coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्क्रब टाइफस रोगको संक्रमण बढ्दै

डडेल्धुरा – पछिल्लो समय स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गएको छ। करिब तीन साता पहिले अजयमेरु गाउँपालिकाको वडा नं.४ मा पहिलो पटक देखिएको स्क्रब टाइफस रोग वडा नं.१ र ५ सँगै नवदुर्गा गाउँपालिकामा पनि यो रोग देखा परेको छ। अजयमेरु गाउँपालिकाकोे भुलकुडा, लेटम र खतेडा गाउँमा देखा परेको छ भने नवदुर्गा गाउँपालिकाको ढिलेलीमा पनि स्क्रब टाइफस रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

स्क्रब टाइफस रोगबाट संक्रमण भएका तीन जना बिरामीको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ। अर्का एक जनाकोे काठमाडौंमा उपचार भइरहेको उनका आफन्तले बताएका छन्। स्क्रब टाइफस रोगकै कारण डडेल्धुरामा असोज ३ गते अजयमेरुका एक जनाको मृत्यु भइसकेको छ। उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार गराइरहेका बिरामीको अवस्था सामान्य रहेको उप क्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेनडेण्ट डा. जितेन्द्र कँडेलले बताए।

स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गएपछि अजयमेरु गाउँपालिकाले बिरामीको निःशुल्क उपचार गर्ने जनाएको छ। स्क्रब टाइफस रोगको लक्ष्यण देखा परेमा तुरन्त उप क्षेत्रीय अस्पतालमा चेकजाँच गराउन गाउँपालिकाबासीलाई गाउँपालिका अध्यक्ष उमेश भट्टले सबैमा आग्रह समेत गरेको बताए। आर्थीक अवस्था कमजोर भएका कारण स्वास्थ्य उपचार गराउँन नसक्नेलाइ सम्बन्धीत वडा कार्यालय वा गाउँपालिकामा जानकारी गराई स्वास्थ्य संस्थासम्म लैजाने एम्बुलेन्सका साथै उपचारमा लाग्ने सम्पूर्ण खर्च समेत गाउँपालिकाले गर्ने अध्यक्ष भट्टले बताए।

गाउँपालिकामा स्वास्थ्य चौकीका साथै सम्बन्धीत वडा कार्यालयको स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली संक्रमण स्थलमा खटाइसकेको अध्यक्ष भट्टले भने। प्रदेश स्वास्थ्य मन्त्रालयलाई समेत रोगका बारेमा जानकारी गराइसकेकाले अब विज्ञ सहितको टोली संक्रमण देखिएको स्थलमा आउन सक्ने बताउँदै अध्यक्ष भट्टले रोगको पहिचान गर्ने किटको अपुग भएकाले सोको माँग गरी घटनास्थलमै गई बिरामीको पहिचान गर्नका लागि गाउँपालिकाले तयारी गरिरहेको बताए।

नवदुर्गा गाउँपालिकामा पनि स्क्रब टाइफस रोग देखा परेकाले सजगता अपनाउनुका साथै ज्वरो आउदा वा अन्य लक्षण देखा परेमा स्वास्थ्य संस्थामा जान नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले आग्रह गरेको बताए। मुसाबाट यस रोगको संक्रमण फैलिने तथा यो सरुवा रोग भएकाले सचेत रहन जिल्ला स्वास्थ्य कार्यालयले स्थानिय आग्रह समेत गरेको छ। स्क्रब टाइफस रोग लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जिउमा रातो दाग देखा पर्ने, टाउको धेरै दुख्ने लक्ष्ण हुने डा.कंडेलले बताए।

यससँगै भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालिकामा भने मलेरिया रोग देखा परेको छ। दसैं तिहारका समयमा रोजगारीका लागी भारत पसेका स्थानीयहरू घर फर्कदा मलेरियाको संक्रमण आलिताल गाउँपालिका भित्रीएको छ। चाडपर्वका बेला भारतबाट घर आएका आलितालका पुर्ण जोशीलाई मलेरिया देखिएको उप क्षेत्रीय अस्पताल डडेल्धुराका ल्याव अधिकृत ईश्वरीराज भुसालले बताए।  उडुस र उपियाबाट रोग सर्ने भएकाले घरमा सरसफाई गर्नुका साथै सामान्य ज्वरो आउँदा स्वास्थ्य संस्थामा उपचारका लागि आउन स्वास्थ्यकर्मीले आग्रह समेत गरेका छन्। 

प्रकाशित: २९ आश्विन २०७५ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App