coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नारायणहिटी संग्रहालयमा अब सर्वसाधारणले श्रीपेच हेर्न पाउने (फाेटाे/भिडियो)

काठमाडौं– राजतन्त्रको प्रतिकको रुपमा रहेको श्रीपेच सार्वजनिक गरिएको छ। नारायणहिटी राजदरबार संग्रहालय सर्वसाधारणको लागि खुला गरिए पनि श्रीपेच सार्वजनिक गरिएको थिएन। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच श्रीपेच सार्वजनिक गरेका हुन्। अब नारायणहिटी दरबारमा सर्वसाधारणले श्रीपेचको अवलोकन गर्न सक्ने छन्। श्रीपेचलाई बुलेट प्रुफ सिसामा रानीको मुकुट, राजदण्डसहित राखिएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीकका रुपमा रहेको श्रीपेच सर्वसाधारणका लागि प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीले विसं २०६२/६३ को राजनीतिक परिवर्तनपछि संग्रहालयमा परिणत भएको नारायणहिटीमा श्रीपेच सुरक्षित राखिएको र हाल प्रदर्शनमा ल्याई श्रीपेचै छैन कि भन्ने भ्रम हटाइएको बताए। नेपालको इतिहास झल्काउने श्रीपेच, राजदण्ड र अन्य सामग्रीको प्रदर्शनले देशीविदेशी पर्यटक आकर्षित गर्न सकिने उनको भनाई छ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले २०६५ फागुन १५ गते दरबारलाई संग्रहालय बनाइएको तथा हाल श्रीपेच, राजदण्ड, टायरा आदि १२ सामानको थप प्रदर्शनी खुला गरिएको जानकारी दिए।

शक्ति श्रीपेचमा होइन जनतामा हुनुपर्छ : प्रधानमन्त्री ओली

श्रीपेच उद्घाटनपछि अायाेजित कार्यक्रमलार्इ सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले शक्ति जनतामा निहित हुने बताए। उनले भने, ‘शक्ति श्रीपेचमा होइन जनतामा हुन्छ, शक्ति राजदण्डमा होइन मन, अभिमतमा हुन्छ। जनताको मनमा हुन्छ।’

जनतालाई शक्तिशाली हुँ भन्ने थाहा नदिनका लागि यी सबै विधिहरु प्रयोग गरिएको भन्दै ओलीले थपे, ‘यो सबै अनौठोपन खोक्रोपनलाई ढाक्न, ज्ञासलाई ढाक्न, जनताले आफूलाई भ्रमपूर्ण ढंगले बुझोस भन्नका निम्ति हो। आज त्यो भ्रम नेपालबाट उत्रिएको छ र संग्रहालयमा पुगेको छ।’ 

गणतन्त्र प्राप्तीका लागि लामो संघर्ष भएको स्मरण गर्दै ओलीले ती सबै आन्दोलन योगदान र बलिदानहरुको निष्कर्षमा राजदण्ड र श्रीपेच संग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनीको वस्तु बनाएको टिप्पणी गरे। ‘यसमा सहिदहरुको सम्मान भएको छ’, उनले भने। 

प्रकाशित: २९ आश्विन २०७५ २३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App