८ वैशाख २०८१ शनिबार
विचार

मन्दिर, कहिले होला मन्दिरजस्तो?

देवता भन्नासाथ हामी स्वर्ग सम्झन्छौँ । देवता बस्ने ठाउँ नै स्वर्ग हो । स्वर्ग स्मरणसँगै हाम्रो दिमागमा एउटा यस्तो परिकल्पना सल्बलाउँछ, जहाँ कुनै पनि नकारात्मक पक्षको गुन्जाइस रहन्न । मन मस्तिष्क दुवैलाई आनन्दित पार्ने स्वच्छ, सफा, हराभरा, मन्त्रमुग्ध अलौकिक परिवेश त्यहाँ व्याप्त रहन्छ । मान्छे र देवता बस्ने लोक नै फरक भएकाले भगवान्सँग मान्छेले प्रत्यक्ष भेटघाट गर्न सक्दैन । धर्ममा लीन रहेर सत्कर्म गर्ने व्यक्तिहरूले भगवान्को अंश धारण गरी मृत्युपछि स्वर्गलोकको प्रवेश पाउने विश्वास गरिन्छ । यही विश्वासका आधारमा आ–आफ्नो आस्था अनुसारका शक्तिसँग एकाकार हुन, पूज्न, पुकार्न मन्दिर, मस्जिद, गुम्बा, चर्च आदि देवस्थान सिर्जना भएका हुन् । आस्था र विश्वासका देव रूपहरू अरू धर्ममा भन्दा हिन्दू धर्ममा बढी छन् ।  हिन्दू धर्मले तेत्तीस कोटि देवताको अस्तित्वलाई स्वीकार गर्छ । त्यसैले ‘मान्छेभन्दा बढी देवता अनि घरभन्दा बढी मन्दिर’को उपमा हिन्दू धर्मसँग जोडिएको हो । भगवान्को उपासनाका लागि यिनै विभिन्न देवदेवी स्वरूप मूर्तिमा प्रतिस्थापन गरी मन्दिरहरूको सिर्जना गरिएको छ, जहाँ भक्तजनहरूले भगवान्सँग प्रत्यक्ष एकाकारको अनुभूतिसहित आफ्ना धार्मिक अनुष्ठान सम्पन्न गर्छन्।

नेपालमा फरकफरक देवीदेवताका अलग–अलग मन्दिर असंख्य छन् । त्यसैले विदेशीको आँखामा पनि नेपाल ‘मन्दिरै मन्दिरको देश’ भनेर चिनिन्छ । धार्मिक महत्वका अतिरिक्त सांस्कृतिक विविधताको झल्को दिन पनि यी मन्दिर सफल छन् । तर देवतालाई सजाएर राखिनुपर्ने मन्दिरहरू यथार्थमा कस्ता छन् ? विवेचना जरुरी देखिन्छ । अरू धर्मका देवस्थलहरूबारे खासै जानकारी छैन, तर हिन्दू धर्मअन्तर्गतका मन्दिरहरू कति अस्तव्यस्त छन्, मन्दिर शब्दले दिने सन्देश र हामीले बनाएको परिवेशबीच कतिसम्मको बेमेल छ, जुनसुकै मन्दिर पुगेपछि स्पष्ट हुन्छ । पूजाआजासम्बन्धी आ–आफ्नै मान्यताका कारण देवताको पवित्रस्थल फोहोरको डुंगुरझैँ प्रतीत हुनु ठूलो सन्देहको विषय हो । ठूला चाडपर्वको बेला मन्दिरको हालत अझ बढी कुरूप हुने गर्छ । दसैँका दौरान देवी शक्तिपीठहरू पनि उत्तिकै अस्तव्यस्त हुन्छ । जातीय र साम्प्रदायिक मान्यताअनुसार फरकफरक चीजबीज भगवान्लाई चढाउने गरिन्छ । यस क्रममा दूधदेखि मदिरासम्म, नरिवलदेखि अण्डासम्म, खिरदेखि दहिच्यूरासम्मका विभिन्न पक्वान्न, मिठाई, फलफूल, कन्दमुल, अबिर, अक्षता, धुपधुवाँ आदि तत्वहरू भगवान्समक्ष अर्पण गरिन्छन् । देवीदेवताको मूर्तिभन्दा बढी उचाइमा थुप्रिने यी विभिन्न तत्वहरूको मिश्रणले थोरै अन्तरालमै दुर्गन्ध फैलाउन सुरु गर्छ । कतिपय मन्दिरमा बलि चढाउने परम्पराले गर्दा मन्दिरहरू रणभूमिझैँ लाग्छन् । रगतका आहाल र सिर्काले समग्र मन्दिर परिसरलाई नै विकृत बनाइदिन्छन् । भगवान्को आराधनाका लागि मन्दिर जाने भक्तजनहरूलाई यस्ता गतिविधिले विचलित नगराउने कुरै हुँदैन।

