coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘हामी पाँचौँ चरणमा लडखडाउँदै उठेका छौँ’

एयरलाइन्सजस्तो एकदमै संवेदनशील बिजनेसलाई लामो समयदेखि सुरक्षित र भरपर्दो सेवा दिइरहेको बुद्ध एयरले तीन वर्षभित्रमा विदेशका विभिन्न सहरमा सेवा दिने योजना बनाएको छ । नियमअनुसार चल्न सक्दा सफलता हात पार्न सकिने ठम्याइ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको छ । उनको नजरमा कर्मचारी ठूला सम्पत्ति हुन् र तिनको मनोबल गिर्न दिन हुँदैन । संस्थाप्रति कर्मचारीको अपनत्वको भावना जगाउन खटेका कारण पनि कम्पनीको उचाइ हरेक वर्ष बढिरहेको छ । 

सन् २०२० लाई पर्यटन वर्ष र त्यसबेलासम्म वार्षिक २० लाख पर्यटक भित्र्याउने योजना सरकारले बनाएको छ । त्यस्तो महङ्खवाकांक्षी योजना पूरा गर्न भौतिक पूर्वाधार निर्माण गरी सेवासुविधा बढाउनुपर्ने उनको ठम्याइ छ । दुई दसकभन्दा बढी समय आकासे व्यापारमा अनुभव हासिल गरेका बस्नेतसँग ‘नागरिक परिवार’का लागि विश्वमणि पोखरेलविष्णु बेल्वासेले कर्पोरेट कार्यालय जावलाखेलमा गरेको कर्पोरेट कुराकानीः 

तपाईंलाई आकासे व्यापारको पायोनियर भनेर चिन्छन् । अहिले वायुसेवा कम्पनीको अवस्था कस्तो छ ?

यसक्षेत्रमा मेरो २१ वर्षको अनुभव छ । अहिले आकासमा धेरै जहाज उड्छन् । माग भन्दा आपूर्ति बढी छ । प्रत्येक चार वर्षमा नयाँ चक्र (साइकल) आउँछ । दुई तीन वर्षमा नयाँ कम्पनी आउँछन् । घाटा खान्छन् अनि बन्द हुन्छन् । अहिले वायुसेवा कम्पनीबीच द्वन्द्व छ । यसलाई हामी भिसेस साइकल भन्छौं । यस्तो साइकल चार वटा पास गरिसकेका छौँ । हाम्रो २१ वर्षको यात्रामा अहिले पाँचौँ भिसेस साइकल चलेको छ । यसले कुन कम्पनी बन्द हुने हुन् र कुन कम्पनी चल्ने हुन्, त्यो हेर्न बाँकी छ । बलिया रुख सानोतिनो हावाहुरीले ढाल्न सक्दैन तर साना र दह्रो जरा नभएको रुखलाई हावाले ढालिदिन्छ । खडेरी परे सुक्न सक्छन् । हामीले यसबीचमा ऋण चुक्ता ग-यौँ, मानव संशाधन र पूर्वाधारमा प्रशस्त लगानी ग-यौं । 

आकासको व्यापार कस्तो पाउनुभयो ?

जुन बेला बुद्ध एयर सञ्चालनमा आयो, त्यो बेला निकोन एयर सञ्चालनमा थियो । निकोन डुबेकाले हामी टिक्न सकेका हौं । त्यसपछि हामीले पखेटा फैलायौं । वायुसेवाको कुरा यही हुन्छ भनेर भन्न सकिँदैन । पोहोर ४८ अर्ब नाफा गरेको जेट एयर अहिले तीन महिनामै १३ अर्ब घाटामा छ । वायुसेवा अत्याधिक खर्चिलो उद्योग हो । यति नाफा हुन्छ भन्न सकिँदैन । दिनमा यति नाफा हुन्छ र वर्षमा यति नाफा हुन्छ भनेर हिसाब किताब मात्र गरेर हुँदैन । वायुसेवा उद्योगका धेरै पाटा हुन्छन् । अहिले ४.५० पैसा प्रतिलिटरका दरले तेलको मूल्य बढिसकेको छ । केही दिनभित्र प्रतिलिटर १० देखि १५ रुपैयाँका दरले तेलको मूल्य बढ्ने निश्चितजस्तै छ । डलरको भाउ बढेकाले जहाजका पाटपुर्जाको मूल्य पनि बढेको छ । 

वर्षमा नाफा वा घाटाको आँकलन पहिले नै गर्न सकिँदैन भन्न खोज्नु भएको हो ?

