७ वैशाख २०८१ शुक्रबार
समाज

रहेनन् व्यावसायिक पत्रकारिताका धरोहर

काठमाडौं - नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ। छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो।

चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन्। नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवाली कान्तिपुर पब्लिकेसनको पनि संस्थापक अध्यक्ष थिए। २०४७ को संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी गरेसँगै ज्ञवालीसहितको टोलीले २०४९ फागुन ७ गते कान्तिपुर पत्रिका प्रकाशन सुरु गरेको थियो । यसमा ज्ञवालीको महत्वपूर्ण योगदान थियो।

कान्तिपुर पत्रिका प्रकाशनसँगै नेपाली पत्रकारितामा नयाँ युग सुरु भएको हो। २०४६ को राजनीतिक परिवर्तनपछि निजी क्षेत्रबाट कान्तिपुर पत्रिका प्रकाशन सुरु गरेर व्यावसायिक पत्रकारिताको थालनी गरेका थिए। ज्ञवाली २०६२/०६३ को जनआन्दोलनपछि स्थापित अर्को सञ्चार गृह नेपाल रिपब्लिक मिडियाको संस्थापक अध्यक्ष बनेका थिए। रिपब्लिक मिडियालाई अघि बढाउन पनि उनको अतुलनीय योगदान रह्यो। निजी क्षेत्रबाट ठूलो लगानीमा पत्रिका प्रकाशनसँगै नेपाली पत्रकारिताले व्यावसायिक स्वरूप ग्रहण गरेको हो।

ज्ञवालीलाई नेपाली सञ्चार क्षेत्रका उद्यमी एवं पत्रकारले श्रद्धापूर्वक सम्झन्छन्। कान्तिपुर मिडिया गु्रपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले ज्ञवालीलाई स्मरण गर्दै भने, ‘उहाँ मेरा लागि बुवासरह हो।’

नागरिक दैनिकका पूर्व प्रधानसम्पादक प्रतीक प्रधानले पत्रकारिताको मूल्यमान्यता र सिद्धान्तमा स्वर्गीय ज्ञवाली प्रतिबद्ध रहेको बताए। कान्तिपुर प्रकाशनसँगै आफ्नो पत्रकारिताको करियर सुरु भएको स्मरण गर्दै प्रधानले भने, ‘कान्तिपुरको सुरुवातका दिनमा धेरै आक्षेप थिए। उहाँको व्यक्तित्वले पब्लिकेसनलाई स्थापित गर्न सहयोग पुग्यो।’ हेमराज ज्ञवालीकै उपस्थितिले नेपाल रिपब्लिक मिडिया र त्यसका प्रकाशनहरू नागरिक दैनिक र रिपब्लिका दैनिक छोटो समयमै लोकप्रिय बनेको उनले स्मरण गरे । ‘उहाँले पत्रकारितामार्फत चुनौती स्वीकार गर्न सबैलाई प्रेरित गर्नुभयो,’ प्रधानले भने, ‘त्यसले नेपाली पत्रकारिताको इतिहास बदलिदियो र हामी अहिलेको अवस्थामा आइपुगेका हौं।’

काठमाडौं पोस्टका पूर्व प्रधानसम्पादक अखिलेश उपाध्यायले २५ वर्षअघि नेपाली पत्रकारिताले एउटा ‘सेलेबल फेस’ खोजिरहेका बेला ज्ञवालीलाई पाएको स्मरण गरे। ‘उहाँको उपस्थितिले नेपाली पत्रकारितालाई ठूलो सहयोग पु-यो,’ उनले भने, ‘यस क्षेत्रले व्यावसायिक स्वरूप पनि ग्रहण ग-यो।’

भाषा, साहित्य, कला र संस्कृतिप्रति ज्ञवालीको निकै रुचि रहेको स्मरण गर्दै उपाध्यायले भने, ‘उहाँले भाषा, साहित्य र कलाको राम्रो कभरेज चाहिन्छ भनेर सधैं प्रेरित गरिरहनुभयो।’ दैनिक घटना र राजनीति मात्र होइन, समाजका विभिन्न पक्षलाई पत्रिकाले समेट्नुपर्छ भन्ने मान्यता ज्ञवालीमा रहेको उनको बुझाइ छ।

