coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वडाध्यक्षले आफ्नो तलबबाट दिए सुकुमबासीलाई दसैं खर्च

सुकुमबासीलाई चामल र नगद सहयोग गरेपछि कार्यक्रममा बोल्दै वडाध्यक्ष नवराज अधिकारी। तस्बिर : टंक/नागरिक

सर्लाही - जिल्लास्थित लालबन्दी नगरपालिकाका एक जना वडाध्यक्षले राज्यबाट आफूले पाउने तलबभत्ता सुकुमबासीलाई दसैं मनाउन दान गरेका छन्। साविक रानीगन्ज गाविसमा पर्ने लालबन्दी नगरपालिका वडा नम्बर १७ का अध्यक्ष नवराज अधिकारीले आफ्नो तलबभत्ता सुकुमबासीलाई सहयोग गरेका हुन्।

पूर्व–पश्चिम राजमार्गदेखि उत्तर मनकामना सामुदायिक वन छेउमा रहेको नयाँ बस्तीका सुकुमबासीलाई वडाध्यक्ष अधिकारीले प्रतिपरिवार एक बोरा चामल र एक हजार रुपैयाँ प्रदान गरेका हुन्। आइतबार एक कार्यक्रम आयोजना गरी उनले उक्त सहयोग गरेका हुन्। सधैं खोलामा गिटी कुटेर जिविका चलाउँदै आएका दलित एवं जनजाति समुदायका सुकुमबासी परिवारलाई उत्साहपूर्वक दसैं मनाउन मद्दत पुगोस् भनेर आफूले राज्यबाट पाउने तलबभत्ताले सहयोग गरेको वडाध्यक्ष अधिकारीले बताए।

लालबन्दी नगरपालिका–१७ का वडाध्यक्ष नवराज अधिकारीले १५ सुकुमबासी परिवारलाई एक/एक बोरा चामल र एक/एक हजार रुपैयाँ प्रदान गरेका हुन्।

‘मैले राज्यबाट पाउने तलबभत्तासहित सबैखाले सेवा सुविधा सुकुमबासी परिवार, विपन्न विद्यार्थी र वृद्धाश्रममा लगाउने निर्णय गरेको छु,’ कार्यक्रममा उनले घोषणा गरे, ‘अब विभिन्न विद्यालयमा अध्ययनरत अत्यन्त विपन्न विद्यार्थीलाई जाडोमा एक/एकवटा सुइटर र झोला दिनेछु भने जुटपानीस्थित वृद्धाश्रमलाई पनि आवश्यकताअनुसार सहयोग गर्ने तयारी गरेको छु।’

आफू वडाध्यक्षमा निर्वाचित भएपछि वडा कार्यालयको पहलमा ३६ सुकुमबासी परिवारलाई ५/५ धुर जमिन दिएको र उक्त जमिनमा घर बनाएर बसेका १५ परिवारलाई दसैं मनाउन खाद्यान्न र नगद सहयोग गरेको अधिकारीले बताए। ‘मैले चुनावका बेला सहयोग गर्नेछु भनेर सुकुमबासी परिवारसँग वाचा गरेर भोट मागेको थिएँ,’ उनले भने, ‘उहाँहरूले मलाई विश्वास गरेर जिताउनु भो, त्यसैले वडा कार्यालयको बजेटबाट जमिनको व्यवस्था गरिदिएँ, अनि अहिले दसैंमा थोरै भए पनि सहयोग पुगोस् भनेर आफ्नो तलबभत्ताको रकमले सहयोग गरेको हुँ।’

एक बोरा चामल र एक हजार रुपैयाँ थापेकी सन्तमाया विक दसैंको मुखमा वडाध्यक्षबाट पाएको सहयोग महŒवपूर्ण रहेको भन्दै खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘दुई छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामी जस्तालाई यो सहयोगले दसैं मनाउन ठूलो टेवा पुगेको छ।’ कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठले वडाध्यक्ष अधिकारीको सहयोगको प्रशंसा गरे । ‘वडा अध्यक्षज्यूको यो काम निक्कै सह्रानीय छ,’ नेता श्रेष्ठले भने, ‘माथिल्लो तहमा प्रतिनिधित्व गर्ने हामीजस्ता राजनीतिकर्मीलाई समेत शिक्षा दिएको छ।’

प्रकाशित: २९ आश्विन २०७५ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App