हो । होटल जस्तो वायुसेवा उद्योगलाई लिनु हुँदैन । होटल निर्माण गर्न २ वा ३ अर्ब कति लाग्ने हो, त्यो बनाइसकेपछि सञ्चालन खर्च ज्यादै कम लाग्छ तर वायुसेवामा सञ्चालन खर्च बढी हुन्छ । अहिले काठमाडौं धनगढी सञ्चालन गर्दा वर्षको २० करोड घाटा छ । त्यही घाटाका कारण यति र सौर्यले सञ्चालन गर्न छाडे । अहिले हामी र श्रीले मात्र सञ्चालन गरेका छौं । हामीले पनि कहिलेसम्म त्यो घाटा खाएर सञ्चालन गर्ने हो ?  आखिर घाटा खाएर किन सञ्चालन गर्छन् त ? प्रतिष्ठाको कुरा हुँदोरहेछ । सुर्खेत त हामीले उडान गर्न छाड्यौँ । अत्याधिक घाटा भएका कारण सञ्चालन गर्न छाडेका हौं । 

सबैभन्दा नाफा कहाँ उडाउँदा हुन्छ ?

पोखरा र माउन्टेन फ्लाइटमा सबैभन्दा बढी नाफा हुन्छ । भद्रपुरमा सरकारले तोकेकै भाडा ५ हजार ४ सय छ । हामीले २ हजार ५ सयदेखि २ हजार ८ सयमा उडाइरहेका छौं । गाडी भाडा नै २ हजार जति छ । 

तपाईंको वायुसेवा उद्योगमा कसरी आगमन भयो ?

बुबा सुरेन्द्रबहादुर बस्नेतको प्रेरणाले नै यो क्षेत्रमा हात हाल्न पुगियो । अहिले बुबा ९२ वर्षको हुनुहुन्छ । बिराटनगरमा हाम्रो खेतीपाती थियो । खेतीपाती गर्दादेखि नै बुबाले जिविकोपार्जनका लागि व्यापार गर्नुपर्छ भन्नु हुन्थ्यो । मलाई सल्लाह दिने काम बुबाले गर्नु भयो । वायुसेवा उद्योग स्थापना गर्नुपर्छ भन्नु भएकाले म यस क्षेत्रमा आएँ ।

अर्जुनदृष्टि नलगाउने हो भने वायुसेवा निगम जतिबेला पनि ढल्न सक्छ । हामीले हेर्दाहेर्दै निकोन एयर ढल्यो । हामी पनि झन्डै ढलेका थियौं । अरु एयरलाइन्सको समस्या पनि त्यही नै छ । अहिले पनि वायुसेवा कम्पनीबीच कुरुक्षेत्रको लडाइँजस्तै छ । बजारको आवश्यकताभन्दा दोब्बर जहाज छन् । सस्तो भाडादरमा उडाइरहेका छौं । हामीसँग मात्रै ११ जहाज छन् । बसमा भन्दा सस्तो दरमा जहाज चढ्न पाएपछि किन सार्वजनिक यातायातमा चढ्ने भन्ने भएकाले केही समययता जहाज चढ्नेको संख्या पनि बढेको छ तर वायुसेवा कम्पनीबीच अस्वस्थ्य प्रतिस्पर्धा पनि उत्तिकै चर्किएको अवस्था छ । 

बुद्ध एयरमा काम गर्ने कर्मचारीलाई कस्तो सुविधा छ नि ?

कम्पनी साझा थलो हो । कर्मचारीलाई अपनत्वबोध गराउनका लागि पनि हामीले अप्रत्यासित रुपमा तलब बढायौं । कुल तलबमा ३५ देखि ४० प्रतिशत तलब बढाएका छौं । प्रत्येका दुई वर्षमा तलब बढाउने सहमति छ । कर तिर्नमा हामी कुनै कन्जुस गर्दैनौं । भारतमा वायुसेवा कम्पनीमा काम गर्नेको माग छ । त्यहाँ जानबाट रोक्न पनि कर्मचारीको तलब बढाउनुपर्ने हुन्छ । 

अन्य वायुसेवा कम्पनी र उनीहरुले ल्याएका जहाजका बारेमा कसरी मूल्यांकन गर्नुहुन्छ ?

वायुसेवा कम्पनीको २० वर्षदेखिको इतिहास हेर्ने हो भने निकोन डुब्यो । त्यसपछि कस्मिक, सांग्रिला, माउन्टेन, अग्नि र सौर्य डुबे । अहिले मुख्य खेलाडी यति, श्री र बुद्ध मात्र छन् । 

किन ढल्न पुगे त ?

