८ वैशाख २०८१ शनिबार
अर्थ

हकप्रद सेयर जहाँबाट पनि भर्न सकिने

काठमाडौं- अब लगानीकर्ताले जहाँबाट पनि सम्बन्धित कम्पनीको हकप्रद सेयर भर्न पाउने भएका छन्। वेबसाइटबाट हकप्रदको सेयरको फारम डाउनलोड गरी सम्बन्धित कम्पनीले जारी गरेको सेयर भर्न पाउने व्यवस्था मिलाउन नेपाल धितोपत्र बोर्डले निर्देश गरेको छ।

हकप्रद सेयरको फारम निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट समेत डाउनलोड गरी भरेर बुझाउन सक्ने व्यवस्था गर्न नियमनकारी निकाय बोर्डले मर्चेन्ट बैंकरलाई निर्देशन दिएको छ।  बोर्डले बुधबार मर्चेन्ट बैंकलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

बोर्डको निर्देशनले प्रक्रियालाई छिटो र सहज बनाउने लगानीकर्ताको भनाइ छ। 'हकप्रद निष्कासनको क्रममा सेयरधनीको संख्या र ठेगानालाई आधार मानी सेयरधनीको पहुँच हुने गरी संकलन केन्द्र तोक्ने र दरखास्त फारामको हकमा निष्कासनकर्ता कम्पनी तथा निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट समेत डाउनलोड गरी भरेर बुझाउन सक्ने व्यवस्था गर्ने,' बोर्डले मर्चेन्ट बैंकरलाई दिएको निर्देशनमा उल्लेख छ।

अहिले लगानीकर्ताले हकप्रद सेयर दरखास्त फारम लिन, बुझाउन र रकम जम्मा गर्न अनावश्यक भन्झट बेहोर्दै आएका छन्। यस्तो व्यवस्थाले लगानीकर्तालाई सजिलो हुने सेयर विश्लेषक रबिन्द्र भट्टराईले बताए। 'विदेशमा भएका र दुर्गम क्षेत्रमा बसोबास गर्नेले हकप्रद सेयर खरिदका लागि वेबसाइबाट फारम डाउनलोड गरी कुरियर मार्फत पनि सम्बन्धित कम्पनी वा निष्कासन तथा बिक्री प्रबन्धकलाई पठाउन सक्नेछन्,' उनले भने, 'यसले लगानीकर्तालाई थप सहज बनाउने छ।'

बोर्डले बैंक तथा वित्तीय संस्था मर्ज भएर एकीकृत कारोबार सुरु भएलगत्तै सेयर कारोबारको व्यवस्था मिलाउन पनि सूचीकृत कम्पनीलाई भनेको छ।

हाल एकीकृत कारोबार सुरु भएपछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मात्रै सेयर कारोबार खुल्ला गर्न पाउने व्यवस्था छ। 'सूचीकृत कम्पनीहरुको गाभ्ने/गाभिने कार्य सम्पन्न भई एकीकृत कारोबार सुरु भएसँगै सेयर कारोबार सुरु गर्ने व्यवस्था गर्ने र सो हुन नसकेमा बढीमा १५ दिनभित्र अनिवार्य रुपमा कारोबार हुने व्यवस्था गर्ने,' बोर्डले सूचीकृत कम्पनीलाई दिएको निर्देशनमा भनेको छ।

बोर्डले मर्जर तोडिएको १५ दिनभित्रै सेयर कारोबार खुला गर्ने व्यवस्था मिलाउन पनि सूचीकृत कम्पनीलाई निर्देशन दिएको छ।

बोर्डको निर्देशनले नेपाल राष्ट्र बैंकको निर्णय प्रक्रियालाई छिटो र सहज बनाउन दबाब परेको छ। हाल केन्द्रीय बैंकले मर्जपछिको एकीकृत कारोबार र मर्ज तोडिएका संस्थाको सेयर कारोबार खुलाउन तजबिजमा निर्णय गर्दै आएको छ।

ठोस मापदण्डबिनै केन्द्रीय बैंकले कुनै संस्थालाई एक हप्तामै सेयर कारोबारको अनुमति दिने गरेको छ भने कुनैले वर्ष दिन बित्दासमेत सेयर कारोबार खुलाउन अनुमति पाउँदैनन्। बोर्डको यो निर्देशनले लगानीकर्ताको हित हुने विश्लेषकको भनाइ छ।

