१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीले गोली हानी पक्रिएका गुण्डा राईलाई कांग्रेस नेताको संरक्षण, संधै न्युनतम धरौटीमा रिहा

गुण्डा नाइके जसवन्त भनिने अश्विनीकुमार राई

काठमाडौं— काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक विभिन्न जघन्य अपराधमा पक्राउ परि प्रमाण र पीडितको किटानी जाहेरी सहित  मुद्धा बुझाएका अभियुक्तलाई बारम्बार अति न्युन धरौटीमा छाडेको खुलेको छ।

प्रहरीले गोली प्रहार गरी बिहीबार बिजुलीबजार र बबरमहल नजिकबाट नियन्त्रणमा लिएका अभियुक्तलाई ज्यानमार्ने उद्योग मुद्दामा अदालतले  ४५ हजार र १५ हजार धरौटीमा रिहा गरेको खुलेको हो। महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्मर मुनि दुई राउण्ड गोली हानेर पक्रेका बाफल बस्ने गुण्डा नाइके ३० वर्षीय जसवन्त राई भन्ने अश्विनकुमार राईलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई वर्षअघि दुई हजार र पाँच हजार धरौटीमा छोडेको थियो।

अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले घटना लगत्तै नागरिकसँग कंलकी, कालिमाटी र कुलेश्वर, बाफल, सामाखुसी, बालाजु लगायतका क्षेत्रमा आतंक मच्चाएको एक गुण्डालाई पक्रेको बताएका थिए। उनका अनुसार विभिन्न घटनामा संलग्न रहेर पक्राउ परिसकेका राई ज्यान मार्ने उद्योगमा धरौटी बुझाएर रिहा भएपछि पुनः असुलीमा सक्रिय थिए।

राई गत साउन ८ मा ड्रिम गेष्ट हाउसका संचालक छेसाङ वाईवा समेतलाई खुकरी प्रहार गरेको ज्यानमार्ने उद्योग मुद्दामा फरार थिए। महाशाखाको अपराध टोलीले पछ्याई रहेका राई बिहीबार अदालतमा उपस्थित हुन आएका बेला प्रहरी फन्दामा परेका थिए। अदालतबाट प्रहरीले पछ्याउन थालपछि राईले घटनास्थलमा प्रहरीलाई नै रडले हानेर भाग्ने प्रयास गरेका थिए। त्यति नै बेला प्रहरीले गोली चलाएको थियो। प्रहरीले दाहिने तीघ्रा र घुँडामा गोली लागेका राईलाई तत्काल नियन्त्रणमा लिएर उपचारको लागि वीर अस्पताल लगेको थियो ।

महाशाखाका अनुसार २०७२ फागुन ८ गते र सोही वर्ष साउन १८ गते ज्यानमार्ने उद्योग तथा डाँका मुद्दामा काठमाडौं जिल्ला अदालतमा बुझाएकोमा दुवै घटनामा क्रमस ४५ र १५ हजार बुझाएर रिहा भएका थिए। महाशाखाका अनुसार पहिलो घटनामा राई सहितको समुहले कलंकीमा रहेको स्काई प्यालेस डान्सबारमा विश्वास सल्यानी र सुमित रेग्मीलाई धारिलो हतियार तरवार र बोतलले हानेर साथमा रहेको सरसामान लुटेका थिए। २०७२ चैत्रमा पक्राउ परेका राई  ज्यान मार्ने उद्योग र डाँका मुद्दामा बैशाअ २१ गते धरौटीमा रिहा भएका थिए।

यस्तै २०७२ साउन १८ मा राईकै समूहले कालिमाटीस्थित मनकामना माई यातायात प्रालिका सञ्चालक पञ्कजबहादुर शाहीलाई खकुरी प्रहार गरी लुटपाट गरेको थियो। प्रहरीले अदालतमा बुझाएको ज्यानमार्ने उद्योग र डाँका मुद्दामा २०७२ कार्तिक १३ मा १५ हजार धरौटीमा रिहा भएको महाशाखाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७१ असार र चैत्रमा केही सार्वजनिक मुद्दामा दुई हजार र पाँच हजार धरौटी लिएर छोडेको थियो। महाशाखाका एसपी सहकुल थापाले यथेष्ट प्रमाण सहित अदालतमा बुझाएका दुवै मुद्दामा राई न्युनतम धरौटी बुझाएर छुटेको जानकारी दिए। महाशाखाले घाईते र पीडितको जाहेरीका आधारमा राईको समूहविरुद्ध किटानी जाहेरी सहित अन्य प्रमाण अदालतमा बुझाएको थियो।

पछिल्लो समय गुण्डा नाइके कुमार श्रेष्ठ घैटे प्रहरी मुठभेडमा मारिएपछि फरार रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा काम गर्दै आएका राईको समुहलाई नेपाली काँग्रेसका केन्द्रीय नेताको सर्मथन रहँदै आएकोबारे प्रहरी सूचित छ।

प्रकाशित: १० असार २०७३ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App