७ वैशाख २०८१ शुक्रबार
अर्थ

आउँदो जेठबाट तातोपानी नाका खुल्छ : मन्त्री महासेठ

तातोपानी (सिन्धुपाल्चोक)- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले साढे तीन वर्षदेखि बन्द उत्तरको मुख्य तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाल–चीनबीच सहमति भइसकेको खुलासा गरेका छन्। उनले आगामी वर्षको अंग्रेजी महिना मे (वैशाख/जेठ)देखि नाका सञ्चालनमा आउने दाबी गरे।

 ‘आउँदो मे महिनादेखि नाका सञ्चालनमा आउँछ। यो विषयमा चीन सरकारसँग सहमति भइसक्यो,’ शनिकार बन्द नाका र प्राकृति प्रकोपले क्षतविक्षत अरनिको राजमार्गको स्थलगत अवलोकन गर्दै तिब्बत जोड्ने घाँटी लिपिङ बजार पुगेपछि उनले भने। उनले नाका सञ्चालन गर्नकै लागि जीर्ण राजमार्ग मर्मत तथा स्त्तरोन्नति गर्न डिपिआर तयार भइरहेको समेत बताए। नाका सञ्चालनमा आउनु अभावै सडकको समेत काम सम्पन्न हुने उनले जनाए।

 ‘सडकको डिपिआर अलि पछाडि गर्ने मन्त्रालयको योजना थियो। चीनले आगामी मेदेखि नाका सञ्चालनमा ल्याउन सहमति जनाएकाले हाम्रोतर्फको सडक र अन्य पूर्वाधार निर्माणको काम अघि बढाएका हौँ,’ मन्त्री महासेठले भने। सडक र पूर्वाधार निर्माणमा काम हुन नसकेकै कारण नाका सञ्चालनमा ढिलाइ भइरहेको उनको भनाइ थियो।

२०७२ वैशाख १२ को विनासकारी भूकम्पले क्षति पुर्‍याउँदा नाका बन्द हुँदै आएको छ। लगत्तै २०७३ असार २१ को भोटेकोसी बाढीले सडक, भौतिक संरचना तहसनहस बनाउँदा नाका सञ्चालनमा ढिलाइ र अन्योल सिर्जना हुँदै आएको थियो। त्यसयताको बर्खे बाढी, पहिरोले २६ किलोमिटर राजमार्गको बाह्रविसे–लिपिङ खण्ड ध्वस्त छ। बाढीले कटान गर्दा यो खण्डको कोदारी–लिपिङ खण्डमा      दुई किमी सडक ट्रयाक नै छैन। भूकम्पले बाढीले निम्त्याएको पहिरो अझै पन्छाइएको छैन भने नदी कटानको विनास उस्तै छ। पहिरो र नदी कटान नियन्त्रण प्रयाससम्म थालिएको छैन।

विभिन्न बैठकमा चीनले नाका सञ्चालनमा ल्याउन नेपालतिरको सडक बाधक रहेको बताउँदै आएको छ। सोही कारण सडक सुधार गर्न लागिएको मन्त्री महासेठ बताउँछन्। ‘सडकको काम सुधार्नासाथ नाका सञ्चालन आउँछ,’ अबलोकनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने। नाकावासी आवतजावत र ढुवानीका लागि भने दसैँ लगत्तै कटान क्षेत्रमा नयाँ ट्रयाक खन्ने र सडक अवरोध हटाउने उनले बताए।

नाका सञ्चालनमा आउने/नआउने संशयबीच चीनले रोकिएको बन्दरगाह निर्माण थालेपछि सरकार र निजी क्षेत्रले तातोपानी खुल्ने संकेतको रुपमा लिँदै आएका छन्। तातोपानीबाट चार किमी तल लार्चामा चीनकै सहयोगमा सुविधा सम्पन्न आधुनिक बन्दरगाह बन्दै आएको छ। भूकम्पपछि बन्दरगाह निर्माण पनि रोकिँदै आएको थियो। केही महिनायता पुनः सुरु भएको निर्माणले तीव्रता पाउँदै आएको छ। बन्दरगाह निर्माण ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको चिनियाँ पक्षले जानकारी दिएको छ।

बन्दरगाहको कार्यालय भवन, यार्ड, क्वाटर लगायत मुख्य संरचना निर्माण र साजसज्जको काम सम्पन्न भइसकेको छ। बन्दरगाह पुग्न भोटेकोसी नदीमाथि पुल निर्माण र सडक व्यवस्थित गर्ने काम मात्र बाँकी छ। बन्द हुनुअघि नाकाबाट वार्षिक २० अर्व रुपैयाँ भन्दाबढीको सामान आयात/निर्यात व्यापार हुन्थ्यो। यसबाट राज्यले वार्षिक २ अर्व रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो।

जब मन्त्रीले सडकमै नक्सा कोरे

सिन्धुपाल्चोक गृहजिल्ला भएका नेकपा नेता तथा सांसद अग्निप्रसाद सापकोटा, प्रदेश नं. ३ का उद्योगमन्त्री अरुण नेपालको साथमा राजमार्ग अवलोकन गर्दै अघि बढेका मन्त्री महासेठ डाकलाङको पहिरो क्षेत्र पुगेपछि रोकिए। गाडीबाट ओर्लेर बर्सेनी पिरोल्ने पहिरो अबलोकन गरे। पहिरोको फोटो र भिडियो लिए। लगत्तै गाडीबाट कागज र सिसाकलम निकालेर सडकमै नक्सा कोर्न थाले। ‘यो सडकको डिपिआर गर्न ढिला भइसकेछ,’ पहिरो नियन्त्रण र सडक सुधार सम्वन्धी आफैँले कोरेको नक्साबारे बुझाउँदै उनले भने।

अवलोकनमा सहभागि नेता, व्यवसायी, जनप्रतिनिधि र सरकारी अधिकारी अचम्ममा परे। पछि खुल्यो मन्त्री महासेठ इन्जिनियर समेत रहेछन्। पहिरो र नदी कटान क्षेत्रमा रोकिएर योजना बनाउँदै अघि बढेका मन्त्री सडक ट्रक टुटेको कोदारीदेखि लिपिङसम्म पैदलै हिँडेर पुगे। ‘निर्धारित समयभित्र सडक पनि बन्छ। नाकासमेत खुल्छ,’ कोदारीमा भेला भएका स्थानीयलाई आश्वस्त पार्दै मन्त्री महासेठले भने।

अरनिको राजमार्ग र बन्द तातोपानी नाका अवलोकन गर्दै लिपिङ पुगेका भौतिक निर्माण तथा आतायातमन्त्री रघुबीर महसेठ। तस्बिर : ध्रुव दंगाल

               

प्रकाशित: २८ आश्विन २०७५ १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App