धर्म र राजनीति

मङ्गलबार, ३० असोज २०७५, ०८ : २४ पुरञ्जन आचार्य

विराटनगरमा केटाकेटी हुँदा आफ्नै घर, आँगन र टोलमा जीवनका प्रारम्भिक दसैँ बिते । त्यो पूर्ण संसार नै थियो मेरा लागि । दसैँमा केटाकेटीलाईदिने अनेकन् स्वादभन्दा ठूलो आकर्षण बिहानदेखि साँझसम्म टोले साथीहरूसँग धुलो उडाउँदै सडकमा नांगो खुट्टा हिँड्दाको स्वतन्त्रता थियो । अनि चंगा र तास खेल्दा हुने जीत–हारको उमंग नै मलाई बेग्लै थियो । जीवनका प्रारम्भिक दसैँहरू समाजले मनाउने पूजा पद्धतिभन्दा हामी केटाकेटीलेसिर्जना गरेको दसैं मनाउने तरिका पृथक थियो। 

दोस्रो चरणको दसैं त्यतिखेर आयो जव स्कुल र टोले साथीहरूवाट जीवन कलेजमा प्रवेश गर्यो । साथीहरूको संगत विस्तार भयो राजनीतिक र खेलकुदका कारण । अब साथीहरू टोलेमात्र रहेनन् । तसर्थ जमघटको केन्द्र वन्यो विराटनगरको काली मन्दिरछेउ रहेको  ‘रमाकान्त’ को चिया पसल।

विराटनगरको काली मन्दिरमा मैले कहिल्यै पनि पूजा गरेको थाहा छैन युवाकालमा । तर म रमाकान्तको चियापसलको नियमित ग्राहक थिएँ । जमघटको सक्रिय सदस्य थिए । विराटनगरमा मन्दिर, चिया पसल र सडक पेटीमा जमघट गर्ने कांंग्रेसीमात्र हुन्थे । अन्यत्रको सहरमा के छ मलाई थाहा भएन । कम्युनिस्ट भन्न रुचाउनेहरू  ‘बुर्जुवा’ हुन नरुचाएर हो कि  किन हो, यस्ता सार्वजनिक स्थलमा खासै देखिँदैनथे विराटनगरमा।

काली मन्दिरको रमाकान्तको चिया पसलले धर्म र पंथको ज्ञान बढाएन । राजनीतिक मित्रहरूको विस्तार भयो । चेतनामा पनि नयाँ आयाम थप्यो । दसैंले विस्तारै नयाँ रूप लिँदै थियो हाम्रा लागि । तास खेल्ने साथीहरूको संख्या वृद्धिहुँदै जाँदा रमाकान्तको चिया पसलमा बिहान कसले कति जित्यो र हार्यो भन्ने विषयले प्रमुखता पायो दसँै तिहारको समयमा।

विराटनगरमा तिनताका घनघोर जुवाँ हुन्थ्यो भन्ने कुरा त्यहाँको चिया पसलवाट सहजै थाहा पाइन्थ्यो । अधिकांश धनीमानी सुरक्षाकर्मीको सेटिङमा घरमा जुवा खेलाउँथे । हिजोआज धेरै कम भएको छ । खासगरी कौडी र फ्लासलाई म्यारिजले बिस्थापित गरेपछि विराटनगरमाजुवा खालका समाचार शून्य जस्तै भएका छन्।

हाम्रो सभ्यता र संंस्कृतिको विगत ४ हजार वर्षको एउटा मौलिक धारा प्रवाहको गति थियो जसलाई धर्म निरपेक्ष जस्तो शब्द संविधानको प्रस्तावनामै राखेर उल्टो पार्न खोजिएको छ।  

बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको आह्वानले हामी जस्ता युवाको राजनीतिक सक्रियता बढायो । अब दसैं पनि चाडपर्व कम राजनीतिक पर्व धेरै भएर आउन थाल्यो । नेताहरूको घरमा जमघट गर्ने, बिपीको महानताबारे कथा कहानी सुन्ने आदि ।  तर यो बडो विचित्र र विरोधाभाषपूर्णखालको सक्रियता थियो । एकातिर बिपीले भनेजस्तो राजासँग कांग्रेसको मेलमिलाप कतै दृश्यमा थिएन, देखिएन । वास्तवमा एउटा युगपुरुष र मुर्धन्य समाजवादी नेताको निरंकुश राजासँग मेलमिलाप कसरी हुन्छ, कसरी घाँटी जोडिएको हुन्छ मैले आजसम्म पनि बुझ्न सकेको छैन।