भक्तजनले मन्दिरमा पुगेर नैवेद्य नचढाएसम्म भगवान् भोकै रहन्छन् भन्ने मान्यता नै गलत छ । भगवान् सृष्टिकर्ता हुन् । जसले यो सारा ब्रम्हाण्डको रचना गर्न सक्यो त्यस्तो शक्तिलाई मान्छेले थालीका खोपिल्टामा बोकेको नैवेद्यले आँत भरिदिने कुरा कसरी युक्तिसंगत हुन सक्छ ? त्यसैले यो सवाल व्यक्तिमा रहने विश्वासबाहेक अरू केही होइन । त्यस्तै हाम्रा पूजाआजाका मान्यतामा पनि सुधार ल्याउनु जरुरी देखिन्छ । पूजाको नाममा हजारथरी तत्वको भार बोकाउँदैमा देवतालाई प्रसन्न बनाउन सकिन्न । स्वच्छ दिमाग र पवित्र मनको ध्यानकर्मबाट मात्र मान्छेले आध्यात्मिक शक्तिसँग एकाकार भएको अनुभूत गर्ने हो तर भगवान्लाई खुसी पार्ने नाममा मन्दिरभित्र जे जस्तो परिवेश हामीले बनाएका छौँ, के त्यहाँ एकाग्र मन कायम हुनसक्ला ? के निश्चिन्त भावले ध्यानमा लीन हुने कल्पना गर्न सकिएला ? मन्दिरभित्र मात्र हैन, परिसर पनि फोहोरको पर्याय बन्ने गर्छ । मन्दिर प्रवेशका लागि जुत्ता खोल्ने क्रममै भगवान्को ध्यानतिर भन्दा त्यस्तो फोहोरमा कसरी खाली पैताला अघि बढ्ने भन्ने कुराले मान्छेलाई बढी पिरोलेको प्रस्ट देखिन्छ । फोहोर र दुर्गन्धसँगै झिँगा, भुसुना लगायतको भुन्भुनाहटले पनि मन्दिरहरूलाई मन्दिर जस्तो हुन नदिएको नकार्ने ठाउँ छैन।

मन्दिरको प्रसंगमा धेरै मान्छेहरूले अरू देशका मन्दिरहरूको बखान गरेको सुनिन्छ । छिमेकी मुलुक भारतकै मन्दिर यात्रा गरेर फर्कनेहरू पनि त्यहाँको सफा, सुग्घर र व्यवस्थित मन्दिरहरूको चर्चा गरेर थाक्दैनन् । मन्दिरमा कुनै पनि कुरा चढाउन नपाइने, टलक्क टल्काएर राखिएका मूर्तिहरू देख्दै आनन्द लाग्ने, मन्दिर परिसरमा समेत कुनै दाग लागेको नदेखिने, खाली गोडामै हिँड्दा पनि धुलोको कस नलाग्ने लगायतका बयान खुबै सुनिन्छन् । बिनापूजाथाली र सर्जाम मनमात्रै अर्पण गरिने त्यहाँको धार्मिक प्रणालीबाट हदै सन्तुष्टि मिलेको बताउन उनीहरू चुकेको देखिन्न तर तिनै कुरा देखेर भोगेर आएका र त्यस्तै प्रणाली नेपालमा पनि लागू हुनुपर्ने भन्ने व्यक्तिहरू समेत मन्दिरभित्रको पूजाआजामा आफ्नो सनातनी पारा छोड्न तयार हुँदैनन् । जो जो व्यक्तिहरूले जहाँबाट त्यस्तो परिपाटी बुझेर आए, उनीहरूले त्यसैलाई अवलम्बन गरेको भए अरूहरूलाई पनि त्यो पालनायोग्य दृष्टान्त पक्कै ठहरिन्थ्यो । आखिर थिति बस्ने नै त्यसैगरी त हो । यदि त्यस्तो क्रम सुरु भएको भए नेपालका मन्दिरहरूमा धेरै सुधारात्मक अवस्था देख्न पाइसकिन्थ्यो।

