८ वैशाख २०८१ शनिबार
समाज

असुरक्षित बन्दै विपी राजमार्गको यात्रा

सिन्धुली - गत शुक्रबार विपी राजमार्गहुँदै दशैँका यात्रु लिन सिन्धुलीको मरिणबाट काठमाडाैंतर्फ गइरहेको बस सुनकोसी गाँउपालिकाको वडा नं. ५ रिठ्ठेभिरबाट सुनकोसी नदीमा खस्दा १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएकाे थियाे भने पाँच जना घाइते भए। सिन्धुलीको मरिणबाट काठमाडाैं तर्फ जादै गरेको सुपर बासुकीको ना.६ ख ९१२ नम्बरको बस रिठ्ठेभिरबाट सुनकोसी नदीमा खस्दा उक्त क्षति भयो। त्यसको भोलिपल्टै विपी राजमार्ग स्थित सुनकोसी गाँउपालिकामै दुईओटा दुर्घटना भयो। सुनकोसी गाँउपालिकाको वडा नं. ३ बोहोरेटारमा काठमाडाैंबाट यात्रु लिएर उदयपुरको कटारीतर्फ जादै गरेको बस रोडमै पल्टियो। दुर्घटनामा ३० जना घाइते भए। सोही दिन इन्द्रेणी यातायातको पुर्वबाट काठमाडाैंमा यात्रु लिन जादै गरेकाे बस सुनकोसी गाँउपालिकाकै दुम्जाको सडकबाट खेतमा खस्यो। उक्त घटनामा चालक र सहचालक घाइते भए।

साँघुरो र घुमाउरो विपी राजमार्गमा नजिकै आएको बडादशैँको पर्व मनाउन घर आवात जावत गर्नेका सवारीले राजमार्ग भरिभराउ छ। दिनरात चौविसै घण्टा राजमार्गमा सवारीको चाप हुँदा दैनिक दुर्घटनामा यात्रुको मृत्यु हुने तथा घाइते हुनेको संख्या थपिदै गएको छ। साँघुरो सडक भएकाले दशैँ यात्रा जोखिमपुर्ण हुनसक्ने सम्भावना भएकाले यात्रु र चालक सचेत हुनुपर्ने स्थानीय बताउँछन्।

'सजिलो स्थानमा गाडी बढी दुर्घटना परेको देखियो', जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रामेश्वरप्रशाद यादवले नागरिकसँग भने ‘सजिलो र सिधा सडकमा तिब्र गतिमा सवारी हुइकाउँदा दुर्घटना भएको हो।’ उनले सहज स्थान भनेर तिब्र गतिमा सवारी नचलाउन आग्रह गरे। 'राजमार्ग सानो छ, ओभरटेक र तिब्र गतिमा जानु हुँदैन यसले दुर्घटना बढाउन सक्छ', यादवले भने। दशैँमा विपी राजमार्ग हुँदै गुड्ने सवारीसाधनको चाप बढेको छ। दैनिक यात्रुवाहक सवारीमात्रै एक हजार देखि पन्ध्रसयसम्म आवातजावत गरिरहेको प्रहरीले जनाएको छ। विपी राजमार्गमा पाँच सय बढी दैनिक माइक्रो बस (हायस) मात्रै आवातजावत गर्ने गरेका छन् तर दशैँमा यात्रुहरुकाे चापका कारण माइक्रोबसले दुई ट्रिपसम्म गर्नलाई हतारिएपछि सवारी दुर्घटना बढेको प्रहरी बताउँछ। चालकले रातदिन नभनि सवारी चलाउँदा उनीहरु निदाउने भएकाले समेत दुर्घटना बढेकाे हुन सक्ने प्रहरी अनुमान छ।

'बाटो साघुरो छ, सवारी चाप बढी छ', प्रहरी प्रमुख यादवले भने ‘त्यसैले सजग भएर ढिलो गए यात्रा सफल हुन्छ, हतार गरे भन्न सकिदैन।’ उनले चेकजाँचमा समेत कडाइ गरिएको बताए।

 

प्रकाशित: २८ आश्विन २०७५ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App