मेलमिलापको सिद्धान्त विपरित क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई जेलबाट निकालेर जंगलमा लगी हत्या गरियो राज्यवाट । यो घटनापछि हामीले बिपीको मेलमिलाप  नीतिलाई झनै बुझ्न सकेनौँ । आफ्नै टोलमा बसेका जुम्ल्याहा राम–लक्ष्मणलगायत कैयन् अग्रजहरूको टिम्बुरबोटेमा हत्या भएको मानसपटलमा ताजै थियो । कांग्रेस नेता  प्रदिप गिरि कैयन् पटक भन्छन्– ‘बिपीले भनेको बुझ्ने, खुरुक्क मान्ने ।’ यो अवस्था थियो कांग्रेसमा तिनताका । हामी पनि त्यस्तै थियौँ।

बिपी र राजाको मेलमिलाप नीतिले कांग्रेस–कम्युनिस्टबीचको घृणा चुलियो समाजमा । पानीमात्र होइन, विवाहवारी नै नहुने अवस्था सिर्जना भयो । घृणाको यो राजनीतिसँगै नेपालका युवा सिर्जनशील र उत्पादनशील राजनीतिमा कमै लागे । नेपालको भावी राजनीतिक नेतृत्व निर्माणको त्यो अवधि अत्यन्त तनाव, अभाव र घृणावाट पोषित र पालित भयो।

आज लोकतन्त्र आएको तीन दशकपछि पनि मुलुकले काँचुली फेर्न नसक्नुका पछाडि हिजोको विष आज वृक्ष भएको हो, फैलिएको हो । विराटनगरको महेन्द्र मोरङ कलेज प्रजातन्त्रविरुद्ध साम्यवादको, कांग्रेसविरुद्ध कम्युनिस्टको र नेपाल विद्यार्थी संघविरुद्ध अखिल पाँचौँको रणभूमिस्थल नै भयो भन्दा हुन्छ । अन्यत्रका कलेज पनि योभन्दा फरक थिएनन् होला।

विराटनगरबाट दसैं छुट्यो । तीन दशकअघि प्रजातन्त्र पुनस्र्थापनाभएसंँगै विराटनगर राजनीतिक शक्तिकेन्द्र भयो । प्रधानमन्त्रीदेखि प्रभावशाली मन्त्रीहरू सबै विराटनगरका भए । अब दसैं पनि दुर्गा भवानीको पूजामा सीमित थिएन । राजनीतिक शक्तिकेन्द्रको घरमा पुग्यो । मेरो राजनीतिक बैठकी पनि रमाकान्तको चिया पसलबाट काठमाडौँका कैयन् केन्द्रमा विस्तारित भयो । यही क्रममा गएको शुक्रवार रानीपोखरीछेउको रेस्टुरामा म, कृष्ण खनाल, लोकराज बराल, विनय खुर्सियतलगायत कैयन् साथी धर्म र राजनीतिको बहसमा उत्रियौँ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकामा हामीबीच मतमतान्तर अझै छ । यो मतमतान्तर हामीबीच मात्र होइन, यो देशका अधिकांश नागरिकबीच पनि छ । कम्युनिस्ट सिद्धान्तमा धर्मलाई अफिम मानिन्छ । यो हामीलाई थाहा छ । तर नेपालका कम्युनिस्ट धर्मभिरु छन् । यो पनि नांगो आँखाले देखिन्छ।

बिपी कोइराला व्यवहारमै नास्तिक थिए । बिपीमात्र होइन, विराटनगरको कोइराला परिवार नै कर्मकाण्ड र पूजापाठ पद्धतिमा विश्वास गर्दैनथ्यो २०४६ सालअघि । तर पनि बिपी कोइरालालाई धार्मिक पुरुष भन्न सकिन्छ र यसका कारण छन् । त्यो कारण हिन्दुमूल्य पद्धतिमा भेटिन्छ । मनमोहन अधिकारी कम्युनिस्ट आन्दोलनको मुर्धन्य नेता हुन् तर उनको विराटनगरको काली मन्दिरमा बोको बलि दिन गएको विषय पञ्चायतकालभर चर्चित रह्यो । अर्थात उनी धार्मिक होइन, कालीपंथको पक्षधर थिए भनी बुझिन्छ।

सत्ता प्राप्तिपछि सबै पंथ र तन्त्रमा विराटनगरको कोइराला परिवार लागेको मैले आफैँ देखेँ, भोगेँ । नयाँ डिएनको परिचय बोकी अहिले बिपी पुत्र कांग्रेस महामन्त्री डा. शशांक कोइराला प्रकट भएका छन् । उनी नेपाललाई हिन्दु राष्ट्र राख्नुपर्छ भनी हवाईजहाज चढ्नुअघि र जहाज अवतरणपछि पत्रकारमाझ भन्छन् र जनमत संग्रहको कुरा राख्छन् । धर्म र राजनीतिलाई बेढंगी तरिकाले घुलन गर्दा कांग्रेस र उनको पहिचान अपांग भएको छ।