लामो समय सरकारी सेवामा बिताएका ज्ञवालीले सम्पादकीय विभागलाई कहिल्यै हस्तक्षेप नगरेको नागरिकका अर्का पूर्व प्रधानसम्पादक किशोर नेपाल बताउँछन्। ‘उहाँलाई सबैले आदर र सम्मान गर्थे,’ नेपालले भने, ‘उहाँको राम्रो अभिभावकत्व थियो।’ सरकारी सेवामा रहेका बेला प्रमुख जिल्ला अधिकारीका रूपमा ज्ञवालीले सुर्खेतलाई बस्नयोग्य सहर बनाएको नेपालले स्मरण गरे। अर्थ मन्त्रालयको सहसचिव रहँदा ज्ञवालीले निजीकरण कार्यान्वयनमा पनि विशेष योगदान गरेको चर्चा गर्दै नेपालले भने, ‘उहाँ निजामती कर्मचारी प्रशासनको मूल्यमान्यताप्रति इमानदार हुनुहुन्थ्यो।’

वरिष्ठ पत्रकार युवराज घिमिरे ज्ञवालीलाई आफूले धेरै सरल मान्छेका रूपमा पाएको बताए। उनले आफू कान्तिपुर दैनिकमा सम्पादक हुँदा अध्यक्ष ज्ञवालीबाट कुनै हस्तक्षेप नभएको स्मरण गरे। उनले भने, ‘म साढे तीन वर्ष सम्पादक हुँदा उहाँका कारण कुनै असजिलो महसुस गर्नु परेन। एउटा प्रकाशक उहाँ दिनदिनै सम्पादकको कार्यकक्षमा आउनुहुन्थ्यो। तर समाचार र विचारमा उहाँबाट हस्तक्षेप भएन। उहाँका केही निश्चित मूल्यमान्यता थिए। ती मूल्यमान्यताविपरीत पत्रिकामा विचार प्रकाशित हुँदा पनि कहिल्यै यसो किन गरियो भनेर सोध्नुुभएन।’ विपरीत विचारलाई पनि स्थान दिनुपर्छ भन्ने सम्पादकको भनाइलाई ज्ञवालीले सधैं स्वीकार गरेको स्मरण गर्दै घिमिरेले भने, ‘मेरो कार्यकाल सधैं सुखद रह्यो। उहाँमा कुनै दम्भ र अहं कहिल्यै झल्केन।’

यसैगरी पहिला कान्तिपुरमा कार्यरत र हाल अन्नपूर्ण पोस्टका प्रधानसम्पादक हरिबहादुर थापा ज्ञवालीलाई नेपालमा व्यावसायिक पत्रकारिताको माहोल सिर्जना गर्ने एक कुशल व्यस्थापक र नेतृत्वकर्ताका रुपमा चिन्छन्। थापाले भने, ‘मुलुकमा मिसन पत्रकारिता चलिरहेका बेला त्यसलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भन्नेमा उहाँको चिन्तन र लगनशीलतालाई सधैं सम्मान गर्नुपर्छ। मिसन पत्रकारितापछि व्यावसायिक पत्रकारितालाई संस्थागत गर्न उहाँको भूमिका उल्लेखनीय छ।’ कुशल प्रशासकसमेत भएको हैसियतले राज्य सञ्चालन र पत्रकारिता फरकफरक विषय हुन् भन्ने धारणा ज्ञवालीमा रहेको बताउँदै थापाले भने, ‘राज्य सञ्चालन विधि र प्रक्रियाबारे धेरैपटक उहाँले प्रशिक्षणसमेत दिनुभयो। व्यावसायिक पत्रकारिता र पत्रकारको हितमा उहाँले सकारात्मक कार्य गर्नुभएको छ।’

