१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विमानस्थलको कामले गति लिँदै

मोहम्मद हबिब
भैरहवा – निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे चैत्रभित्र निर्माण सम्पन्न हुने गरी कार्यअघि बढिरहेको छ । रनवेको सबबेस र बेसको काम सम्पन्न भई कालोपत्रे र लाइटिङको काम बाँकी रहेको र दसैंलगत्तै दुवै काम समानान्तर रूपमा अगाडी बढ्ने आयोजनाले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लिएसँगै तोकिएको म्यादभित्रै विमानास्थल सञ्चालनमा आउने सम्भावना बढेको छ । सन् २०१९ जुनमा सम्पन्न गर्ने लक्ष्यका साथ विमानस्थल निर्माणको कामलाई तीव्रता दिइएको छ । कालोपत्रेका लागि आवश्यक सबै कच्चा पदार्थ र मेसिन तयार छ । कालोपत्रे गुणस्तर परीक्षण भइरहेको जानकारी आयोजनाले दिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निमित्त प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले कालोपत्रे काम दसैंलगत्तै अगाडी बढाउने बताए । उनले कालोपत्रे प्रयोजनको लागी एक वटा कालोपत्रे मेसिन पहिलेदेखी नै रहेको र थप एक मेसिन जडान हुँदैै गरेको बताए । उनले अहिले मुख्य रनवेलाई हाल सञ्चालित रनवेमा जोड्ने काम भइरहेको छ जसलाई ट्याक्सी वेका रुपमा प्रयोग गरिने बताए । हाल सञ्चालनमा रहेको रनवेलाई पूर्वतर्फ दुई सय मिटर र पश्चिमतर्फ दुई सय मिटर बढाएर स्तरोन्नती गरी एक हजार नौ सय मिटरको बनाएर ट्याक्सी वेका रुपमा प्रयोग गरिने उनले बताए।

अधिकारीका अनुसार हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको छ । उनले विमानस्थलको अप्ठ्यारा काम सम्पन्न हुने अवस्थामा रहेकाले सन् २०१९ को जुनसम्म विमानस्थल तयार हुने बताए । अधिकारीका अनुसार ५ वटा विमान रोक्न गर्न मिल्ने गरी पार्किङ एरियाको काम सम्पन्न भइसकेको छ । यसैगरी कठिन मानिएका ओभरहेड ट्यांकलगायतको काम पनि तीव्र गतिमा अगाडी बढेको छ । प्रशासनिक भवनको निर्माण कार्य पनि सोही अवस्थामा अगाडी बढेको छ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी सन् २०१५ मा विमानस्थल निर्माण कार्य सुरु भएको थियो । विमानस्थलको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले काममा तीव्रता दिएकाले समायावधी अनुरुप काम गरिरहेका छन् । अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ।

यसैगरी विमानास्थल सञ्चालनको लागी एवम् आवश्यक उपकरण जडानलगायत कार्यको लागि ठेक्का प्रक्रियाको आइसिबी–२ को काम पनि सुरु भएको छ । विमानास्थल निर्माण कार्य र उपकरण जडानलगायतका काम सँगसँगै गरिने हुँदा तोकिएका अवधिमै विमानास्थल सञ्चालनको सम्भावना बढेको हो।

सन् २०१५ को जनवरीमा सुरु गरी सन् २०१७ डिसेम्बरमा सकिने सम्झौतासहित एडिबीले लगानी गरेको थियो । एडिबीले चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण रोक्ने चेतावनी पत्र र जनवरी यता उसले आफ्नो ऋण र अनुदानसमेत बन्द गरेको कारण चिनियाँ टोलीमाथि दबाब परेको थियो । परिणाम स्वरुप अहिले काम सन्तोषजनक रुपमा अगाडि बढेको छ।

कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यस विमानस्थलमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ । बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । विमानस्थल निर्माणमा हाल सम्म २ अर्ब ६ करोड खर्च भएको आयोजनाले जनाएको छ।

२ अर्ब मुआब्जा वितरण, ३ अर्ब आउँदै
निर्माणधीन विमानस्थलले ओगट्ने जग्गाको करिब ११ अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरण सम्पन्न भइसकेको छ। विमानस्थल आयोजनाले यस आवमा झन्डै २ अर्ब मुआब्जा वितरण गरिएको र ३ अर्ब बढी अर्थ मन्त्रालयबाट निकासा भई आउने प्रक्रियामा रहेको छ।

विमानस्थलका लागि अधिग्रहण गरिएको २ हजार २ सय जना जग्गाधनीलाई कुल २३ अर्ब मुअब्जा दिनुपर्नेमा हाल सम्म एक हजार तीन सयलाई वितरण गरिसकेको उनले बताए । निवेदन दिएमध्येकोे जग्गाधनीलाई मुआब्जा दिनका लागि उनीहरुको जग्गाको प्रक्रिया जारी रहेको रकम आउनासाथ वितरण गरिने बताए।

प्रकाशित: ३० आश्विन २०७५ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App