७ वैशाख २०८१ शुक्रबार
अर्थ

सेजका उद्योगलाई वैकल्पिक माध्यमबाट बिजुली

काठमाडौं- भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना हुने उद्योगलाई विद्युत प्राधिकरणले मागे अनुसारको विद्युत उपलब्ध नगराए वैकल्पिक माध्यमबाट भए पनि विद्युत उपलब्ध गराउने योजनामा विशेष आर्थिक क्षेत्र विकास समिति रहेको छ। डेडिकेटेड फिटरबाट २० मेगावाट विद्युत उपब्ध गराउने सहमति भए पनि प्राधिकरणले तत्काललाई उक्त विद्युत उपलब्ध गराउन नसक्ने भएको छ।

अहिले भैरहवा सेजमा विद्युत पुर्‍याउन प्राधिकरणले काम गरिरहेको र कति विद्युत उपलब्ध गराउँछ भन्ने यकिन नभएको समितिका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए। 'विद्युत उपलब्ध गराउन सबस्टेसन बनिसकेको छ,' भट्टले भने, 'त्यस क्षेत्रमा आवश्यक विद्युत उपलब्ध नभएकाले सेजमा कति दिन सक्छ यकिन भएको छैन।' प्राधिकरणले भनेजति बिजुली उपलब्ध नगराए वैकल्पिक उपायबाट वा अन्य तालिका बनाएर उद्योग सञ्चालनको वातावरण बनाउने भट्टले जानकारी गराए।

केही दिनअघि संसदबाट पारित विशेष आर्थिक क्षेत्र (सेज) ऐनले उक्त क्षेत्रमा स्थापना हुने उद्योगलाई २४ घन्टा विद्युत उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। ऐनमा उल्लेख भए पनि भैरहवा क्षेत्रमा नै २० मेगावाट बराबरको विद्युत तत्काललाई उपलब्ध नरहेको बताइएको छ।

२४ घन्टा विद्युत उपलब्ध गराउन नसके दिनको १६–१७ घन्टा निरन्तर दिने गरी उद्योग चलाउने तयारी भएको भट्टले बताए। 'हामीले उद्योगहरूलाई घरी बन्द गर्ने घरी खोल्ने गरी अप्ठेरो पार्दैनौं,' भट्टले भने, 'निरन्तर १६–१७ घन्टा उद्योग सञ्चालन हुने बनाउँछौं।'

त्यसैगरी सेजभित्र सोलार लगायत वैकल्पिक विद्युत पनि उपलब्ध गराइने भट्टले बताए। यसबाट त्यस क्षेत्रमा केही न केही सहयोग पुग्नेछ। 'बाहिरका र सेजभित्र स्थापना हुने उद्योगमा पक्कै पनि फरक हुनेछ,' भट्टले भने, 'सेजभित्रका उद्योगले धेरै सुविधा पाउने छन्।'

भैरहवा सेजमा १३ वटा उद्योग सञ्चालनमा आउँदै छन्। समितिले विभिन्न १३ वटा उद्योगसँग सम्झौता गरिसकेको छ। भट्टका अनुसार ती उद्योगहरूले दर्ताको काम गरिरहेका छन्। भैरहवा सेजमा जुत्ता–चप्पल, प्लास्टिक, साबुन, जुस, फुड एन्ड बेभरेज लगायत उद्योग सञ्चालन हुनेछन्। उक्त सेजमा हुलास स्टिल, जगदम्बा, सिद्धार्थ प्लास्ट, किरण सुज जस्ता चर्चित कम्पनीका उद्योग स्थापना हँुदैछन्।

उद्योग सञ्चालनको लागि अहिलेको सबैभन्दा ठूलो समस्या ऊर्जा हो। देशभर विद्युतको समस्या भएको अवस्थामा सेजभित्र सञ्चालन हुनेलाई सरकारले नियमित रुपमा विद्युत उपलब्ध गराउने ऐन मै उल्लेख छ।

विद्युतबाहेक सेजमा स्थापना हुने उद्योगहरूले अन्य धेरै सुविधा पाउने छन्। उद्योगले निर्यात गर्ने वस्तुमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था छ। निर्यात गर्ने तयारी कच्चा पदार्थ, प्लान्ट, यन्त्र उपकरण, पार्टपुर्जा, तीनवटासम्म सवारी साधनमा भन्सार महसुल र स्थानीय कर छुटको व्यवस्था राखिएको छ। सेजमा स्थापना भएका उद्योगले ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने छ। उद्योगको प्रकृति हेरी अुनमतिपत्रको अवधि बढीमा ३० वर्षसम्म हुनेछ।

त्यस्तै विदेशी लगानी आकर्षित गर्न विदेशी मुद्रामा मुनाफा लैजान सक्ने, विदेशी मुद्रामा खाता खोल्न र कारोबार गर्न सक्ने सुविधा दिइएको छ। एक करोड वा सो बराबरको लगानी ल्याउने विदेशीको परिवारलाई आवासीय भिसा उपलब्ध गराउने व्यवस्था ऐनमा छ।

प्रकाशित: ६ आश्विन २०७३ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App