७ वैशाख २०८१ शुक्रबार
खेल

नारदमुनि गोल्डकप : मोरङलाई हराउँदै डिसिटी फाइनलमा

उदयपुर– उदयपुरमा जारी ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ मा डिसिटी सुनसरी टिम फाइनलमा पुगेको छ। आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा टाइब्रेकरमा बिपक्षी समूह मोरङ ११ लाई ४–२ गोल अन्तरले पराजित गर्दै डिसिटी सुनसरी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। 

निर्धारित ९० मिनेटको समयमा दुवैपक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा डिसिटीका सन्तोष तामाङ, युवराज राई, राजिव गुरुङ र जीवन धामी गोल गर्न सफल भएका थिए। उता प्रतिस्पर्धी मोरङबाट भने रजिन धिमाल र बुद्ध चेमजोङको प्रहारले मात्र जाली चुम्न सफल भयो। 

खेलको म्यान अफ द म्याचको उपाधि पाउने डिसिटीका हेम तामाङलाई चौदण्डीगढी नगरपालिका ६ का वडाध्यक्ष कमलध्वज राईले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे। सोमबार हुने अन्तिम सेमीफाइनल खेलमा गोर्खा व्वाईज क्लब बुटबल र बारा ११ युथ क्लब बाराबीच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए। 

सदरमुकाम बाहिरको सर्वाधिक राशीको गोल्डकप प्रतियोगितामा विजेता टिमलाई पुरस्कारस्वरुप ३ लाख नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यसैगरी उपविजेताले १ लाख ५० हजार नगद र प्रमाणपत्र पाउने छ। २ विभागीयसहित ८ वटा समूहको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो ३० गते हुनेछ।  

००७ सालका क्रान्तियोद्धा तथा पूर्वमन्त्री स्व. नारदमुनि थुलुङ राईको स्मृतिमा क्लवले बसाहामा वर्षेनी नारदमुनि गोल्डकप प्रतियोगिता सञ्चालन गर्दै आएको छ। चौनपा ५ बसाहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा सञ्चालित गोल्डकप प्रतियोगिता  चौदण्डीगढी नगरपालिकाको ५ लाख र बिभिन्न संघसंस्था र क्लवको सहयोगमा भइरहेको अध्यक्ष राईले बताए।  

प्रकाशित: २८ आश्विन २०७५ १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App