धर्मनिरपेक्ष कोही हुनसक्तैन भन्ने मान्यता यो आर्यावर्तमा धेरै पहिलेदेखि स्थापित छ । हाम्रो सभ्यतामा धर्म केलाई भनिन्छ भन्ने प्रश्न आउँछ । धर्मलाई हाम्रा ऋषिमुनीहरूले जीवन पद्धतिमा व्यक्तिको उच्चतम आदर्श कायम राख्ने मन्त्र मानेका छन् । हिन्दु धर्म भनेको इन्द्रियहरूलाई वसमा राख्ने, अहंकारी नहुने, अरुलाई नठग्ने र नलुट्ने आदि दश सूत्र छन् । हिन्दु धर्मको परिभाषाले जीवन पद्धति कसरी अगाडि बढाउने भनी शिक्षा दिन्छ । पाश्चात्य जगतबाट आएको रिलिजनले ‘जीवन पद्धति होइन, पूजा पद्धति’ सिकाउँछ।

कुनै पनि रिलिजन अर्थात पंथमा चार अवस्थालाई अनिवार्य मानिन्छ । पहिलो एउटा भगवान, दोस्रो फाइनल अथोरिटीकोपुस्तक, तेस्रो सबैले मान्ने एउटा केन्द्रीय स्थल र चौथो केन्द्रमा पूजा गर्ने समान विधि । जस्तो इश्लाममा अल्लाह भगवान भए, कुरान फाइनल अथोरिटी भयो, मक्का मदिना केन्द्रीय स्थल भयो अनि पूजा विधि हज सबैले समानरूपमा गर्छन् । क्रिस्चियन रिलिजनमा पनि त्यही छ । क्राइस्ट, बाइबल, भ्याटिगन सिटी र पूजा विधि क्रसेड चिह्न । हिन्दु चलनचल्तीको जस्तो धर्म होइन भनी मान्ने उदाहरण यही हो । यहाँ असंख्य भगवान छन्, पूजा पद्धति फरक छन् सबैका, कुनै केन्द्र छैन जसमा सबैको भावधारा एकनासले प्रकट होस् र कुनै फाइनल अथोरिटीको पुस्तक पनि छैन । असंंख्य पुस्तक छन् विविध पंथकर्मीहरूका।

माथिका उदाहरणहरूबाट नेपाललाई धर्मनिरपेक्ष राष्ट्र राख्नु भनेको हाम्रा ऋषिमुनीहरूले जीवन पद्धतिका लागि अगाडि सारेको दश सूत्रबाट जनतालाई विमुख राख्नु हो, नेपालीलाई त्यसबाट चुँडाएर अनैतिक समाज निर्माण गर्नु हो भनी बुझ्न सकिन्छ । संविधान निर्माण गर्दा राज्यलाई पंथ निरपेक्ष राख्ने उद्देश्यबाट धर्मनिरपेक्ष हुनपुगेको कुरामा कुनै शंका छेन । संविधान निर्माण गर्दा धर्मलाई नकारात्मकरूपमा संविधान निर्माणकर्ताहरूले बुझे । वास्तवमा यो कानुन र ऐनका विषय थिएन । हाम्रो सभ्यता र संंस्कृतिको विगत ४ हजार वर्षको एउटा मौलिक धारा प्रवाहको गति थियो जसलाई धर्म निरपेक्ष जस्तो शब्द संविधानको प्रस्तावनामै राखेर उल्टो पार्न खोजिएको छ।  

अहिले बिपी पुत्र कांग्रेस महामन्त्री डा. शशांक कोइराला प्रकट भएका छन् । उनी नेपाललाई हिन्दु राष्ट्र राख्नुपर्छ भनी हवाईजहाज चढ्नुअघि र जहाज अवतरणपछि पत्रकारमाझ भन्छन् र जनमत संग्रहको कुरा राख्छन् । धर्म र राजनीतिलाई बेढंगी तरिकाले घुलन गर्दा कांग्रेस र उनको पहिचान अपांग भएको छ।

धर्मनिरपेक्ष शब्द पाश्चात जगतको हो । युरोपमा रिलिजनको दखल प्रत्यक्ष थियो राज्यमा । राज्यलाई दैवीय संस्थाको प्रतिनिधि मानिन्थ्यो । धार्मिक सुधारका आन्दोलन भए अनि धर्मले होइन, संंप्रभु जनताले निर्माण गरेका राज्य बने । अंग्रजीमा ‘रिलिजन’ भनिने शब्दलाई नेपालीमा धर्म भनियो । हाम्रो धर्मको समानार्थी शब्द रिलिजन ठीक छैन । रिलिजन शब्दको सही समानार्थ शब्द‘पंथ’ हुन सक्ला । सबै गडबडी यहीँबाट भएको छ।

