्रम सम्बत १८२५ माघ ५ गते काँसीको मणीकर्णिका घाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले जाजरकोटी राजा हरिशाहसँग नेपाल एकिकरण अभियान सफल पार्ने उदेश्यले धर्मसन्धी गर्दै उक्त खड्ग जाजरकोटलाइ उपहार स्वरुप दिएका थिए।

दुई राज्यकाबीचमा एक अर्कालाइ सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले  मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग जाजरकोटी राजालाइ दिइएको जाजरकोटको इतिहासका जानकार राजुराजा सिंहले बताए। उनले झन्डै ७ सय वर्षअघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतिपुरमा राखिएको  उक्त खड्ग अर्थात् तरबार १८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दसैंको फूलपातीका दिन विशेष पूजाआजासहित जगतिपुरबाट खलंगा दरबारमा ल्याउने परम्पार सुरु भएको बताए। जगतिपुरमा रहेको राजा र देवताको शक्तिलाई बिस्तारै खलंगास्थित दरबारमा सार्ने उदेश्यले प्रत्येक वर्ष फूलपातीका दिन पूजाआजा सहित उक्त खड्गलाइ खर्के देउताको रुपमा पुज्दै ल्याउन थालिएको सिंहले  बताए।

फूलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइएको उक्त खड्गलाई दसैंको सप्तमी, अस्टमी, महानवमी र विजयादशीमीको दिनसम्म पन्चेवाजाको ध्वनीका साथ बोका, रांगाको बली दिएर भव्य रुपमा पूजाआजा गरी एकादशीका दिन जगतिपुरमै फर्काउने परम्परा रहेपनि मुलुकको १० वर्षे द्धन्दका क्रममा असुरक्षाका कारण १७ वर्षअघिदेखि रानागाउँस्थित कालिका मन्दिरमै राख्ने गरिएको छ। अब शान्ती आइसकेकोले  खड्गलाइ  जगतिपुरको मन्दिरमै राख्नुपर्ने ४९ वर्षदेखि खड्ग पूजा गर्दै आएका पुजारी सत्यप्रसाद शर्माले बताए।

जाजरकोट राज्यको उत्पति र खड्ग सुरुमा राखिएको मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाई जगतिपुरमै राख्नुपर्ने  पुजारी शर्माले बताए। उनले आफ्ना बाजेका बुवा रत्नदास शर्माले उक्त खड्ग जाजरकोट दरबारमा दुई हातले बोकेर ल्याउन सुरु गरेको बताए। जाजरकोटी शाह ठकुरीहरूले मुख्य जिम्मा लिएर मनाइने खर्के देउता पूजा अहिले ओझेल पर्दै गएको छ। बिगतमा खर्के देउताको पूजाका बेला स्थानीयहरूको जाजरकोट दरबारमा ठुलो मेला लाग्ने गरेको भेरी नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष खम्वजंग शाहले बताए। 

जाजरकोटको इतिहास, संस्कृति र परम्पराको  पहिचान झल्काउने खर्के देउता पूजा बिगतमा स्थानीय जनता सरकारी कार्यालयको सक्रियतामा गर्ने गरिएपनि अहिले सबैले बिर्सदै गएको उनले बताए। उनले आफ्नो परम्पार र इतिहासलाइ कुनै पनि हालतमा मर्न दिन नहुने र यसका लागि स्थानीय सरकारको तर्फबाट पहल गराउन आफू लागिपर्ने बताए। जाजरकोटको इतिहासपनि धेरै महत्वपूर्ण रहेपनि खोज अनुसन्धानको अभाबले जानकारीमा आउन नसकेको स्थानीय जेष्ठ नागरिक केशवजंग शााहले बताए।

पछिल्लो पुस्ताले  बेवास्ता गरेका कारण जाजरकोटलाई मुलुकमा चिनाउन गाह्रो भएको नागरिक अगुवा समेत रहेका शाहले बताए। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले खड्ग देवताको पुजार गर्ने र जाजरकोट दरबारमा  खड्ग ल्याउने मौलिक परम्पराको जगेर्ना गर्न आफूले  सक्दो पहल गर्ने बताए। उनले  जगतिपुरमा  उचित सुरक्षाको व्यवस्था गरेर  फेरी जगतिपुरबाटै खलंगासम्म खड्ग ल्याउने चलनको सुरुवात गरिने बताए।

प्रकाशित: ३० आश्विन २०७५ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App