८ वैशाख २०८१ शनिबार
समाज

मदिरासहित एक भारतीय पक्राउ

लहान – प्रहरीले शनिबार सिरहा नगरपालिका–२१ लगडीगोठबाट दुईवटा भारतीय नम्बरको मोटरसाइकलमा लोड गरी भारत तस्करी गरिरहेको १० कार्टुन मदिरा सहित १ जनालाई पक्राउ गरेको छ।

लगडीगोठबाट बोरामा भरिएको मदिराको कार्टुन बोकेर सीमापारी जोगियातर्फ गइरहेको बिआर ०६ टी ५४५५ र बिआर ३२ ई ९०६६ नम्बरको मोटरसाइकलसहित मधुवनी जिल्ला जोगीया ग्रमपञ्चायत १ का चन्दन यादव (१८) लाई पक्राउ गरेको सिरहा प्रहरी प्रमुख (एसपी) जीवन कुमार श्रेष्ठले जानकारी दिए।

१० कार्टुन मदिरा र दुई थान मोटरसाइकलसहित पक्राउ परेका भारतीय नागरिकलाई कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माड्र पठाइएको एसपी श्रेष्ठले बताए। भारतको बिहार सरकारले मदिरा निषेध गरेपछि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँसहरमा पुर्याउँदै आएका छन्।

नेपालका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा  सीमावर्ती लगडीगोठमा भण्डारण गर्ने र अनुकूल समयमा सीमा पारी भारतीय सहर पुर्याउने धन्दा मौलाएको सामाचार र भिडियो नागरिकन्यूजमा सार्वजनिक भएपछि सिरहा प्रहरी नियन्त्रण अभियान सुरु गरेका छन्।

दिउँसै सिरहाको माडर बजारमा उद्योगबाट सिल भएर आएको कार्टुनबाट मदिराका बोतल अर्को कार्टुनमा प्याक गरी बोरामा राखेर साइकल मार्फत सीमावर्ती लगडीगोठ पुर्याइन्छ। यहाँ मदिरा भण्डारण गरी पारी ड्युटीमा रहेका एसएसबीहरू लञ्च टाइममा ब्यारेक फर्केपछि धमाधम मदिराको कार्टुनले भरिएका बोरा पारी पुर्याउने क्रम अझै रोकिएको छैन्। प्रहरीले फाटफुट रुपमा यस अघिपनि मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाएको थियो।

प्रकाशित: २७ आश्विन २०७५ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App