८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

हामी सपनामा किन भाग्न सक्तैनौँ?

सपनामा हामी कुनै सङ्कटमा पर्‍यौँ भने हामी भाग्न चाहेर पनि भाग्न सक्तैनौँ। त्यस्तै कसैलाई मुक्का हान्नुपर्‍यो वा चिच्याउनु पर्‍यो भने पनि समय लाग्छ। अचम्म त के भने हामी सपनामा पनि मर्न सक्तैनौँ। आखिर यस्तो किन हुन्छ?

सपना मनोविज्ञानका लागि यस्ता प्रश्न एउटा रहस्यकै रुपमा छन्। ती रहस्य नखुलेका कारण र ती सपना स्पष्ट रुपमा परिभाषित हुन नसकेका कारण त्यसमा देखिएका घटनाका बारे भिन्दाभिन्दै व्याख्या गरिएका छन्। सपनाहरूमाथि गरिएका कैयौँ शोधले देखाएको छ, हाम्रा बाहिरी परिस्थितिले सपनालाई प्रभावित तुल्याउँछन्। जस्तो, तपाईं कुनै कामका लागि निरन्तर मिहिनेत गरिरहनु भएको छ भने र त्यसमा सफल हुन सकिरहनु भएको छैन भने दौडिन नसकेको अथवा बोल्न नसकेका सपनाहरु देख्नु हुन्छ। यसरी सपनाले कुनै व्यक्तिको चेतन र अचेतन मनमा लगातार चलिरहेको सङ्घर्षलाई देखाउने गर्छ। अचेतन मनले सपनामार्फत् लगातार सफल हुनबाट रोकिरहेका केही कुरा छन् भनी सन्देश दिने प्रयास गरिरहेको हुन्छ।

सपनाका विश्लेषकहरुले निरन्तर अथवा तीव्र रुपमा दौडिन नसक्नुको अवस्थालाई आत्मविश्वासको कमीका रुपमा अर्थ्याउने गर्छन्। सपनामा तपाईंले बोल्न सकिरहनु भएको छैन भने तपाईंले आफ्ना विचार अरुलाई प्रष्ट रुपमा पुर्‍याउन नसक्नु भएको मनस्थितिको झल्को देखिने गरेको केहीको धारणा छ। आफ्ना विचारमा अरु सहमत नहोलान् कि भन्ने मनको आशङ्काका कारण तपाईंले त्यस्ता सपना देख्नु हुन्छ।

मनोविज्ञानको अर्को विचारले चाहिँ कसैलाई मुक्का हान्नु अथवा भाग्नु शरीरका कैयौँ अङ्गहरुको समन्वयबाट हुने गतिविधि हो भन्छ। यस किसिमको काममा शरीरका अलगअलग अङ्गले अलगअलग भूमिका निर्वाह गर्छन्। सपनामा शरीरका सबै अङ्ग शिथिल हुन्छन् तर दिमाग मात्रै सक्रिय हुन्छ। दिमागले शरीरलाई निर्देश दिइरहेको हुन्छ तर शरीर निष्त्रि्कय भएकाले उसले प्रतिक्रिया दिन वा निर्देश पालना गर्न असमर्थ हुन्छ। यस्तो अवस्थामा हामीले सपनामा कसैलाई मुक्का पनि हान्न सक्तैनौँ र भाग्न पनि सक्तैनौँ।

केही वैज्ञानिक प्रयोगले के देखाएको छ भने सपनाको गति वास्तविकताभन्दा निकै सुस्त हुन्छ। फिल्मको ‘स्लो मोसन’जस्तो। स्विट्जरल्यान्डको बर्न विश्वविद्यालयका प्राध्यापक ड्यानियल एर्लाकरले निद्रामा सपना देख्दा दिमागका क्रियाहरुको विश्लेषण गर्दा के पाए भने सपना देख्दा मानिस कुनै पनि काम गर्न सामान्यभन्दा डेढ गुणा बढी समय लगाउने गर्छ। अर्थात्, तपाईं सपनामा दौडिने प्रयास गर्न आफ्नो गोडा अघि बढाउनु भयो भने निकै सुस्त गतिमा बढ्छन्। त्यो बेला तपाईंलाई सपनामा महसुस हुन्छ, कसैले अघि बढ्न वा दौडिन रोकिरहेको छ।

यसैगरी सुतेका बेला तपाईंलाई पटक पटक अब मर्न लागेँ भनेर सपना देख्नु हुन्छ तर मर्नु हुन्न। यसको कारण चाहिँ दौडिनु वा भाग्नुभन्दा बिल्कुल फरक कारण हुने गर्छ। सपनामा हामी जे देख्छौँ, जे सुन्छौँ वा महसुस गर्छौं, ती सबै हाम्रा अघिल्ला अनुभवहरूमै आधारित हुन्छन् तर हाम्रो दिमागलाई ‘मर्ने’ अनुभवबारे थाहा हुँदैन। त्यसैले तपाईंले सपनामा आफैँ मरेको सपना देख्नु हुन्न।

स्क्रलडटइनमा अञ्जली मिश्राको टिप्पणी

प्रकाशित: ६ आश्विन २०७३ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App