८ वैशाख २०८१ शनिबार
समाज

सरकारी कर्मचारीले दसैंमा तलब पाएनन्

मुगु- 'मैले जागिर खाएको करिब ३५ वर्ष भयो। दशै तिहार जस्ता चाड पर्वमा तलब रोकिएको थाहा छैन। यो पटकको दसैंमा भने तलब नपाउदा साह्रै दु:ख लागेको छ,' जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगी हरिचन्द्र खड्काले भने। 'यो बेला तलब नपाउने भए पछि बालबच्चालाई लुगा फाटो गर्न,  घर खर्च चलाउन ऋण खोज्दै छु' उनले थपे।

खड्का मात्रै होईनन, दसैंको बेला तलब खान नपाउने दर्जनौ कर्मचारी छन्। 'दसैंको बेलामा समेत तलब खुवाउन सकिदैन भने संघीयताको अर्थ नै के रह्यो त?', कृषि विकास कार्यालयका कार्यालय सहयोगि रुद्र महताराले दुखेसो गरे।

देश संघीय संरचनामा गई स्थानीय तहको गठन पछि स्थानीय तहमा गाभिएका सरकारी कार्यालयका कर्मचारीहरु  यो पटकको दसैंमा तलब खान नपाए पछि ऋण खोजेर दशै खर्च जुटाउन बाध्य भएका छन्।

स्थानीय तहसंग गाभिएका कार्यालय तथा त्यहाँ काजमा खटिएका अधिकांस कर्मचारीले स्थानीय तहबाट पछि सोध भर्ना हुने गरि दसैं खर्च सापटी लिएका छन् भने गाभिएका कार्यालयका ईकाईमा बस्ने कर्मचारीले तलब नपाउदा ऋण गर्नु परेको हो।

साविकको जिल्ला कृषि विकास कार्यालयबाट छायानाथ रारा नगरपालिकाको कृषि शाखामा गएका योजना अधिकृत केवी रोकायाले नागरिकसंग भने –'जागिर खाएको लामो समय भयो दसैंको बेला जसरी पनि तलब खान्थ्यौ तर अहिले संघीय नेपालमा कर्मचारीले दसैं तिहार जस्ता महत्वपूर्ण पर्वमा समेत तलब खान नपाईने भयो। मन्त्रालयबाट तलब खान नपाईने भए पछि नगरपालिकाबाट सोध भर्ना गर्ने गरि तलब सापटी लिएका छौ', रोकायाले बताए।

त्यस्तै खानेपानी तथा सरसफाई कार्यालयका कर्मचारीले समेत यो दसैंमा तलब खान पाएनन्। खानेपानी तथा सहरी विकास मन्त्रालयले अहिलेसम्म तलब नपठाएको, कर्णाली प्रदेशको सहरी विकास मन्त्रालयले तलब खुवाउने भन्ने सुनिए पनि अहिलेसम्म बजेट नआएको खानेपानी सरसफाई सब डिभिजन कार्यालयका लेखापाल सुरेश केसीले बताए। यसरी दसैंको मुखमा पनि तलब खान नपाउने महिला तथा जिल्ला समन्वय समिति अन्तर्गत महिला तथा बालबालिका कार्यालय, युवा तथा खेलकुद विकास, खोनेपानी, जिल्ला पशु सेवा कार्यालय, जिल्ला प्राविधिक, जिल्ला कृषि विकास कार्यालयका दर्जनौ कर्मचारी छन्।

प्रकाशित: २८ आश्विन २०७५ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App