८ वैशाख २०८१ शनिबार
समाज

दसैं मनाउन घर फर्कंनेको धुइरो

भारतबाट दसैं मनाउन फर्केका नेपाली आआफ्नो गन्तव्यमा जान धनगढी बसपार्कमा बसको प्रतीक्षामा। तस्बिरः पुष्पराज/नागरिक

धनगढी - अछाम बान्नातोलीका भरत गिरी भारतको सुरतमा मजदुरी गर्छन्। दुई वर्षपछि उनी घरपरिवारसँगै दसैं मनाउन घर आएका छन्। अर्काको ठाउँमा वर्षभरि गरेको दुःख बिर्सेर उनी परिवारसँगै दसैं मनाउन आएका हुन्। उनी यस वर्ष परिवारसँग दसैं मनाउन पाइने भएपछि खुसी छन्। ‘बालबच्चाकै लागि परदेशमा सधैं दुःख गरेर बिताउनुपरेको छ, चाडपर्वका बेला पनि बालबच्चासँगै बस्न पाइँदैन,’ उनी भन्छन्, ‘बालबच्चासहित परिवारसँग दसैं मनाउन पाइने कुराले मन चंगा भएको छ।’

गत वर्ष बिदा नपाएकाले उनी दसैंमा घर आउन पाएनन्। ‘दुई वर्षपछि घर आएको हुँ,’ उनले भने । भरत प्रतिनिधिपात्र मात्र हुन्। भारतकन सहरमा वर्षभरि पसिना बगाएर मजदुरी गर्ने नेपाली ‘लाहुरे’ हरु सबै पीडा बिर्सेर परिवारसँग दसैं मनाउन मनभरि उमंग बोकेर घर फर्किरहेका छन्। ‘हामीहरुको खुसीको क्षण भनेकै घरमा आएर बालबच्चासँग चाडपर्व मनाउन पाउनु नै हो,’ भारतबाट घर फर्कदै गरेका बझाङ मटेलाका शिवराज ओझा भन्छन्।

भारतका विभिन्न सहरमा मजदुरी गर्ने सयौं नेपाली एक सातादेखि धनगढीको त्रिनगर नाका र महेन्द्रनगरेको गड्डाचौकी नाका भएर घर फर्किरहेका छन् । वर्षभरि सस्तो पारिश्रमिकमा कठिन काम गरेर घर फर्कने सोझासाझा नेपालीलाई नाकामा भारतीय प्रहरी र भन्सारका कर्मचारीले यातना दिने, पैसा लुट्ने गर्दै आएका छन् । सीमा क्षेत्रमा अपराधी क्रियाकलापमा संलग्नबाट पनि नेपाली लुटिने गरेका छन्। ‘वर्षभरि दुःख गरेर कमाएर ल्याएको पैसा पनि बाटोमा जोगाउन मुस्किल पर्छ,’ अछामका अर्जुनसिंह भन्छन्। सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र घर फर्कनेलाई सुरक्षा दिन नेपाल प्रहरीले गड्डाचौकी र त्रिनगर नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेको छ। ‘दसैंका बेला भारतबाट फर्कनेहरुलाई सजिलो होस्, उनीहरू नठगियून भनेर कुकुर परिचालन गरिएको हो,’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे भन्छन्, ‘यसले नेपाल फर्कनेको पनि सुरक्षा हुन्छ।’ आपराधिक गिरोहाले विस्फोटक पदार्थ भिœयाउन नसकोस् र कुनै अप्रिय घटना नहोस् भनेर पनि कुकुर परिचालन गरिएको उनी बताउँछन्। जाँचका क्रममा कुनै प्रतिबन्धित सामान नसमातिएको कुकुर परिचालनमा खटिएका दीपक विकले बताए। तालिम प्राप्त कुकुरले लागूऔषध र विस्फोट पदार्थ पत्ता लगाउने उनले बताए।

