१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

शक्ति माग्न शक्तिपीठ

दसैंकाे पाचाैंदिन अाइतवार काठमाडाैंकाे भद्रकाली मन्दिरमा पूजाका लागि लाम लागेका भक्तजन। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं–दसैंका बेला देशभरका शक्तिपिठमा श्रद्धालुहरुको भिड लाग्ने गर्छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमी (नवरात्रभर)सम्म विभिन्न शक्तिपिठमा  आराधना गर्नेहरुको संख्या पनि बढ्दो छ। 

शक्तिपिठलाई देवीको विशेष शक्ति भरिएको ठाउँका रुपमा लिइन्छ । त्यहाँ गएर उपासना वा पुजा गर्दा देवीको शक्ति मिल्ने र काम सिद्ध हुने धार्मिक मान्यता छ । यही मान्यता अनुसार मानिस दसैं सुरुभए यता देवीको पुजा–अर्चनामा तल्लिन हुन्छन्।

पुरानो पुस्ता मात्र होइन, नयाँ पुस्ता समेत परम्परादेखि चलिआएको पर्व मान्न देवीका पिठमा पुग्ने गरेको पाइन्छ । शक्तिपिठलाई देवीको विशेष शक्ति भरिएको ठाउँका रुपमा लिइन्छ । त्यहाँ गएर उपासना वा पुजा गर्दा देवीको शक्ति मिल्ने र काम सिद्ध हुने धार्मिक मान्यता छ । यही मान्यता अनुसार मानिस दसैं सुरुभए यता देवीको पुजा–अर्चनामा तल्लिन हुन्छन्।

देवीका भक्तहरू घटस्थापनादेखि नै उपासना गरि पुजाआजा गर्नतर्फ लाग्छन् । उपत्यका लगायत देशभरका शक्तिपिठ पिठमा त्यस्ता भक्तजनको भिड लाग्ने गर्दछ । पलाञ्चोक भगवती, नक्साल भगवती, कालिकास्थान देवीको मन्दिर, गुहेश्वरी मन्दिर, शोभाभगवती मन्दिर, दक्षिणकाली मन्दिर, हनुमानढाको लगायत देवीका अन्य धेरै मन्दिरमा भक्तजनको भीड देखिन थालेको छ । यी मन्दिरहरूमा पुगेर दिनहुँ पुजा गर्ने र उपासना गर्ने भक्तजनको संख्या पनि उत्तिकै बढ्दो छ । मन्दिरको एक कुनामा जमरा राख्ने र हात–हतियारको पुजा गर्ने प्रचलन पनि छ। 

देवीका पीठमा पुगेर उपासना गर्दा आकांक्षा सिद्ध हुनुका साथै शक्ति मिल्ने मान्यता रहेको त्रिभुवन विश्व–विद्यालयमा संस्कृत र नेपाली विषय अध्यापन गराउँदै आएको प्रध्यापक शिवगोपाल रिसालको भनाइ छ । उनका अनुसार शक्ति पिठमा देवीको शक्ति छ । त्यहाँ पुगेर पुजा गर्दा शक्ति र इच्छा अनुसारको माग पूरा हुने मान्यता पनि छ। 

धार्मिक र प्रचलित मान्यताअनुसार देवीलाई तीन शक्तिका रुपमा लिने गरिन्छ । जसमा महासरस्वती, महालक्ष्मी र महाकाली छन्। महासरस्वतीको पुजा गर्दा ज्ञान र विद्या प्राप्त हुन्छ। त्यस्तै, महालक्ष्मीलाई सम्पक्तिकी अधिस्ठात्रीका रुपमा लिइन्छ । महाकालीलाई इच्छा अनुसार शक्ति दिने देवी मानिन्छ।  

‘देवीका केही रुप छन्, ती रुपको पुजा गर्दा फरक–फरक आकांक्षा पुरा हुन्छ भन्ने मान्यता कायमै छ,’ प्रध्यापक रिसालले  भने, ‘सप्तमीमा महासरस्वतीको पुजा गरिन्छ, अष्टमीमा कालारात्री पुजा हुन्छ र नवमीमा महालक्ष्मीको पुजा गर्ने चलन छ  । यी देवीको पुजा गर्दा भक्तजनको आकांक्षा पुग्छ भन्ने मान्यता छ।’ 