सस्तो फेयरले ढलेका हुन् । हाम्रोमा मात्र होइन, भारतमा पनि तीन महिनामा १३ अर्ब घाटा खाएका कम्पनी छन् ।   

बुद्ध एयरका भावि योजना के छन् ?

सन् २०२१ अगस्टदेखि भारत–पोखरा–चीन जहाज उडाउँदैछौँ । यसैगरी पोखराबाट दुबई, मिडिल इस्ट लगायतका ठाउँमा उडान गर्ने तयारी गरिरहेका छौं । हामी मौकामा चौका हान्न पछि पर्दैनौं । 

तपाईंले बढी प्रथमिकता पोखरालाई दिनु भएको छ किन ?

आन्तरिक तथा बाह्य पर्यटकले रुचाउने ठाउँ हो पोखरा । त्यसैले जे बिक्छ, त्यसैमा फोकस त हुनु परिहाल्यो । हुन त पोखरा भुटानको पारो पछिको बढी जोखिमयुक्त एयरपोर्ट हो । पोखरामा अझ बढी पर्यटन प्रवर्द्धन गर्नका लागि पूर्वाधारको विकास हुनुपर्छ । हामीले स्वच्छता र स्वस्थ पर्यावरण बिक्री गर्ने हो । हिमश्रृंखला, वन्यजन्तु, पहरा, संस्कृतिलाई बिक्री गर्ने हो । २० लाख पर्यटक ल्याउनका लागि पनि पोखराको वातावरण स्वच्छ हुनुपर्छ । त्यसका लागि हामीले लविङ गर्दै आएका छौँ । अहिले हामीले पोखरामा दिनको १२ फ्लाइट गरिरहेका छौँ ।

भारतीय पर्यटकलाई आकर्षित गर्न के गर्नु पर्ला ?

भारतमा ८० प्रतिशत हिन्दु छन् । तिनीहरुलाई नेपाल ल्याउन सक्नु पर्छ । पशुपतिनाथ, हलेँसी, पाथीभरा जस्ता धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसार गर्न सकिएको खण्डमा मात्रै पनि भारतीय पर्यटकलाई आकर्षित गर्न सकिन्छ । ८ जिल्ला पर्यटकका लागि उपयुक्त ठाउँ छन् । ती ठाउँलाई केन्द्रविन्दुमा राखेर पर्यटक भित्र्याउनु पर्छ । भौतिक पूर्वाधार पनि ती ठाउँमा निर्माण गर्नुपर्छ । मेरो फोकस एयरलाइन्स हो । पर्यटकलाई आवश्यक पर्ने होटल लगायतसँग सहकार्य गरेर अगाडि बढन सकिन्छ । 

देशको आर्थिक अवस्थालाई कसरी विश्लेषण गर्नु भएको छ ?

मेरो आफ्नो क्षेत्रमा दत्तचित्त भएर लडाइँ लडेको छु । यसबाहेक अन्यतिर नहेरेकाले पनि होला मलाई त्यति धेरै थाहा छैन । स्थायी सरकार आएको छ । विकास निर्माणले गति लिन थालेको छ ।   

दैनिक जीवन कसरी सुरु हुन्छ ? 

कार्यालय सिस्टमले सञ्चालन हुने हो । त्यो सिस्टम मैले बनाएको छु । बिहान ६ बजे उठ्छु । घरमै जिम छ । दुई घण्टा व्यायाम गर्छु । ९.३० बजे खाना खान्छु अनि अफिस जान्छु । जावलाखेलको अफिसमा भन्दा एयरपोर्टको अफिसमा बढी बस्छु । ३/४ बजेसम्म काम गर्छु अनि घर फर्कन्छु । अफिसमा चिठीहरु आफैँ ड्राफ्ट गर्छु । घरमा पुगेपछि किताबहरु पढ्छु । खासगरी फिक्सन भन्दा नन् फिक्सन किताब बढी पढ्ने गर्छु । त्यसमा पनि नेपाली लेखकका भन्दा विदेशी लेखकका किताब बढी पढ्छु । किताबले परिकल्पना दिन्छ । बिपीको सुम्निमा, गणेशमानको आत्मवृत्तान्त, ‘त्यस बखतको नेपाल’ लगायत मलाई मन परेका पुस्तक हुन् । त्यस्तै विभिन्न लेखकले लेखेका बुद्धिस्ट फिलोसोफी, ब्लाक स्वान, ब्ल्यु ओसन स्ट्राटेजी, एयर लाइन्ससँग सम्बन्धित पुस्तक पढ्ने गर्छु । 

परिवारमा को को हुनुहुन्छ ?