लेखक एवं स्तम्भकार रघुजी पन्त पनि नेपालमा व्यावसायिक पत्रकारिताको विकासमा ज्ञवालीको महत्वपूर्ण योगदान रहेको बताउँछन्। उनले भने, ‘उहाँ लेख्ने/बोल्ने बौद्धिक व्यक्तित्व हुनुहन्थ्यो। उहाँको निधन नेपाली समाजका लागि अपूरणीय क्षति हो। नेपालको व्यावसायिक पत्रकारितामा उहाँको भूमिका अतुलनीय छ।’

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष होमनाथ दाहालले पत्रकारिताका माध्यमबाट ज्ञवालीले नेपाली समाज परिवर्तनका लागि विशिष्ट योगदान पु-याएको स्मरण गरे। ‘नेपाली समाज परिवर्तनका लागि संस्थागत रूपमा पत्रिका प्रकाशनको सुरुवात गर्न हेमराज ज्ञवालीको विशिष्ट योगदान छ,’ दाहालले भने।

कान्तिपुर पब्लिकेसनको सुरुवात नेपाली पत्रकारिताका लागि कोसेढुंगाका रूपमा स्मरणीय रहिरहने दाहालले बताए। उनले भने, ‘नेपालमा व्यावसायिक पत्रकारिताको सुरुवात त्यतिबेलाबाट भएको हो। यसमा ज्ञवालीले पु-याउनुभएको योगदान अतुलनीय छ।’

त्यस्तै जयतु संस्कृतम्का महासचिव नवराज कट्टेल संस्कृत भाषा उन्नयनका क्षेत्रमा ज्ञवालीको योगदान उल्लेखनीय रहेको ठान्छन्। उनका अनुसार ज्ञवाली जयतु संस्कृतम्को स्वर्ण महोत्सव २०५४ का बेला संस्थाको कोषाध्यक्ष थिए। श्रीभद्र शर्माको निधनपछि ज्ञवाली सो संस्थाको अध्यक्ष भएको कट्टेलले बताए। उनले भने, ‘चारवर्षे कार्यकालमा उहाँले जयतु संस्कृतम्को अक्षयकोष वृद्धि गर्नुका साथै राष्ट्रियस्तरको संस्कृत सम्मेलन आयोजना गर्नुभएको थियो।’

भुवनेश्वर र पूर्णकुमारीका कोखबाट १९९५ साल चैत १७ गते रामनवमीका दिन गुल्मी जिल्लाको मानकोटमा जन्मिएका ज्ञवालीले वाराणसेय संस्कृत विश्वविद्यालयबाट शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका थिए। २०१७ देखि सरकारी सेवामा प्रवेश गरेका ज्ञवालीले २०४४ सम्म तत्कालीन श्री ५ को सरकारको सेवामा प्रमुख जिल्ला अधिकारी, महानिर्देशक र सहसचिव जस्ता पदमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए।

अध्यात्म र सनातन धर्मप्रति आस्थावान् ज्ञवालीका भन्सार प्रशासन एक विवेचना, योगवाशिष्ठसार, माण्डूक्योपनिषद्, पुष्पाञ्जलि, पौरखी पुर्खा र मेरो जीवनका पानाहरू, हाम्रो बद्री केदार यात्रा, हनुमान स्मृतिसहित दर्जन बढी कृति प्रकाशित छन्। कला, साहित्य, संस्कृतिसहितका विषयमा निरन्तर कलम चलाउँदै आएका ज्ञवालीले विभिन्न धर्मग्रन्थको नेपालीमा अनुवाद गरेका छन्।

उनका धर्मपत्नी लग्क्ष्मी र तीन छोरा विनोदराज ज्ञवाली, अच्युतराज ज्ञवाली र धु्रवराज ज्ञवाली छन्। स्वर्गीय हेमराज ज्ञवालीको शनिबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो।

प्रकाशित: २७ आश्विन २०७५ १५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App