coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विग्रेको सडक र चर्को भाडाले यात्रु हैरान

जाजरकोट- स्थानीय सरकारहरुले  यहाँको ग्रामीण भेगका सडक मर्मत नगर्दा यात्रु चरम सास्ती भोग्न बाध्य छन्। सदरमुकाम रहेको  भेरी नगरपालिका र कुसे गउाँपालिका लगाएतका स्थानीय तहहरुका सडकहरु वर्षात पछि पनि  मर्मत नहुँदा दसैंका बेला  घर आउने जाने  सयौं यात्रुले चर्को गाडी भाडा र जोखिमपुर्ण यात्राको मार खेप्नु परेको छ। 

६ वर्ष अघि निर्माण सकिएको  खलंगा पाँचकिटया  र खलंगा रिम्ना सडकको गतिलो स्तरोन्नति नहुँदा सवारी दुर्घटनाको  सम्भावना देखिनुका साथै  व्यावसायीले चर्को भाडा उठाउने गरेको स्थानीयको गुनासो छ। सडकमा परेका ठूला ठूला खाडल, भत्केको सडक मर्मत र थुप्रिएका पहिरो नहटाउँदा खलंगा रिम्ना सडक  र  खलंगा  पाँचकटिया जहरगाँउ हुदै पैंकसम्म पुग्ने सडकमा यात्रुले सास्ती व्यहोर्नु परेको भेरी नगरपालिका ३ स्यालाका टोपवहादुर खत्रीले बताए। 'सडकको अवस्था  यति धेरै विग्रिएको  छ तर पनि  जनप्रतिनिधिले कुनै पहल गर्दैनन्  यो हाम्रो दुर्भाग्य हो,' उनले नागरिकसंग भने।

खलंगादेखि रिम्ना जाने क्रममा  चार पाँच ठाउँमा  गाडी फँस्ने खालका खाल्डा खुल्डी रहेका छन्। खलंगा पाँचकटिया हुँदै जहरगाउँ र पैंक जाने सडकमा  बाह्र स्थानमा  ठूला खाल्डाहरु, हिलो, भत्केको, सडकमा  पहिरो थुप्रिएका कारण  यात्रु र व्यावसायीले निकै  सास्ती ब्यहोर्ने गरेका छन्।

खलंगा रिम्ना सडकको कालेगाउँ, रावतगाउँ, पिपे र रिम्ना तथा  खलंगा पाँचकटिया हुदै पैंक जाने सडकको कोटखोला, रिसांङ, तातापानी, पोखरा, गारराङसी, नाउली,  खुर्पा, ढिमे ,जहरगाँउ, समकोट, नारे, क्षेत्रमा  सडकको अवस्था निकै विग्रिएको तर   स्थानीय सरकारले कुनै ध्यान नदिएको कुसे गाउँपालिका ५ स्थानीय सन्दीप थापाले  बताए।

ग्रामीण सडकहरुको अवस्था निकै विग्रिएको र  उक्त सडकहरुमा  गाडी चलाउन जोखिम बढेको भन्दै  यातायात व्यावसायीले  स्थानीय प्रशासनले तोकेको भन्दा बढी भाडा लिने गरेका छन्। स्थानीय प्रशासनले गरेको  निर्णय अनुसार  गाडी भाडा लिन  यहाँका प्रमुख जिल्ला अधिकारीले  जारी गरेको  सार्वजनिक  अपिललाई उनीहरुले  सडक निकै जिर्ण र  अप्ठेरा  भएकोले  भाडा बढी लिनु परेको बताएका छन्।   गत असोज ६ गते प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको  अध्यक्षतामा बसेको  सर्वपक्षीय बैठकले  गरेको निर्णयलाई विग्रेको सडकमा  गाडी गुडाउन कम भाडाले नपुग्ने भन्दै उनीहरुले  बढी भाडा लिने गरेका हुन्।

कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले पहिले पनि सडकको अवस्था सुधार गरिएको  बताए। उनले जनताको गुनासोलाई मध्यनजर गरि दुई तीन दिनमै सडक मर्मतको  काम सुरु गरिने बताए। गत असोज ६ गते  प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको अध्यक्षतामा बसेको वैठकले  जाजरकोट भित्र र जाजरकोटवाट बाहिरी जिल्ला तथा सहरहरुमा जाने  गाडीहरुका लागि दुइ किसिमले भाडादर निर्धारण गरेको थियो।

प्रकाशित: २८ आश्विन २०७५ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App