coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

संस्थानको गोदाम भरिभराउ, गाउँका डिपो खाली

जुम्ला खाद्य संस्थानमा रहेको चामल । तस्बिरः डिबी/नागरिक

जुम्ला – दसैं तिहारको अवधिभर जुम्लास्थित खाद्य संस्थानको गोदाममा चामल भरिभराउ भएपनि गाउँका गोदाम खाली नै छन्। जुम्लाको धापा र जुम्लाकोट डिपोमा संस्थानको चामल छैन। संस्थानबाट आउने अनुदानको चामल नआउँदा बजारमा महंगो चामल खरिद गरेर दसैं मनाउनु परेको स्थानीयको गुनासो छ।

खाद्य संस्थाका निमित्त प्रमुख थापाका अनुसार धापा र जुम्लाकोट डिपोमा २५–२५ सय क्वीन्टलको कोटा हो। अहिलेसम्म डिपोमा चामल आएको छैन, निमित्त प्रमुख थापाले भने, “संस्थानको सदरमुकामस्थित गोदाममा चामल फालाफाल छ।” गाउँका डिपोमा टेण्डर आव्हान गरेर ठेकेदारले चामल ल्याउने भएकोले संस्थान शाखा जुम्लाको ध्यान पुग्न सकेको छैन्। 

गाउँको डिपोमा आउने चामल बीचैमा बिक्री हुने, डिपोमा आएपनि नजिकैका व्यापारीले बिक्रीमा राख्ने र समयमा चामल नपुग्ने भएकोले संस्थानको चामलप्रति स्थानीयको चासो देखिदैन्, स्थानीय मुनाल बोहोराले भने, “तर नियमित रुपमा आउनुपर्ने चामलको खोजीखबरी हुनुपर्छ, त्योे हुन नसक्दा बाहैै्र महिना गाउँका डिपोमा चामल अभावनै देखिन्छ।” दुर्गम क्षेत्रका बासिन्दालाई मध्यनजर गर्दै डिपो स्थापना भएको भएपनि डिपोमा चामल ल्याउने सवालमा निकै लापारबाही हुने गरेको दुखेसो स्थानीयको छ।

सदरमुकाम खलंगामा जुम्ला भरी आवश्यक पर्ने खाद्यान्न मौज्दात रहेको संस्थान प्रमुख थापा बताउँछन।  उनका अनुसार नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लामा ५ सय ५७ क्वीन्टल चामल मौज्दात छ। गाउँका डिपो खाली रहँदा सदरमुकाम खलंगामा रहेको चामलको कुनै अर्थ नरहेको स्थानीय बताउँछन। सदरमुकामको गोदाममा जापनिज मोटो, उसीना र सोना मन्सुली ब्राण्डको चामल मौज्दात छ।  खाद्य संस्थान क्षेत्रीय कार्यालय नेपालगंज, राजापुर र सुर्खेतदेखि वार्षिक १० हजार क्वीन्टल चामल जुम्लाको लागि आउने गरेको छ। 

जुम्ला सडक मार्गसँग जोडिएकोले खाद्य संस्थानको चामल किन्नेको संख्यामा निकै गिरावट आइसकेको छ।  अहिले जिल्लाका दुर्गम गाउँसम्म व्यापारीले दैनिक उपभोग्य सामान पुर्याउँदै आएका छन। तर डिपोको लागि आउने चामल समयमै आउनुपर्ने स्थानीयको माग छ। नजिकैको बजारमा महंगो चामल भएपनि उपयोग गर्दै आइरहेको स्थानीयले बताए। अहिले दैनिक न्युनतम ५ देखि अधिकतम १० क्वीन्टलसम्म चामल बिक्री हुँदै आएको छ।

खलंगामा रहेको संस्थान कार्यालयबाट गोठीचौर, पातारासी, तातोपानी र चन्दननाथ नगरपालिका क्षेत्रका बासिन्दाले मात्रै चामल लिने गरेका छन्। यहाँका कनकासुन्दरी, सिजा, हिमा र तिला गाउँपालिकाका बासिन्दाले संस्थानको चामल देख्न समेत पाउदैन्न। सोना मन्सुली प्रतिकेजी ५० रुपैयाँ, उसिना मनसुली प्रतिकेजी ४२ रुपैयाँ र जापानी चामल प्रतिकेजी ६१ रुपैयाँ २५ पैसामा बिक्री वितरण हुँदै आएको छ।

खाद्य संस्थामा रहेको जापानी चामल बिक्री भएको छैन। प्रतिकेजी ४४ रुपैयाँबाट एक्कासी ६५ रुपैयाँमा वृद्धि भएपछि बिक्री नभएको हो। गाउँमा डिपोमा चामल आए नआएको संस्थान शाखा जुम्लाका कर्मचारीलाई कुनै जानकारी छैन।

प्रकाशित: २९ आश्विन २०७५ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App