coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बढी भाडा लिने पाँचसय गाडी कारबाहीमा

काठमाडौं – दसैंमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने पाँच सय सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

दसैंको ‘अग्रिम टिकट बुकिङ’देखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा हालसम्म पाँच सय सवारीलाई कारबाहीको दायरामा ल्याइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए।

उपत्यकाबाहिर जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि ती सवारीलाई कारबाही गरिएको उनले बताए । बढी भाडा लिने सवारीलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना गरिएको छ । विशेषगरी साना माइक्रो, हायस र टाटा सुमोले तोकेभन्दा बढी भाडा लिएको विभागले जनाएको छ।

बढी भाडा लिने सवारीको जानकारी विभागको हटलाइन नं. ९८५१२७३२२२ र नेपाल प्रहरीको निःशुल्क नं. १०१ एवं १०३ मा फोन गरेर उजुरी गर्न सकिने प्रवक्ता उपाध्यायले बताए । दसैंका जुनसुकै दिन सवारी चलाउनेले पनि विभागले तोकेभन्दा बढी भाडा लिन नपाउने उनले बताए । बढी भाडा लिएमा उल्लेखित फोन नम्बर वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न विभागले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई कारबाहीको दायरामा ल्याउन देशभरका प्रहरी कार्यालयलाई पनि अनुरोध गरिएको जनाइएको छ।

उपत्यकाबाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा यात्रु ठगिने क्रम बढेको हो । दसैंका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असोज २४ गते घटस्थापनादेखि शनिबारसम्म ६० हजार जति सवारीमा पाँच लाख जति यात्रु उपत्यका बाहिर गएको महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक दामोदर सिलवालले बताए । त्यस्तै, यस अवधिमा ५० हजार सात सय सवारीमा तीन लाख १९ हजार यात्रु उपत्यका भित्रिएका छन्।   (रासस)

प्रकाशित: ३० आश्विन २०७५ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App