८ वैशाख २०८१ शनिबार
राजनीति

दसैंलगत्तै सिटी हल शिलान्यास हुन्छः रेणु दाहाल

भरतपुर महानगरपालिकाले गरेकाे गतिविधिका बारेमा जानकारी गराउँदै मेयर रेणु दाहाल । तस्बिरः सविता/नागरिक

चितवन – भरतपुरमा सिटी हल बनाउन महानगरपालिका कार्यालयले अघिल्लो वर्ष नै बजेट विनियोजन गरिसकेको छ । तर अहिलेसम्म सिटी हल बनाउने स्थानको टुंगो लाग्न सकेको छैन । महानगरपालिकाले दुईपटक स्थान छनोट गरी निर्णय गरेको भए पनि दुवै स्थानप्रति दलगत विरोध आएको हो।

पछिल्लो पटक महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेस्ट हाउस चौरमा सिटी हल बनाउने निर्णय गरेको थियो । तर यो निर्णयप्रति नेकपा र नेपाली कांग्रेस बाहेकका राजनीतिक दलले विरोध जनाउँदै आएका छन् । यसअघि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा सिटी हल बनाउने निर्णय भएको थियो । तर यसमा नेपाली कांग्रेसले विरोध जनाएपछि दोस्रो ठाउँ छनोट गरिएको हो।

यसरी दुईपटक स्थान छनोट गरिसक्दा पनि राजनीतिक खिचातानीले गर्दा सिटी हल निर्माण अघि बढ्न नसकेको हो । महत्वाकांक्षी योजनाका रूपमा अघि सारिएको सिटी हल निर्माण सुरु हुन नसक्दा सबैलाई नमिठो अनुभूति भइरहेको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल बताउँछिन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू गर्न मिल्ने अन्तर्राष्ट्रिय स्तरको सभा हल भरतपुरमा बन्नु सबैका लागि गौरवको विषय हुने उनले बताइन् । तर हल निर्माणका लागि छनोट गरिएका दुवै स्थानको विरोध भएपछि के गर्ने के नगर्नेको स्थितिमा पुगिएको मेयर दाहालले दुखेसो गरिन् । ‘पछाडी हट्न पनि गाह्रो र अगाडि बढ्न पनि गाह्रो भएको छ,’ उनले भनिन्, ‘यी दुई ठाउँबाहेक अर्काे विकल्प देखिँदैन।’

सहरभन्दा धेरै पर जान नसकिने भएकाले गेस्ट हाउस चौर वा क्यान्सर अस्पताल परिसरमध्ये एक स्थानमा सिटी हल बनाउनुपर्ने उनको जिकिर छ । सुरक्षाका दृष्टिले पनि संवेदनशील हुने भएकाले भित्री क्षेत्रमा सिटी हल बनाउन नसकिने उनको तर्क छ।

जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौर एक मात्र खुला ठाउँ हो । हस्पिटल रोडमा पर्ने र जनघनत्वसमेत धेरै भएको यो क्षेत्र सिटी हलका लागि उपयुक्त हुने मेयर दाहालको दाबी छ । कि क्यान्सर अस्पतालकै परिसर सबै हिसाबले उपयुक्त हुने उनको जिकिर छ । भनिन्, ‘अस्पताल परिसरको एक छेउमा पाँच विगाह जग्गा दिँदा मात्र पनि सिटी हल बन्छ।’

क्यान्सर अस्पताल परिसरको ७८ विगाहमध्ये पाँच विगाह जग्गामा सिटी हल बनाउने निर्णयको फाइल अस्पतालको बोर्ड बैठक, जिल्ला प्रशासन कार्यालय हुँदै स्वास्थ्य मन्त्रालय, भूमिसुधार मन्त्रालय, गृह मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकसम्म पुर्याइएको मेयर दाहालले जानकारी दिइन् । सबै विधि र प्रक्रिया पुर्याएर फाइल लगिएको भए पनि पार्टीगत आधारमा विरोध सुरु गरिएको उनको आरोप छ । सिटी हल बनाउनु पार्टी तथा दलगत हित र स्वार्थको मात्र कुरा नभएर सार्वजनिक हित र सुविधाको विषय भएको उनी बताउँछिन् । त्यसैले यो विषय महानगरपालिका प्रमुखको मात्र दायिŒवको कुरा नभइ सबैको चासो र चिन्ताको विषय बन्नुपर्ने उनले बताइन्।

पाँच हजार जना अट्ने क्षमताको सिटी हल देशकै मध्य भागमा पर्ने भरतपुरमा निर्माण गर्न गत आर्थिक वर्षमा सहरी विकास मन्त्रालयले ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । सिटी हलको पूर्वाधार तयार गर्न करिब एक अर्ब रुपैयाँ लाग्ने मेयर दाहालले जानकारी दिइन् । अहिले विनियोजन भएको बजेटमा निर्माण सुरु गरेर बजेट थप्दै आधुनिक सिटी हल बनाइने उनले बताइन् । सबै दलबीच सहमति कायम गरेर स्थानको टुंगो लगाइने उनको भनाइ छ । मेयर दाहालले भनिन्, ‘दसैंलगत्तै शिलन्यास गरेर काम सुरु गरिनेछ।’

प्रकाशित: ३० आश्विन २०७५ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App