८ वैशाख २०८१ शनिबार
अर्थ

एनआरएन विज्ञ सम्मेलन सम्पन्न, तीन महिनाभित्र श्वेतपत्र जारी गरिने

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा आयोजित ‘एनआरएन विज्ञ सम्मेलन’ सम्पन्न भएको छ। गैरआवासीय नेपाली दिवसको अवसर पारेर आयोजना गरेको तीनदिने सम्मेलन आइतबार सकिएको हो।

‘गैरआवासीय नेपालीले विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि भिœयाएर नेपालको समृद्धिमा सहयोग पुर्याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरेका हौं,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा सम्मेलनका संयोजक एवं संघका उपाध्यक्ष कुमार पन्तले भने, ‘विज्ञहरुको उत्साहजनक सहभागिताका साथ सम्मेलन सम्पन्न भएको छ।’

सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञले जलविद्युत्, पूर्वाधार, पर्यटन, कृषि, विज्ञान तथा प्रविधि, सामाजिक सुरक्षालगायत विषयमा एक सय ६० वटा कार्यपत्र प्रस्तुत गरेका थिए । १९ सत्रमा प्रस्तुत ती कार्यपत्रमाथिको छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षलाई समेटेर ‘श्वेतपत्र’ जारी गरिने उपाध्यक्ष पन्तले जानकारी दिए।

‘सम्मेलनबाट आएको निष्कर्षलाई हामी दराजमा थन्क्याउने छैनौं,’ उनले भने, ‘यसबाट प्राप्त ज्ञान तथा छलफलमा उठेका महत्वपूर्ण बुँदाहरुलाई समेटेर आगामी तीन महिनाभित्र श्वेतपत्र जारी गर्छौं ।’ उपाध्यक्ष पन्तले सम्मेलनमा सरकारको समेत सहयोग र सहभागिता रहेकोले श्वेतपत्रमार्फत दिइने सुझाव कार्यान्वयन हुने अपेक्षा व्यक्त गरे।

‘सम्मेलनले विदेशमा नेपालीले सिकेका ज्ञान, सीप र प्रविधिलाई मुलुकमा भित्र्याउन के कस्ता समस्या छन् भन्ने पहिचान गरेको छ । ती समस्या सम्बोधनका लागि विद्यमान कानुनमा के कस्ता सुधार गर्नुपर्छ वा नयाँ कानुनको व्यवस्था गर्नुपर्छ भन्नेबारे सरकारलाई सुझाव दिन्छौं,’ उपाध्यक्ष पन्तले भने, ‘प्रधानमन्त्रीलगायत सरकारका प्रतिनिधिहरुले सम्मेलनका निष्कर्षलाई उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।’

संघले यसप्रकारको सम्मेलन पहिलोपटक आयोजना गरेकोले सबै विषयवस्तु समेट्नुपरेको पन्तले बताए । ‘यो सुरुवात भएकाले सबै क्षेत्रका विज्ञलाई समेटेर धेरै विषयमाथि कार्यपत्र प्रस्तुत गरिएको हो । संसारभर रहेका एनआरएन विज्ञलाई एकै ठाउँ भेला गराउन सफल भयौं, यो नै ठूलो उपलब्धि हो,’ उनले भने, ‘कुन क्षेत्रमा कति विज्ञ छन् भन्ने डाटाबेस तयार पार्न पनि यसले सहयोग पुगेको छ ।’ अब हुने सम्मेलन विशेष विषयमा केन्द्रित गरिने उनको भनाइ छ।

सम्मेलनमा १० जना विदेशीसहित विश्वभरबाट तीन सय ५० एनआरएन विज्ञ सहभागी थिए । सम्मेलनअन्तर्गत शनिबार नीतिगत समस्या र समधानका विषयमा चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यस्तै अन्तिम दिन आइतबार कृषि, जलविद्युत्, पर्यटन लगायत विषयमा कार्यपत्र प्रस्तुत भएका थिए।

संघको नेतृत्व परिवर्तन भए पनि सम्मेलनबाट आएका निष्कर्ष कार्यान्वयनमा असर नपुग्ने उपाध्यक्ष पन्तको भनाइ छ । ‘संघको नेतृत्वमा जो आए पनि यसको कार्यान्वयनमा असर पर्दैन,’ उनले भने, ‘आगामी दुई वर्षमा नै यसको नतिजा देखाउँछौं।’

प्रकाशित: ३० आश्विन २०७५ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App