उनले पछिल्लो समय शक्ति पिठमा देवीको नाममा बली दिएर पशु विनास गर्नु सुहाउँदो नभएको बताए । देवीलाई नैवेद्य (छागवेली) को रुपमा चढाउन बली नै नचाहिने उनको भनाई छ । ‘देवीलाई कुनै फलफूल वा प्रसाद चढाएर मनाउन सकिन्छ,’ उनले भने, ‘हत्या गरेर रमाउने परम्परा मानव जातिले नै सुरु गरेका हुन्, देवीले भोग खोजेकी होइनन्, यो कुरा शास्त्रमा लेखिएको छैन, देवीका पीठमा गएर पुजा गर्दा ऊर्जा मिल्छ।’

बाराको गढीमाई देवीको मन्दिर पनि सबैभन्दा बढी वलि दिने मन्दिर मानिन्छ । यहाँ देशभरका अन्य देवीका मन्दिरमा भन्दा बढी वली चढाइन्छ । यो ठाउँमा नेपाल मात्रै नभएर भारतबाट पनि वली चढाउन आउनेको संख्या बढ्दो छ । समाजबाट निस्तेज गर्नुपर्ने वलीप्रथालाई झन्–झन बढवा दिँदै समाजलाई हिंसाको बाटोतर्फ लगेको संस्कृतिविद् पुरुषोत्तम ढकालले जानकारी दिए । उनले वलीको नाममा कुनै पनि प्राणीको हत्या गर्न नहुने बताए। 

‘विशुद्ध देवीको पुजाले मानव प्राणीलाई हित गर्छ,’ ढकालले भने, ‘अहिले देशभरका शक्तिपीठमा वली दिनेको संख्या बढ्दो छ यसले समाजलाई हिंसात्मक मोडतर्फ उन्मुख गराएको छ ।’ उनले देवीलाई वलीको साटो नरिवल, उखुजस्ता फलफूल चढाउन सकिने बताए। 

अरुबेला भक्तजनको उपस्थिति नहुने शक्तिपीठमा दसैंका बेला भीड हुन्छ । पौराणिक मान्यताअनुसार महिषासुर भन्ने राक्षसको बध गरि श्रीरामले रावणमाथि विजय प्राप्त गरे । दुर्गाले दैत्य चण्ड–मुण्ड तथा शुम्भ–निशुम्भलाई बध गरेको खुसियालीमा दसैं मनाइन्छ । दसैं सुरुभए यता नै शक्तिपीठमा पुजाआजा गर्न थालिएको धार्मिक मान्यता छ । 
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार दसैं सुरुभए यता हरेक दिन फरक फरक देवीको पुजा गर्ने गरिन्छ । पहिलो दिन–पहिलोपुत्री, दोश्रो दिन–व्रम्ह्चारिणी, तेस्रो दिन–चन्द्रघण्टा, चौथो दिन–कुस्माण्डा, पाँचौं दिन–स्कन्दमाता, छैटौं दिन–कागत्याइनी, सातौं दिन–कालरात्री, आठौं दिन–महागौरी र नवौ दिन– सिद्धिदात्रृको पुजा गरिन्छ। 

‘देवीले शक्ति दिने ठाउँ नै शक्तिपीठ हो, त्यस्ता ठाउँमा पुगेर उपासना गर्दा शक्ति मिल्ने र आकांक्षा पूरा हुने मान्यता छ,’ उनले भने, ‘यसले मानिसले देवताको रक्षा गर्न सक्छन् भन्ने पनि प्रष्ट पार्न सक्छ ।’ उनले शक्तिपीठको पुजा गर्दा राष्ट्रको भलो हुने, उर्जा मिल्ने, शक्ति र आँट मिल्नेजस्ता मान्यता रहेको जानकारी दिए। 

 

प्रकाशित: २९ आश्विन २०७५ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App