हरेक मन्दिरको व्यवस्थापन सम्हाल्ने समिति पक्कै हुन्छ । नयाँ अवधारणाअनुसार समितिको सक्रियता र भक्तजनको साथ जुट्ने हो भने मन्दिरलाई मन्दिर जस्तै बनाउन गाह्रो छैन । धर्म कमाउने नाममा जे जति चिजबिज मन्दिरमा चढाउने गरिन्छ, तिनीहरू सबै फोहोर बढाउने तत्वमा परिणत भएको देखिँदै आएको छ । गच्छेअनुसारको दक्षिणा÷भेटी, दान बाकसमा मात्र खसाल्ने परम्परा बस्यो भने हिनामिनाको समेत डर कम हुन्छ, त्यही रकम मन्दिरको स्तरोन्नतिमा कामयावी ठहरिन्छ । उपभोग्य चीजबीजहरू मन्दिरमा चढाएर खेर फाल्नु भन्दा केही पाउने अपेक्षासहित परिसरमा मजेत्रो बिछ्याएर माग्न बसेका भोका वृद्धवृद्धा र अशक्तहरूलाई वितरण गर्दा वास्तविक पुण्य त्यताबाट मिल्न सक्छ।

झट्ट सुन्दा असम्भव जस्तै लागे पनि सबै मन्दिरलाई यस्तै वातावरण दिलाउन नसकिने भने हैन । अन्य देशमा राम्रो लागेका अभ्यास आफ्नोमा अवलम्बन गर्न नसक्नु भनेको वषौँदेखिको पुरातन मान्यतालाई छोड्न नसक्ने हाम्रो आफैँभित्रको कमजोरी हो । त्यसैले मन्दिर व्यवस्थापन नियममै ती कुरा समाविष्ट भयो भने परिपालनाका लागि सबैलाई दबाब पुग्न जान्छ । हरेक व्यक्ति केवल पवित्र मन लिएर मन्दिर जाने, झल्झलाकार मूर्तिको अगाडि निष्कपट मनले भगवान् सम्झने, मन्दिरलाई मन्दिर जस्तै बनाउन भूमिका निर्वाह गर्ने, मन्दिरको वातावरणबाटै रोमाञ्चित हुने आदि थिति बस्यो भने मन्दिरभित्र चम्किने देवताको रूप र बाहिर झल्कने भक्तजनको उल्लासबीच बल्ल तादात्म्य मिल्न जान्छ । सायद वास्तविक पुण्य पनि सोही उपक्रमले बढी मिल्छ होला । यसका साथै  मन्दिर वरिपरि फलफूल र सुगन्धित वनस्पति लगाउने, रंगीचंगी फूलहरूले सिंगार्ने, कलकल पानीको बहाव दिलाउने, सम्भव भएका जन्तु जनावर, चराचुरुङ्गी विचरणको वातावरण बनाउने, मन्दिरको वातावरण सधैँ सफा राख्ने पनि असम्भव काम हैन । यसले मन्दिरलाई मन्दिर जस्तो मात्रै हैन, साँच्चिकै स्वर्गको आभाससमेत गराउँछ । हाम्रो विश्वास र मान्यता अटल छ भने, देवता बस्ने ठाउँलाई स्वर्गीय बनाउने जिम्मा पनि हाम्रै हो । कल्पना गरौँ, अहिले गन्जागोल र फोहोरका पर्याय बनेका हरेक मन्दिरहरू यस्तै परिदृश्यमा फेरिन सके भने स्वर्गको अनुभूति सँगाल्न के यो लोक छोड्नैपर्छ र?
 

प्रकाशित: २९ आश्विन २०७५ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App