१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा विराटनगर र पोखरा भिड्ने

काठमाडौं – पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यसैगरी दोस्रो दिन कात्तिक १० गते शनिबार दुई खेल हुनेछन्। जसमा पहिलो खेल चितवन राइनोज र बुटवल ब्लास्टर्स तथा दोस्रो खेल काठमाडौं रोयल्स र धनगढीबीच हुनेछ। कात्तिक ११ गते विराटनगरले धनगढीसँग खेल्नेछ। सोही दिन अर्को खेलमा बुटवलले पोखरा पल्टनसँग खेल्नेछ। लिग चरणका शीर्ष चार टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन्।

प्रतियोगिताका लागि मैदान लगायत अन्य तयारी अन्तिम चरणमा पुगको छ।  प्रतियोगितको विजेताले २५ लाख पाउने पिपिएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक एक थान मोटरसाइकल पाउनेछन। प्रतियोगिताको बैकिङ पार्टनर नबिल बैक रहेको छ भने हस्पिटालिटी पार्टनर ओयो र मेडिकल पार्टनर ग्राण्डी अस्पताल रहेका छन्। यसअघि प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिइएको छ।

प्रतियोगितामा भाग लिने ६ टोली, स्वामित्व र मार्की खेलाडीको टुंगो लागिसकेको छ। प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन्। चितवन राइनोज टोलीको स्वामित्व युवा व्यावसायी राहुल महरासहितको टोलीले गरेको छ। मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छन्।

त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन्। बुटवल ब्लास्टर्स टोली स्वामित्व रामबहादुर विष्टसहित युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी रहेका छन्। पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहित टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर रहेका छन्। एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छन्। हुलास काठमाडौं रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन्।

प्रकाशित: २९ आश्विन २०७५ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App