coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शान्ति वार्ताका लागि तालिबानहरुले अमेरिकी दूत भेटे

काबुल- तालिबानहरुले अफगानिस्तानमा जारी हिंसाको अन्त्यका लागि आवश्यक शान्ति वार्ता गर्न अमेरिकी दूतलाई भेटेको खुलेको छ। उनीहरुका प्रतिनिधिले शुक्रबार औपचारिक रुपमा कतारमा अमेरिकी दूतसँग भेटवार्ता गरेको सो सङ्गठनले एक विज्ञप्तिमार्फत पुष्टि गरेको हो। 

यसअघि उनीहरुले सो भेटवार्ता भएको भन्ने बारेमा अस्वीकार गरेको भए पनि शनिबार भने उनीहरुले अमेरिकी दूतसँग कतारमा भेटावार्ता गरेको भनी आफ्नो आधिकारिक वेबसाइटमार्फत पुष्टि गरेका समाचारमा जनाइएको छ। 

तालिबान सङ्गठनका तर्फबाट खलिलजाद र अमेरिकी एकजना अधिकारीबीच कतारमा शुक्रबार भेटवार्ता भएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जानकारी दिएका छन्। प्रवक्ता मुजाहिदले पत्रकारका लागि भन्दै जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो। 

साथै यही भेटघाट पछि नै यसअघि पनि तालिबानका प्रतिनिधिले गएको जुलाई महिनामा अमेरिकी दूतसँग बारम्बार भेटवार्ता गरेको खुलेको छ। 

गएको जुन महिनामा तालिबानहरुले अफगानिस्तानको सरकारसमक्ष युद्धविराम गरेका थिए। उनीहरुको युद्धविरामपछि अमेरिकी सरकारले पनि युद्धविरामको घोषणा गरेको थियो। 

सो घोषणापछि अमेरिकी प्रस्तावमा शान्तिवार्ताका लागि तालिबानका प्रतिनिधिले अमेरिकी दूतसँग भेटवार्ता गरेका बताइएको थियो। 

तर सो समयमा अमेरिकी दूतले अफगान सरकार र तालिबानबीच वार्ता गराउनका लागि गरेको भनिएको पहल सार्थक हुन सकेको थिएन। 

अमेरिकाले गरेको सो वार्ताको प्रस्ताव र प्रयासकै बीचमा यता अफगानिस्तानमा तालिबान र अर्काे आतङ्ककारी समूह इस्लामिक स्टेटले भीषण हमलाहरु शुरु गरेका थिए। 

सो हमलापछि भने वार्ताको पहल रोकिएको थियो। त्यसपछि अफगान राष्ट्रपतिले पनि वार्ताका लागि तालिबानहरुसँग बारम्बार आह्वान गरेका थिए।

शुक्रबार भएको सो वार्ताको बारेमा अमेरिकाले भने केही प्रतिक्रिया दिन चाहेन। काबुलमा रहेको अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिन नचाहेको बताइएको छ। 

प्रकाशित: २७ आश्विन २०७५ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App