बुबा, श्रीमती, दुई छोरी छन् । बुबा मसँग बस्नु हुन्छ । श्रीमती सुनिता बस्नेत होम मेकर छिन् । मलाई सल्लाह दिने काम गर्छिन् । फेसबुक, ट्वीटर, नातागोताले बुद्ध एयरका बारेमा गरेका नकारात्मक र सकारात्मक प्रतिक्रिया मलाई दिने गर्छिन् । कान्छी छोरी आस्था बस्नेत बुद्ध एयरमै काम गर्छिन् । जेठी छोरी आरजू बस्नेत बुटिक पसल गरिरहिकी छन् । श्रीमतीले मलाई प्रशस्त सहयोग गर्छिन् । श्रीमतीलाई अर्धांगिनी त्यसै भनेका रहेनछन् । अर्धांगिनी नभइकन कुनै मानिस पनि पूर्ण हुन सक्दैन । एउटा सफल व्यवसायी हुन श्रीमतीको हात धेरै हुन्छ । त्यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु । भाइ सिवेन्द्र बस्नेत, बैनी संगिता बस्नेत आफ्नो काममा तल्लिन छन् । 

चाडपर्व नजिकिँदै छ । कसरी मनाउनु हुन्छ ?

मेरो लागि हरेक दिन चाडपर्व जस्तै छ । अहिले म ५४ वर्षको भएँ । मध्यपान नियन्त्रणमा छ । यौवनमा खाइयो । अहिले धेरै पिउँदिनँ । परिवारसँग १६/१७ घण्टा सँगै भइन्छ । छुट्टिमा बाहिर गइयो भने २४ घण्टा सँगै भइन्छ । सामान्यतः ९.३० बजे अफिस जान्छु । ४ बजे त घरै पुग्छु । ससुराली धोबीघाटमा छ । नजिक भएकाले जाने आउने क्रम चलिरहन्छ ।  दसैँमा के गर्नु हुन्छ ?  दसैमा पूजाआजा हुन्छ । श्रीमती धर्मकर्म, रीतिरिवाजमा बढी ध्यान दिन्छिन् । दसैँमा घुमिन्छ, खाइन्छ, पिइन्छ । दसैँमा बुद्ध एयरको ५ दिन बिदा हुन्छ ।  बाल्यकालमा दसैँ कसरी मनाउनु हुन्थ्यो ? चाडपर्वमा नयाँ लुगा लगाइन्थ्यो । अहिले जस्तो रेडिमेट कपडाको चलन थिएन । टेलरमा गएर पाइन्ट, सर्ट, कोट सिलाइन्थ्यो । गर्मीमा पनि थ्री पिसको सुट लगाएर खलखल पसिना काढिन्थ्यो । भेटघाटमा नै बित्थ्यो ।   सफलताको सिँढी कसरी चढ्न सकिँदोरहेछ ? नियमअनुसार चल्नु भयो भने सफल हुन सकिन्छ । संयम र सोचविचार गरेर चल्न सकिएको खण्डमा सफल हुन सकिन्छ । कम्पनीको ठूलो सम्पत्ति भनेको मानव संशाधन हो । कर्मचारीमा आफ्नो मान्छे र अर्काको मान्छे भनेर छुट्याउनु हुँदैन । कर्मचारी सन्तुष्ट नभइकन व्यापार व्यवसाय सफल हुन सक्दैन । कर्मचारीमा उत्साह भएन भने संस्था चल्दैन । संस्थालाई जिवन्तता दिने काम कर्मचारीले दिने गर्छन् । बुद्ध एयरमा अहिले एक हजार कर्मचारी छन् । यो सफलता मेरो होइन, कर्मचारीको हो । कि त कर्मचारीलाई सन्तुष्ट पार्नु प¥यो, अन्यथा छाड्नु प-यो । कर्मचारीमा उत्साह छर्नुपर्छ । नातावाद कृपावाद गर्नुहुँदैन । धनगढी उडानमा यति नोक्सान छ तर के गर्ने भनेर कर्मचारीको तलब नबढाउने कुरा पनि भएन । कर्मचारीलाई निरुत्साहित बनाउनु हुँदैन । उनीहरुमा पनि इमान्दारिता र अपनत्वको भावना बढाउनुपर्छ । यति भएपछि संस्था कहिल्यै हल्लिँदैन । अहिले आकासको व्यापार कुरुक्षेत्रको लडाइँजस्तो भएको छ । अहिले पाँचौँ चरणको युद्धमा छौँ हामी तर यो लडाइँ पनि कर्मचारी र शुभेच्छुकको बलमा जितिन्छ भन्ने लागेको छ ।  

प्रकाशित: २८ आश्विन २०७५ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App