८ वैशाख २०८१ शनिबार
खेल

हेटौंडामा चङ्गा चेट प्रतियोगिता

हेटौंडामा पहिलोपटक भएको सःशुल्क चङ्गा चेट प्रतियोगिताका विजेता, उपविजेताहरू पुरस्कार पाएपछि सामूहिक तस्बिर खिचाउँदै ।     तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – बडादशैंमा चङ्गा उडाउने संस्कार घट्दै गइरहेका बेला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलो पटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको सःशुल्क प्रतियोगितामा उल्लेख्य रूपमा मकवानपुरका ४७ जना सहभागी थिए।

हेटौंडाका सुनीलकुमार लामा प्रतियोगितामा प्रथम हुँदै नगद दश हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउन सफल भए । प्रतियोगितामा हेटौंडाकै सुनील खड्गी दोस्रो र विनोद खड्गी तेस्रो हुँदै क्रमशः पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ पाए । प्रतियोगितामा उत्कृष्ट चङ्गा ट्रफी कृष्णबहादुर लामाले पाउन सफल भए।

नेपाली संस्कृतिको जगेर्ना गर्दै बचत रकम सामाजिक कार्यमा खर्चिने उद्देश्यले जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडाले कार्यक्रम आयोजना गरेको हो । हेटौंडा १, जरुवाटोलको खुला मैदानमा भएको प्रतियोगिताका विजेता, उपविजेताहरूलाई संस्थाका अध्यक्ष रवीन्द्र शाही, उपाध्यक्ष विनोद शाहीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको उद्घाटन गरेपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले संस्कृति जगेर्ना गर्दै सामाजिक कार्य गर्नेलाई आवश्यक सहयोग गर्ने बताए।

२०७० सालमा स्थापना भएको संस्थाले हेटौंडाको श्रमिक मावि, ज्ञानदा मावि, बाराही आधारभूत विद्यालय, सिद्धार्थ उमावि र मकवानपुर गढीको सरस्वती निमाविमा २१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । छात्रवृत्ति प्रदान गर्नका लागि वार्षिक करिब एक लाख १५ हजार रुपैयाँ खर्च हुने गरेको शाहीले जानकारी दिए । ‘प्रतियोगिताबाट संकलित रकमले हामीलाई छात्रवृत्ति वितरणमा समेत टेवा पुग्ने विश्वास लिएका छौं ,’ उनले भने।

हेटौंडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, संस्थाका उपाध्यक्ष विनोद शाहीले प्रतियोगिताबाट संस्कृति जगेर्ना, विपन्न बालबालिकालाई छात्रवृत्तिका लागि सहयोगसँगै मनोरञ्जनमा टेवा पुगेको दाबी गरे । सहभागी दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैंया तोकिएको चङ्गा चेट प्रतियोगितामा सहभागी सबैलाई चङ्गा, लटाई र टी–सर्ट प्रदान गरिएको थियो।

प्रकाशित: २९ आश्विन २०७५ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App