coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

९० वटा स्वास्थ्य संस्थालाई निःशुल्क नेबुलाइजर

धादिङ – चिकित्सक र औषधी उपकरण नहुदाँ जिल्लाका धेरै स्वास्थ्यसंस्थाहरू आफैं थला परेका छन्। सदरमुकाममै रहेको जिल्ला अस्पताल पनि औषधी उपकरण तथा चिकित्सक नहुदाँ बिजोगम परेको छ। सामान्य बिरामी हुदाँ पनि राजधानी काठमाडौँ धाउनुको बिकल्प छैन। यस्तै समस्यालाई ध्यानमा राखेर धादिङबाट विदेशमा गएर काम गरिरहेका नेपालीहरूले स्वास्थ्य संस्थालाई आवश्यक नेबुलाइजर सहयोग गरेका छन्। 

जिल्ला अस्पताल लगायत धादिङ भर ५२ वटा स्वास्थ्य चौकीहरू र तिनिहरू मातहत रहेका अरु ४० भन्दा बढी स्वास्थ्य इकाइ र युनिटलाई एकैसाथ धादिङ समाज युएइले नेबुलाइजर (बाफ लिने उपकरण) निःशुल्क प्रदान गरेको हो। आफ्नो जिविकोपार्जन र बालबालिकाहरूको सुनौलो भविष्य खोज्दै धादिङबाट परदेशीएकाहरूले गृहजिल्लामा नौलो सामाजिक कामको सुरुवात गरेको धादिङ समाज युएइका अध्यक्ष योगेन्द्र थापाले जानकारी दिए।

हिमाली जिल्लाको रुपमा रहेको धादिङमा जाडो नजिकिँदै गर्दा ग्रामीण क्षेत्रका स्थानीय तथा बालबालिकालाई निमोनिया हुँदा बाफ लिने तथा दमका रोगीलाइ अति आवश्यक पर्ने नेबुलाइजर जिल्ला भरिका स्वास्थ्य सस्थाहरूलाई एकैपटक प्रदान गरिएको अध्यक्ष थापाले बताए। ‘उत्तरी धादिङको विकट क्षेत्रका स्वास्थ्य चौकीहरूमा सामान्य बाफ लिने सेवा समेत नहुँदा दमका रोगीहरूले हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ’, थापाले भने, ‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा देखिएको समस्यालाई मध्यनजर गरेर हामीले नेबुलाइजर अभियान सुरु गरेका हाैं।’ सानो सहयोगले धेरै जनालाई फाइदा पुग्ने भएकाले जिल्ला भरिनै एकैपटक नेबुलाइजर वितरण गरिएको थापाको भनाई छ।

काम खोज्दै धादिङबाट दुबईमा रहेका धादिङबासीहरूको संस्था धादिङ समाज युएइले नेपालीको ठुलो चाडपर्वहरू दसैं, तिहार तथा छठ पर्वको अवसर पारी धादिङका सबै स्वास्थ्य संस्थाहरूमा नेबुलाइजर (बाफ लिने मेसिन) मेसिन हस्तान्तरण गरेका छन्। धादिङबाट रोजगारी खोज्दै दुबई पुगेका धादिङबासीले खाडीमा पसिना बगाएर कमाएको पैसाबाट गाँस कटाएर सहयोग जुटाइ जिल्लाभरीकै लागी नेबुलाइजर खरिद गरेर निःशुल्क प्रदान गरिएको थापाले बताए। नेबुलाइजर वितरण अभियानलाइ धादिङ समाज कतारबाट ६० हजार सहयोग भएको र दुबईमा रहेका ५५ जना धादिङबासीले संकलन गरेको रकमबाट कुल २ लाख ८८ हजार रुपैयाँ लागतमा नेबुलाइजर वितरण गरिएको धादिङ समाज युएइले जानकारी दिएको छ।

यसअघि जिल्ला अस्पताल बाहेकका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा नेबुलाइजर मेसिन नभएकाले धादिङ समाज युएइले वितरण गरेको नेबुलाइजर मेसिन निकै नै उपयोगी हुने सिद्धलेक गाउँपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए। ‘निमोनिया भएका बालबालिका र दम रोगीका वृद्धवृद्धाहरू बाफ लिनकै लागि जिल्ला अस्पताल धाउनुपर्ने, निजी क्लिनिकमा जानुपर्ने अवस्था थियो’ रिजालले भने, ‘अब गाउँ गाउँमा रहेका स्वास्थ्य चौकी, स्वास्थ्य इकाइ तथा युनिटहरूबाटै बाफ लिनेसक्ने भएका छन्।’ यसले विशेष गरी गाउँ गाउँमा रहेका दम रोगीका बिरामीलाई धेरै फाइदा पुग्ने विश्वास दिइएको छ। धादिङ समाज युएइले आगामी दिनमा उत्तरी धादिङका स्थानीयले सेवा पाउने गरी एम्बुलेन्स संचालन गर्नको लागि सहयोग गर्ने समेत लक्ष्य राखेको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App