६ वैशाख २०८१ बिहीबार
समाज

दसैँको मुखमा खडेरी पीडितलाई राहत

पाँचथरको तुम्बेवामा खडेरी पीडितलाई राहत वितरण गरिँदै । तस्बिरः नागरिक

पाँचथर – यसपालीको वर्षायाममा चर्को खडेरीका कारण बालीनाली नष्ट भएका पाँचथर, तेह्रथुम र धनकुटाका सात स्थानीय तहका बासिन्दालाई दसैंको मुखमा १ नम्बर प्रदेशको अगुवाइमा राहत वितरण प्रारम्भ भएको छ। केही दिन अगाडि भएको प्रदेश सरकारको निर्णय बमोजिम पूर्ण रुपमा क्षती पुगेका स्थानीयलाई प्रतिपरिवार ७ हजार ५ सयका दरले राहत वितरण प्रारम्भ गरिएको हो। 

दसैँको बिदा अगाडिनै खडेरी पीडितलाई राहत पुर्याउने काम अघि बढाइएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले जानकारी दिए। तीन जिल्लाका खरेडीबाट पूर्ण क्षती खेपेका ३ हजार ७ सय ९० परिवारलाई राहत प्याकेज अघि बढाइएको उनले जानकारी दिए।  उनका अनुसार प्रदेश सरकारको तर्फबाट ५ हजार र  स्थानीय सरकारले २ हजार ५ सय गरी हरेक परिवारलाई ७ हजार ५ सय परिवारलाई राहत दिन लागिएको हो। प्रदेशले गाउँपालिकाको खातामा पैसा जम्मा गरिसकेकाले दुई–तीन दिन भित्र राहत पाउने मन्त्री आङ्बोले जानकारी दिए।

स्थानीय तह र राजनीतिक दलको संयुक्त टोलिले पहिचान गरेका पूर्ण क्षती भएका परिवारलाई तत्कालमा राहत वितरण हुने आङ्बोले जानकारी दिए। पूर्ण क्षती, आंशिक र सामान्य क्षती हुनेको विवरण संकलन गरिएको थियो। पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिका, तेह्रथुमको छथर, आठराई र फेदाप गाउँपालिकाका साथै म्याङलुङ नगरपालिका र धनकुटाको चौविसे गाउँपालिकामा खरेडीबाट बालीनाली पूर्ण रुपमा क्षती भएका बासिन्दालाई राहत प्रदान गर्न सुरु गरिएको हो। प्रदेश सरकारले १ करोड ८९लाख ५० हजार र स्थानीय सरकारले ९४ लाख ७५ हजार गरी २ करोड ८४ लाख ८५ हजार रुपैयाँ राहत वितरण सुरु भएको हो।चाडबाडको मुखमा खाद्य संकट नहोस भनेर राहत वितरण गर्न प्रारम्भ गरीएको आङ्बोले बताए।

शुक्रबार पाँचथरको तुम्बेवा गाउँपालिकाबाट राहत वितरण सुरु भएको छ। तुम्बेवा गाउँपालिकामा ७ सय ६९ परिवार खरेडीबाट पूर्ण क्षती भएका परिवारको सूचिमा परेका छन्। राहत लिन पीडितहरूको लर्को लागेको छ। सूचिकृत पीडित परिवारलाई टोलटोलमा पुगेर राहत वितरण थालिएको गाउँपालिका प्रमुख होम थाापाले जानकारी दिए। चर्को खरेडीले स्थानीयबासी पीडित भएपछि प्रदेश सरकार मन्त्री आङ्बो नेतृत्वमा सासद, विभागीय कर्मचारी सहितको ६ सदस्यीय टोली बनाएर आवलोकन गराएको थियो। टोलिको प्रतिवेदनका आधारमा प्रदेश सरकराले राहत घोषणा गरेको हो।

दीर्घकालीन समस्या समाधानका लागि समेत सरकारले काम अघि बढाउने मन्त्री आङ्बोले जानकारी दिए। तुम्बेवा गाउँपाकिामा ६ सय ७९, कुम्मायक गाउँपालिकामा ३ सय ११, तेह्रथुमको छथर गाउँपालिकामा ८ सय ४५, म्याङलुङ नगरपालिकामा २ सय ४, आठराई गाउँपालिकामा ४ सय ८६, फेदाप गाउँपालिकामा ६ सय ३५ र धनकुटाको चौबिसेमा ५ सय ३१ जना पूर्ण क्षती हुनेको सूचिमा छन्। दसैँको मुखमा राहत पाउँदा तुम्बेवाको चुहाडेका दलबहादुर खत्रीले खुसी व्यक्त गरे। आगामी दिनमा थप राहतको अपेक्षा रहेको उनले सुनाए।

स्थानीय तहको प्रमुखको संयोकत्वमा दैविक प्रकोप जिल्ला समितिको अधिकृत प्रतिनिधि, प्रशासकीय प्रमुख सदस्य सचिव, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू सदस्य र सम्बन्धित वडा अध्यक्ष पदेन सदस्य हुने गरी राहत वितरण समिति बनाइएको छ। तुम्बेवा गाउँपालिकामा खानेपानी बोक्ने ट्याङकर खरिद गर्ने तयारी अघि बढेको आङबोले बताए।

प्रकाशित: २७ आश्विन २०७५ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App