८ वैशाख २०८१ शनिबार
समाज

सुन तस्करीका अभियुक्त श्रेष्ठलाई काठमाडौं ल्याइयो

काठमाडौं – ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका बेनु श्रेष्ठलाई दुबई प्रहरीले काठमाडौं डिपोर्ट गरेको छ । आइतबार साँझ दुबई प्रहरीले ३२ वर्षीय श्रेष्ठलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो । महानगरीय प्रहरी गौशाला वृत्तमा राखिएका श्रेष्ठसँग सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्यले बयान लिएका छन्।

बयानमा श्रेष्ठले सुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार आफूसमेतको लगानीमा रहेको सुन लुटिएपछि तस्करीमा संलग्न भएको श्रेष्ठले स्वीकार गरेको हो । समिति स्रोतका अनुसार श्रेष्ठले दुई वर्षदेखि दुबईमा बसेर सुन तस्करी गरिरहेको खुलेको थियो।

इन्टरपोलको सहयोगमा दुई महिनाअघि दुबई प्रहरीले श्रेष्ठलाई पक्राउ गरी डिपोर्टको प्रक्रिया गरिरहेको थियो । श्रेष्ठविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर छ । समितिसँगको बयानमा श्रेष्ठले माघ ९ गते विमानस्थलबाट बाहिरिएपछि हराएको ३३ किलो सुनमा आफ्नो लगानी नभएको बताए । ‘३३ किलो सुनमा श्रेष्ठको लगानी नभएको देखिएको छ,’ समिति स्रोतले भन्यो।

दुई वर्षअगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुनमध्ये २ किलोमा श्रेष्ठको लगानी थियो । सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपित चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरिएको थियो । श्रेष्ठ दुबईमा एक आइटी कम्पनीमा काम गरिहरेका थिए । तीन वर्षअघि भोजपुर, इटहरी, काठमाडौंमा उनको सुन पसल थियो । सुनको कारोबार गर्ने क्रममा गोरेसँग भेट भएपछि उनी सुन तस्करीमा छिरेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७५ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App