coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट भेंडाच्यांग्रा भित्रिँदै

रसुवागढी नाका हुँदै नेपाल भित्रिएका भेडाच्यांग्रा। तस्बिर : हिमनाथ देवकोटा/नागरिक

रसुवा – नाका रसुवागढीबाट भेडाच्यांग्राको आयात सुरु भएको छ। दसैं आउन केही समय बाँकी रहँदा नाकाबाट भेडाच्यांग्रा आयात सुरु भएको हो।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट अघिल्लो साता दुई सयभन्दा बढी भेडाच्यांग्रा टिमुरे ल्याइएका थिए। भन्सार प्रक्रियापछि बिक्री गर्दै जाने व्यापारी दिवाकर न्यौपानेले बताए । नेपाली व्यापारीले केरुङसम्म पुगेर आयात गर्ने उनले बताए। ‘केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउँछन्,’ उनले भने, ‘हामी गढीबाट २४ किलोमिटर टाढासम्म पुग्नुपर्छ।’

आयात गरिएका भेडाच्यांग्रा रसुवामा नै बिक्री गर्ने गरिन्छ । रसुवामा खपत नभए नुवाकोटसम्म पु¥याइने उनको भनाइ छ। ‘हामीले रसुवा र नुवाकोटलाई प्राथमिकतामा राखेर बिक्री गछौं,’ उनले भने, ‘यहाँ खपत नभए काठमाडौंसम्म लैजान्छौं।’

गत वर्षको तुलनामा यो वर्ष आयात र मूल्य दुवै बढेको व्यापारीको भनाइ छ। गत वर्षको दसैंमा ५५ वटा मात्रै भेडाच्यांग्रा ल्याइएको थियो। यसअघि व्यापारी न्यौपानेले मुस्ताङबाट आयात गर्दै आएका थिए। यो वर्ष यो नाकाबाट सहज हुने आसामा ल्याइएको उनले बताए।

करिब दुई सय भेडाच्यांग्रा आयात गरिएको व्यापारी न्यौपानेले बताए। गत वर्षभन्दा करिब चार हजारले मूल्य बढेको छ। प्रतिभेडा २३ हजारदेखि २६ हजारसम्म मूल्य पर्ने उनले बताए। यसअघि मुस्ताङबाट ल्याइने गरेकोमा यो वर्ष यो नाका हुँदै ल्याइएको उनको भनाइ छ।

यो वर्ष योे नाका हुँदै तीन सयभन्दा बढीको संख्यामा आयात हुने बताइएको छ। गत वर्षको भन्दा बढी मूल्य परेको, गाडीको चाप र झन्झटिलो भएको उनले बताए। ‘दसैंका लागि भेडाच्यांग्रा ल्याउन अगाडि नै बैना गरिएको थियो,’ उनले भने, ‘त्यसकारण मूल्य वृद्धि भए पनि आयात गरिएको हो।’

यो नाकाबाट २०७० मा दुई सय दुई, २०७१ मा एक सय ८० र २०७३ मा दुई सय ५० र २०७४ मा ५५ वटा भेडाच्यांग्रा आयात गरिएको थियो। २०७० अघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्यांग्रा आयात हुने गरेको थियो।

प्रकाशित: २८ आश्विन २०७५ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App