coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडकले सहज दसैं

खाद्य संस्थानमा चामल किनेर फर्कंदै स्थानीय : डिबी/नागरिक

जुम्ला - तिला गाउँपालिका–९ का मोहन बोहोरा दसैंको किनमेल गर्न नजिकैको सिनानगर बजारमा पुगे । दसैंलाई चाहिने चामल, तेल र मसला लिएर घर फर्के।

विगतभन्दा अचेल किनमेलका लागि धेरै सहज भएको उनले सुनाए। ‘कुनै बेला दसैंमा अक्षता गर्ने चामल पाउन मुस्किल हुन्थ्यो। अहिले जताजतै चामल तथा अन्य सामान पाइन्छ। हामीलाई सडकले दसैंमा हुने दुःख बिर्साइदियो,’ उनले भने। केही वर्षअघि दसैंमा चाहिने सामान किन्न एक साताको समय लगाएर दैलेखको चुप्रा बजारसम्म पुग्नु परेको स्मरण गर्दै उनले भने, ‘अहिले आँगनमै सबै बस्तुको जोहो गर्न पाउँदा धेरै सुविस्ता भएको छ।’

आठ वर्षअघि खाद्य संस्थानमा पाच् केजी चामल लिन आउँदा निकै सास्ती पाएको चन्दननाथकी हिमाली सुनारले सुनाइन् । उनले भनिन्, ‘दसैं तिहारका लागि एक महिनाअघि लाइन लाग्दासमेत पाँच केजी चामल पाइन्नथ्यो तर सडक बनेपछि सबै सामान घर आँगनमै पाइन थालेको छ।’ पहुँच नहुनेले सेतो चामलको गेडा देख्नै मुस्किल पर्ने अवस्थाको अन्त्य भएको छ । दशक अघिदेखिको पीडा सुनाउँदै उनले भनिन्, ‘सडकले जोडिँदा बल्ल दसैंको अनुभूति गर्न पाएका छौें । अहिले सडकले आयआर्जनका क्रियाकलापमा पनि सहजता ल्याएको छ।’

यहाँका स्थानीयले सेतो चामल प्रयोग गर्नेले उच्च ओहोदामा रहेको अनुभव गर्थे, सुक्खा रोटी र सेतो नुन लटपटाएर खानेले हेपिएको ठान्थे । ‘अहिले सडकले काम दिएको छ, कामले दाम। दामले मामको जोहो भएको छ । सबै जुम्लावासीको दसैं राम्रै हुने भएको छ’, उनले भनिन्।

चन्दननाथ २ की विष्णुमाया महताराले विगतमा लाइनमा बस्नु परेको, रातिदेखि नै घरदेखि हिँड्नु परेको र पहुँचवालालाई भित्रैबाट बोलाएर चामल वितरण गरेको र आफूहरु निरीह भएर हेरिराखेको घटना भुलिसकेको बताउँछिन्। सडकले दसैंमा हुने पहुँचवालाको हालीमुहाली र पहुचविहीनको मौनता दुवैको अन्त्य गरेको बताइन्।

सडक पुगेसँगै यहाँ सरकारी चामलको खोजी पनि घटेको छ। ठाउँठाउँमा बजार छन् । बजारमा चामल, तेल, दाल, चिनीलगायतका दैनिक उपभोग्य समान पाइन थालेको छ।

अहिले घरदेखि एक दुई घण्टा हिँड्ने बित्तिकै बजार छ । ‘उपभोक्ताले जस्तोसुकै मालवस्तु किन्नु परेमा सहजै भेट्छन्,’ स्थानीय विक्रमसिंह बुढाले भने, ‘सडकले निकै सहज भएको छ । दसैं पनि सहज भएको छ।’

अहिले कर्णाली सडकले छोएका मुगु, डोल्पा र कालिकोट जिल्लामा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति भइरहेको छ। अहिले सदरमुकाम कालिकोटको मान्म, मुगुको गमगडी र जुम्लाको खलंगामा रोजीरोजी उपभोग्य वस्तु खरिद गर्न पाइन्छ।

दसैंको अघिल्लो दिनसम्मै सबै खाद्य वस्तुको जोहो गर्न सकिने भएकाले किनमेलको हतारो पनि छैन । सडक जोडिएपछि दैनिक उपभोग्य सामान किन्न सुर्खेत नेपालगन्जका शहरमा पुग्नुपर्ने हुम्ला र डोल्पालीको वाध्यता पनि हटेको छ।

जुम्लाको खलंगा र कालिकोट, मगु जिल्लाबाटै ढुवानी हुन्छ। अहिले दिनहु २० भन्दाबढी मालबाहक गाडी दैनिक उपभोग्य तथा व्यापारिक सामान आउँछन्। यहाँका व्यापारीले महंगोमा हवाई मार्गबाट खाद्य सामग्री ल्याउनु परेको छैन । जसका कारणले सस्तोमै उपभोग्य बस्तु बेच्दै आएका छन्। पछिल्लो समयमा यहाँका अधिकांश स्थानीय तहका बस्तीमा सडक पुगिसकेकाले मालबाहक गाडी गाउँमै पुगेर सामान पु-याउँदै आएका छन्।

प्रकाशित: २९ आश्विन २०७५ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App