संगठित संस्थाको सार्वजनिक निष्कासनको क्रममा दरखास्त फारम लिन, बुझाउन र रकम जम्मा गर्न संकलन केन्द्रको संख्या कम भई अनावश्यक भन्झट बेहोर्नुपरेको, हकप्रद सेयरबापत प्राप्त हुने खण्डित सेयर तथा भौतिक तथा अभौतिक (डिम्याट) रुपमा रहेको सेयर अनुसार हकप्रद सेयर भर्दा समस्या भएको र हकप्रद सेयरका लागि संकलन केन्द्र कम हुँदा आ‰नो हक प्राप्तिमा असहज भएको र मर्जरमा रहेका कम्पनीको सेयर कारोबार लामो समयसम्म रोकिँदा लगानीकर्ता मारमा परेको लगायत गुनासा बोर्डमा प्राप्त भएका र धितोपत्र निष्कासनका सम्बन्धमा बोर्डबाट गरिएको स्थलगत निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधारका लागि सिडिएस एन्ड क्लियरिङ, मर्चेन्ट बैंक र सूचीकृत कम्पनीलाई यस्तो परिपत्र जारी गर्नुपरेको बोर्डको भनाइ छ।

बोर्डले सिडिएस एन्ड क्लियरिङलाई सर्वसाधारण लगानीकर्ताले नयाँ हितग्राही खाता खोल्दा अनिवार्य रुपमा बैंक खाता राख्ने व्यवस्था तत्काल मिलाउन र हितग्राही खाता  खोलिसकेका लगानीकर्ताको हकमा बैंक खाता सम्बन्धी विवरण अनिवार्य रुपमा अद्यावधिक गर्ने व्यवस्था गर्न पनि भनेको छ।

'संगठित संस्थाको प्राथमिक निष्काशन तथा नयाँ निष्कासनको क्रममा दरखास्त फारम लिन, दरखास्त फारम बुझाउन तथा रकम जम्मा गर्न संकलन केन्द्रको संख्या कम भई अनावश्यक भन्झट बेहोर्नुपरेको भनी लगानीकर्ताबाट गुनासो आइरहेको सन्दर्भमा अर्थतन्त्र र जनसंख्याको केन्द्रलाई दृष्टिगत गरी सर्वसाधारण लगानीकर्तालाई सहज रुपमा फारम प्राप्त गर्ने तथा बुझाउन सक्ने गरी पर्याप्त मात्रामा संकलन केन्द्रको व्यवस्था गर्ने। साथै प्रत्येक संकलन केन्द्रमा जेष्ठ नागरिक, अपांग तथा महिला लगानीकर्ताको लागि सहज रुपमा अर्थात आवश्यकतानुसार छुट्टै काउन्टर/लाइनको व्यवस्था गरी फारम भर्न सक्ने व्यवस्था गर्ने/गराउने,' बोर्डले मर्चेन्ट बैंकरलाई दिएको निर्देशनमा उल्लेख छ। 'सर्वसाधारण लगानीकर्ताबाट हकप्रद सेयरबापत प्राप्त हुने खण्डित सेयरको आवेदन गर्दा कतिपय संगठित संस्थाबाट खण्डित सेयर भएका लगानीकर्तालाई पूर्ण रुपमा आवेदन दिने व्यवस्था गरिए तापनि धेरै संगठित संस्थाको खण्डित सेयरबापत प्राप्त हुने हकप्रद सेयर आवेदन गर्न नपाइएको भनी गुनासो प्राप्त भइरहेको सर्न्दभमा साबिकका सेयरधनीको हकबापतको सेयर खण्डित हुने भएमा खण्डित सेयरलाई पूर्ण कित्ताको रुपमा नपुग रकमसमेत लिई आवेदन दिने व्यवस्था गर्ने/गराउने र त्यसो गर्दा सम्बन्धित कम्पनीको पुँजी संरचना परिर्वतन हुने अवस्था आएमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र थप धितोपत्र बोर्डमा दर्ता गरिने बेहोरा वार्षिक साधारण सभाबाट निर्णय गर्न/गराउन,' पनि मर्चेन्ट बैंकलाई निर्देशन दिएको छ।

यसैगरी, एकै सेयरधनीको भौतिक तथा अभौतिक (डिम्याट) रुपमा रहेको सेयर अनुसार हकप्रद सेयर भर्दा समस्या भएको भन्नेे गुनासो प्राप्त भएको सर्न्दभमा निष्कासन तथा बिक्री प्रबन्धकहरुले लगानीकर्ताको सेयर भौतिक तथा अभौतिक (डिम्याट) जुन रुपमा कायम रहेको भए तापनि एउटैमात्र आवेदनमार्फत दरखास्त दिने व्यवस्था गर्ने, सर्वसाधारण लगानीकर्ताबाट सार्वजनिक सेयर फारम भरी चेक बुझाउँदा स–सानो रकमको चेकमा पनि क्लियरिङ शुल्क लिने गरेको देखिएकोले सार्वजनिक निष्कासनमा चेक लिँदा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुपको क्लियरिङ शुल्कमात्र लिने व्यवस्था गर्न/गराउन पनि भनिएको छ।

प्रकाशित: ६ आश्विन २०७३ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App