आठ महिनाअघि प्रहरी प्रधान कार्यालयले धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयमा कुकुर शाखा खोलेको हो । शाखामा राजा, फुच्चे, जर्मन सेफर्ड जातका तुफान र झुप्पा नामका कुकुर छन् । कुकुर परिचालन गरिएपछि यस वर्ष गौरीफन्टा नाकामा नेपालीलाई यातना दिने, जबरजस्ती पैसा माग्नेलगायत दुव्र्यवहारका घटनामा कमी आएको प्रहरी उपरीक्षक घिमिरेले बताए। ‘यस पटक नाकामा सहज भएको छ,’ घर फर्किरहेका अछामका शेरबहादुर सिंहले भने। विगतमा आफूले प्रयोग गरिरहेका लुगा कपडाका झोलाझिम्टी ल्याएर आउँदा पनि पैसा नदिए खोलेर सडकमा फ्याँकिदिने, लठ्ठीले हान्ने जस्ता दुव्र्यवहार खेप्नुपथ्र्यो तर यसपटक भने त्यस्तो नभएको उनले बताए।

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट गौरीफण्टा नाका अनुगमन गर्न पुगेका थिए। नाका अनुगमनमा भारतबाट आउने यात्रुसँग भलाकुसारी गर्दै सीमा नाकामा हुने गरेको ज्यादतीका बारेमा उनले जानकारी लिएका थिए । आफूले पनि लामो समय भारतमा काम गरेको र दसैंतिहारमा घर फर्कंदा पाउनुपरेको दुःखसँग परिचित भएकै कारण दसैंका बेला नाका अनुगमन गर्न आएको बताए। ‘मैले पनि सीमा नाकामा सास्ती बेहोरेको थिएँ,’ अनुगमनका क्रममा उनले भने, ‘त्यस्तै दुःख नहोस् भनेरै म सीमा नाकामा पुगेको हुँ।’ अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले दसैंको अवसरमा स्वदेश भित्रिने नेपालीलाई सीमामा सहज वातावरण बनाउन मातहतका कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशनसमेत दिएका थिए।

नाकामै पुगेर मुख्यमन्त्री भट्टले कर्मचारी तथा सुरक्षा निकायलाई भारतबाट रोजगारी गरेर फर्कनेलाई दुःख नदिन निर्देशन दिएसँगै गत वर्षको तुलनामा यस वर्ष सहज भएको भारतबाट फर्कने नेपालीले बताएका छन्। ‘अघिल्ला वर्षको तुलनामा यस वर्ष सीमामा त्यस्तो दुःख पाइएन,’ भारतको नासिकबाट डडेलधुराका लागि फर्कदै गरेका दीपक ठकुराठीले भने, ‘झोलाझिम्टी भने जाँच गरे, पहिलेको जस्तो दुःख दिएनन् ।’ उनले यस्तै सहज भारतमा दुःख गरी कामएको पैसा नेपालीले सहजै ल्याउन सक्ने बताए।

मुख्यमन्त्रीबाट सीमानाकामा भएको अनुगमनले केही सहज भएको बताउँदै भारतबाट फर्केका सन्तोष बिष्टले भने, ‘यसपालि भने सीमामा प्रहरीको ज्यादती भएन, यो हाम्रा लागि खुसीको कुरो हो।’ आफूहरुले वर्षभरि कमाएको पैसा अघिल्ला वर्षमा सीमामा रहेका प्रहरी तथा कर्मचारीले अनेकन बहाना बनाउँदै लुट्ने गरेको बताउँदै उनले भने, ‘यसपालि भने संघीयता आएकै महसुस भयो, अब सीमामा यस्तै भए नेपालीलाई सहज हुने थियो।’ उनी मात्रै हैनन् उपचारका लागि भारतीय सहरमा जानेलाई समेत जाँचका नाममा दिइने सास्तीमा कमी आएपछि स्थानीय हर्षित भएका छन्।

प्रकाशित: २९ आश्विन २०७५ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App