फिल्म दृष्टिः छक्कापञ्जा ३

गम्भीर विषय, हल्काफुल्का ‘ट्रिटमेन्ट’

मङ्गलबार, ३० असोज २०७५, ०५ : ३७ अनिल यादव  | @aniljournalist

‘छक्कापञ्जा’ का अघिल्ला दुई सिरिजहरु हेर्दा लाग्थ्यो, दिपकराज गिरी र दीपाश्री निरौलाको फिल्म निर्माण फर्मुला भनेकै ‘एनि  हाउ दर्शक हसाउँ र एनि हाउ पैसा कमाउ’ हो । सायद चर्को आलोचनको प्रभावले होला यसपाली उनीहरु थोरै गम्भीर देखिएका छन्, ‘छक्कापञ्जा–३’ मा।

यसपटक उनीहरुले दर्शक हँसाउन द्विअर्थी संवाद र भद्दा मजाकको सहारा लिएका छैनन्, बरु नेपालका सरकारी विद्यालयमा देखिने बेथितिलाई फिल्मको विषय बनाएका छन् । सरकारी विद्यालयलाई कसरी राजनीतिले गाँजेको हुन्छ ? शिक्षकहरु विद्यालयमा पढाउन छाडेर बाहिर कसरी ‘खेलकुद’ गर्छन ? त्यो देखाउन खोजेका छन् । फिल्ममार्फत थोरबहुत परम्परागत शिक्षा प्रणालीमाथि व्यंग्य गर्ने प्रयत्न गरेको समेत देखिन्छ । र, फिल्ममेकर्सका रुपमा यही नै उनीहरुको सबैभन्दा प्रशंसनीय पक्ष हो।

तर ,यति भनिरहँदा गम्भीर विषय उठाउँदैमा फिल्म उत्कृष्ट हुँदैन भन्ने यथार्थलाई पनि कहाँ भुल्न मिल्छ र !  ‘छक्कापञ्जा–३’ यही यथार्थको ताजा उदाहरण हो । फिल्म हेरिसकेपछि लाग्यो,  यो एउटा गम्भीर विषयमाथि गरिएको हल्काफुल्का ‘ट्रिटमेन्ट’ हो।

फिल्मको कथा एउटा झुलेवस्तीमा रहेको खानीडाँडा सामुदायिक विद्यालयको सेटिङ वरपर घुमेको छ । त्यो विद्यालय जसका व्यवस्थापन समिति  अध्यक्ष अर्थात् गाउँका काजी (निर शाह) त्यसकै आडमा राजनीति गर्छन् । त्यो विद्यालय जसका पाले (केदार घिमिरे) घन्टी बजाउन छाडेर गाउँघरका बिहेमा सनही फुक्न जान्छन् । त्यो विद्यालय जसका शिक्षकहरु (बुद्धि तामाङ, जितु नेपाल) कोही कक्षामा हिसाब पढाउन छाडेर तासको हिसाबमा रमाउँछन्, कोही फित्ता बोकेर घडेरी नाप्न पुग्छन् । अनि, कोही बिरामीको बहानामा सधैँ स्कुल ढिला पुग्छन् । यी  सबैका कारण स्कुल आफै बिरामी छ।

तैपनि स्कुलका हेडसर (शिवहरी पौैड्याल) केही पनि एक्सन लिन सक्दैनन्, सिवाय मौन हुन । स्कुलभित्र छिरेको फोहोरी राजनीतिले उनलाई तर्साएको छ । उता हक्की र क्रान्तिकारी स्वभावका वाङ्देल (शिशिर वाङ्देल) छन् जो काजी (निर शाह)का राजनीतिक प्रतिष्पर्धी हुन् । काजीसँग राजनीतिक द्वन्द्वले उनको राजनीतिक यात्रा संकटमा पर्छ  ।  त्यही संकट दुर गर्न उनी छोरा राजा (दीपकराज)लाई गाउँ बोलाउँछन् । त्यही बेला गाउँमा आइपुग्छिन्, सहरमा बसेर टिभीमा अंग्रेजी समाचार वाचन गरिरहेकी हेडसरकी छोरी उजेली (दीपिका प्रसाईं) । उता काजीकै भाइले गाउँमा निजी स्कुल पनि चलाएको छ, जो चाहन्छ सरकारी विद्यालयको हविगत सधैँ कमजोर होस्।

यही बिरामी स्कुललाई सद्दे बनाउने अभियान वरपर केन्द्रित छ फिल्मको कथा । पात्रहरुका यस्तै अनेक स्वार्थहरुले स्कुललाई समस्यैसमस्याले गाँजेको छ । यी समस्याहरुबाट स्कुलले कसरी मुक्ति पाउला ? फिल्मको कथा यसकै निष्कर्षसहित सकिन्छ  । तर , निष्कर्ष दर्शकलाई चमत्कारिक लाग्छ । वर्षभरी समस्यैसमस्याले गाँजेको स्कुलका सबै विद्यार्थी एसइईमा परीक्षा उतीर्ण हुनु, अझ जिल्ला टप पनि त्यही स्कुलबाट हुनुले निर्देशकको विचारमै अलमल देखाउँछ । निर्देशकले फिल्ममार्फत सरकारी विद्यालयको बेथिति देखाउन खोजेकी हुन् भने अन्त्य चाहिँ  किन चमत्कारपूर्ण गरिन् ? निजी होस् या सामुदायिक केही गरे जहाँ पनि सफलता सम्भव छ भन्ने देखाउन खोजेकी हुन् भने पनि उनले देखाएको सफलता र परिवर्तन त्यति छोटो समयमा हासिल गर्न सकिँदैन भन्ने यथार्थबारे उनी जानकार हुनुपर्ने थियो।

‘छक्कापन्जा–३’ यसअघिका दुई सिरिजभन्दा सुधारिएको छ तर उत्कृष्ट होइन । फिल्ममेकिङका हिसाबले यसपल्ट दीपक–दीपा गम्भीर देखिएका  छन् तर सफल होइन।

यो फिल्मको विषयवस्तु गम्भीर भए पनि उठान र प्रस्तुति यति सतही छ कि त्यसको गम्भीरताले दर्शकलाई कमै छुन्छ बरु हल्काफुल्का र अनुप्रास मिलेका संवादले दर्शक बेलाबेला हाँसिरहन्छन् । भनिरहनु नपर्ला, दीपकराज गिरीले लेख्ने फिल्मको बलियो मेरुदण्ड नै संवाद हो । भलै ,फिल्म दृश्यभाषाको माध्यम हो तर उनका फिल्ममा दर्शक हँसाउने बलियो सहारा दृश्यभन्दा पनि संवाद हो । यही कारण उनी रेडियो नाटकको पृष्ठभूमिबाट कलाकारितामा जमेको यथार्थलाई दर्शकले सम्झिइहाल्छन् । जे होस्, फिल्म रेडियो नाटकभन्दा विल्कुलै फरक माध्यम हो र यहाँ संवादमार्फत दृश्यको कल्पनाभन्दा पनि दृश्यमार्फत संवादको कल्पना बढी गरिन्छ भन्ने सत्य उनले भुल्नुहुन्न।

तर,विडम्बना  यो पटक  पनि उनले आफ्नो त्यही विशेषतालाई लादेका छन् ।  फिल्मको संवाद र पात्रहरुको भीड व्यवस्थापनमै आफ्नो ध्यान बढी दिएका छन् । जसकारण फिल्मको विषयले न गहिराई चुम्न सकेको छ, न पटकथा चुस्त हुन सकेको छ । फलस्वरुपः फिल्म उत्कृष्ट हुने अवसरबाट चुकेको छ।

अझ महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बनाएको सिरियल ‘शिक्षा’ हेरेका दर्शकलाई त यो फिल्मको विषय फिटिक्कै नौलो लाग्दैन । बरु फिल्मभन्दा त्यो सिरियल नै बढी स्तरीय र उत्कृष्ट महसुस हुन्छ । त्यो सिरियल पनि सरकारी विद्यालयकै बेथितिमा केन्द्रित थियो, यो फिल्म पनि त्यसमै छ । सिरियल हेरेका दर्शकले धेरै दृश्यहरु त्यहाँबाट प्रभावित महसुस हुन्छ । नपत्याए, सिरियल अझै पनि युट्युबमा खोजेर हेर्न सकिन्छ।

‘छक्कापञ्जा’का अघिल्ला सिरिजहरुले फिल्ममार्फत महिलालाई होच्याएको आरोपमा चर्को आलोचना खेपेका थिए । अझ निर्देशक दीपाश्री निरौलामाथि त ‘महिलाले नै बनाएको महिला विरोधी फिल्म’सम्मको टिकाटिप्पणी  भएको थियो । त्यो टिकाटिप्पणीले पोलेर होला, यसपल्ट दीपाश्रीले फिल्ममा दिपिकाको भूमिका बलियो देखाउन खोजेकी छिन् । स्कुलको मुहार परिवर्तन गर्ने अभियानमा महिला पात्रको सहारा लिएकी छिन् । सुरुमा बलियो आभाष गराए पनि अन्त्यमा उनैले दीपिकाको पात्रलाई कमजोर बनाएर उभ्याइदिएकी छिन्।

फिल्मको अन्त्यमा स्कुल शुद्धिकरणका लागि दिपिकाले जुन उपाय अपनाउँछिन् त्यसको सुझाव दिने चाहिँ दिपकराज भइदिन्छन् ।  जबकी त्यो काम उनले दिपकराजको सुझाव र सहयोग विना पनि गर्न सक्थिन् । र, यसरी देखाइदिएको भए महिलाको चरित्र चित्रणलाई लिएर उनलाई धाप मार्न सकिन्थ्यो । तर, यो अवसरबाट पनि उनी चुकिन् ।  सायद यो अवसरबाट चुक्नमा दीपकराजकै पटकथाले बढी काम ग¥यो । किनभने दीपकराजले फिल्ममात्रै लेखेका होइनन्, आफ्नो भूमिका पनि आफै लेखेका हुन्।

यो फिल्मभित्र सतहीमा भए पनि सरकारी विद्यालयका जति समस्याहरु देखाइएका छन्, दर्शकलाई प्रायःजसो यथार्थ नै महसुस हुन्छ । गाउँघरमा देखे–सुनेको जस्तो नै लाग्छ । समस्याको संकलनमा दीपकराजले मेहनत गरेको प्रष्टै भान हुन्छ । यसका लागि उनी प्रशंसाका हकदार हुन् । तर, केही केही दृश्य भने हदै लाग्छन् ।  जस्तो, छोराको साटो बाउ स्कुल पढाउन जानेसम्मको दृश्य चाहिँ अस्वाभाविक नै लाग्छ।

सरकारी विद्यालयमा बेथितिहरु छन्, समस्याहरु छन् तर यो पढ्नै नहुने र पढाउनै नहुने ठाउँ पनि होइन । फिल्मले दर्शकको मनोविज्ञानमा गहिरो प्रभाव पारिरहेको हुन्छ । त्यसैले यस्ता गम्भीर विषयमाथि फिल्म बनाइरहँदा निर्देशकले दर्शकमा सिर्जना हुने मनोविज्ञानको पनि ख्याल गर्नुपर्छ । फिल्मको अन्त्य जसरी देखाइएको होस्, ‘छक्कापञ्जा–३’ हेरेर हल बाहिर निस्किँदा सरकारी स्कुल भनेको पढ्नलाई अनुपयुक्त र खत्तम हो भन्ने भान पनि दर्शकलाई हुन्छ । दर्शकले यस्तो महसुस गर्नुको कारण चाहिँ  विषयवस्तुलाई गहिराई.मा नपुर्याइ  प्रस्तुत गर्नु नै हो।

‘छक्कापञ्जा’ ब्राण्डका प्रशंसकहरुलाई कमजोरीका बाबजुद पनि यो फिल्म हेरुन्जेल ‘बोरिङ’ लाग्दैन । भलै कमेडीको अभाव खड्किएला तर केदार घिमिरे, बुद्धि तामाङ, जयनन्द लामा र विल्सनविक्रम राईको ‘कमिक टाइमिङ’ले दर्शकलाई इन्गेज गराउँछ । दीपकराजको अभिनय पहिलेजस्तै औसत छ, माथि उक्लिएको छैन । दीपका प्रसाईको अभिनय नेपाली बोल्दा स्वाभाविक देखिन्छ, अंग्रेजी बोल्दा अस्वाभाविक । शिशिर वाङ्देल पनि चरित्रमा फिट छन् । फिल्ममा रहेका दुवै गीत मिठा छन् तर उनीहरुको प्रयोग कथाको आवश्यकता विनै भइदिन्छ । पुरुषोत्तम प्रधानको क्यामेरामा फिल्मको सेटिङ सुन्दर देखिएको छ।

तुलनात्मक रुपमा ‘छक्कापन्जा–३’ यसअघिका दुई सिरिजभन्दा सुधारिएको छ तर उत्कृष्ट होइन । फिल्ममेकिङका हिसाबले यसपल्ट दीपक–दीपा गम्भीर देखिएका छन् तर सफल होइन । भद्दा मजाक र चेतहीन कमेडीको कुलत पनि छाडेजस्तो छ । आशा छ, अब राम्रो फिल्म बनाउने लत बसाल्नेछन् । यसपटक  चुके पनि ‘छक्कापन्जा–३’ले संकेत भने यस्तै गर्छ।







यसमा तपाईको मत


अन्य समाचार

भिभोको पहिलो AR ग्लास

भिभोको पहिलो AR ग्लास

चाइनिज कम्पनी भिभोले आफ्नो पहिलो अग्मेन्टेड रियालिटी ग्लास अर्थात् AR ग्लासको बारेमा जानकारी प्रदान गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा...

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८औं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्य ज्यू लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको...

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमन, नेपालको वृहत् एक्टिभेसन एजेन्सीले मुम्बई, भारतमा आयोजित फ्लेम अवार्डस् २०१९ मा विजय प्राप्त गरेको छ । एजेन्सीले विभिन्न विधाहरुमा...

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । ...

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...