त्यस्तै अंग्रजीमा ‘सेक्युलिरिज्म’ शब्दलाई नेपालीमा धर्म निरपेक्ष भनियो । यो पनि समानार्थी शब्द छैन । हिन्दु सभ्यतामा धर्म र राजनीति जोडिएर बिरलै आएको छ । जबकि पाश्चात्य जगतमा सबै राजनीति चर्चसँग जोडिएर आउँथ्यो । हाम्रा पुराना ग्रन्थमा राजा–महाराजाहरू अर्थात राजकाज चलाएकाहरू ऋषिमुनीलाई भेट्न उनको आश्रम जान्थे । समाजको नैतिक शिक्षा र धार्मिक सूत्रहरूको ज्ञान लिन जान्थे।

नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भनी अभियान चलाउनेहरू जीवन पद्धतिमा सुधार गर्ने होइन, पूजा पद्धतिलाई स्थापित गर्ने सोचलाई नै हिन्दु राष्ट्र ठान्छन् । यो गलत हो र यसले देशमा अनिष्ठ ल्याउँछ । विगतमा राजतन्त्रले त्यही कर्म गर्यो र टिकेन राजतन्त्र । हिन्दु धर्मलाई पूजापद्धतिसँंग जोड्ने अनिष्ठ कार्यले हाम्रो समाजबाट सही अर्थमा हिन्दु सभ्यता समाप्त हुने खतरा रहन्छ।

हिन्दु के हो र त्यसका सूत्र कस्ता छन् भनी बुझ्न सबैभन्दा आलोचित र अनुदारवादी ग्रन्थ मनुस्मृति नै पढ्दा हुन्छ । मनुस्मृतिसमेतले पूजापद्धतिलाई हिन्दु मानेको छैन, जीवन पद्धतिलाई मानेको छ । विजयादशमीको अवसरलाई यो हिन्दुहरूको महान् चाड भनिन्छ । वास्तवमा यसमा नयाँ ढंगले बहस चलाउन जरुरी छ । दुर्गाको आराधना र शक्तिको पूजा कसरी सबै हिन्दुका लागि महान् चाड हुनसक्छ र ?यो शक्तिका पुजारीहरूको मार्ग हो । यो असत्यमाथि सत्यको जीत हो भनी बुझ्दा हिन्दु धर्मको नजिक पुग्न सकिन्छ । दुर्गा पूजा शक्तिको मात्र आराधना हो भने यसको हिन्दु धर्मसँग कुनै साइनो छैन । किनकि शक्ति र अंहंकारबीच नजिकको सम्बन्ध छ र यो हिन्दु धर्म विरोधी कुरा हो।

विराटनगरको रमाकान्तको चिया पसलबाट चार दशकअगाडि कांग्रेस ठीक र बिपी महामानव भनी राजनीतिक  बहस सुरु गर्दा रानीपोखरीमा पानी भरिभराउ थिए होला । संभवतः मैले रानीपोखरी देखेको पनि थिइन फोटोमा बाहेक । अहिले त्यही रानीपोखरीको छेउको रेस्टुरामा धर्म र राजनीतिबारे बहस गर्दा रानीपोखरी पानीबिहीन छ, उजाड र फुंग छ, नेपालको राजनीति जस्तै ।   अन्तमा,सेक्सपियरले भनेझैँ ‘नाममा के राखेको छ र?’ भनी चित्त बुझाउन सकिन्छ । तर तथाकथित हिन्दुधर्मको नाममा भारतमा काँडैकाँडामात्र अगाडि बढिरहेको देख्दा फेरि नेपालमा पनि घृणाको राजनीतिले प्रश्रय नपाओस् भनी चिन्ता प्रकट गरेकोमात्र हो । हाम्रो पुस्ताले आन्दोलन गर्यो तर राजकाज चलाउन जानेन किनकि हिन्दु सूत्रहरू बुझ्नु परेन । शक्तिको आराधना भने खुबै गरेका हाम्रो पुस्ताले भावी नेपाल सही अर्थमा हिन्दु धर्मको नजिक पुग्ने मार्गमात्र खिच्न सके सन्ततिले आशीषै देलान् । अब पालो आशीष दिने होइन, यो पुस्ताले भविष्यको पुस्ताबाट आशीष लिने कर्म गर्ने हो।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad