६ वैशाख २०८१ बिहीबार
समाज

गुल्मीमा धुमधामका साथ फूलपाती भित्र्याइँयो

तस्बिरः शिवलाल सुवेदी/गुल्मी

गुल्मी – दसैंको सातौं दिन मंगलबार गुल्मीमा रहेका विभिन्न देवी देवताका शक्तिपीठहरूमा फूलपाती भित्र्याइएको छ। नेपालीहरूको महाचाड बडादसैं सुरुसँगै आज महासप्तमीको दिन पारेर प्रत्येक वर्षझै यस वर्षपनि गुल्मीमा फूलपाती धुमधामका साथ भित्र्याइएको हो।

गुल्मीको सदरमुकाम तम्घासमा रहेको धागुधुम मन्दिर, नेपाली सेना, नेपालप्रहरी, शसस्त्र प्रहरी, चोयगाँको छत्रकोट, इस्माकोट, चन्द्रकोट, अर्जेमन्दिर, पुर्कोट अर्खवाङ्ग, उनायचौर मन्दिर, जोगिथुम मन्दिर अर्जुनडाडाँ मन्दिर लगायत जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपिठहरूमा धुमधामका साथ फूलपाती भित्र्याइएको छ।

सदरमुकाम तम्घासस्थित धागिथुम दुर्गा मन्दिर समिति र नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेत, गुरगोरख गुल्मका गुल्मपति जनमत कार्की, शसस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रमुख दिनेश रायमाझी र मन्दिर समितीका अध्यक्ष शेरबहादुर थापाले माता दुर्गा भवानीको पूजा आर्चना गरेका थिए।

सोही अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुक्त रुपमा दुर्गा मातालाई सलामी समेत अर्पण गरेका थिए। धार्मिक परम्पराअनुसार पुजापाठ, जमरा, होम, बली तथा बडाइ दिएका थिए भने नेपाली सेना र सशस्त्र प्रहरीले बन्दुक पडकाएर सलामी दिएको मन्दिर समितिका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए।

फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका पातहरूलाई पुजेर प्रत्येकको नौ वटाका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। नौ प्रजातीका पातमा क्रमशः ब्रहृमाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक (एक गरी आव्हान गरेर सोह्र सामग्रीले पुजिन्छ। यसलाई नवपत्रिका पनि भनिन्छ। शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए।

घटस्थापनादेखि दसैं शुरु भएपनि आज साँझ फूलपाती भित्र्याएपछि दसैंंको थप रौनर आउने गर्दछ। आजदेखि घरटाढा हुनेहरू दसैंमा मान्यजनको हातबाट टिका ग्रहण गर्ने आउने क्रम पनि बढेको छ। गाउँ गाउँमा रहको शक्तिपीठ र राममन्दिरहरूमा आज पुजाआजा सहित फूलपाती भित्र्याएकाले गाउँ घरमा रमाइलो भएको छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका ब्यारेकहरूमा समेत दसैंले ढाकेको छ। 

प्रकाशित: ३० आश्विन २०७५ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App