४ वैशाख २०८१ मंगलबार
प्रवास

दुई मन्त्री सहित अाधी दर्जन सरकारी अधिकारीकाे बेलायतमा दशैं

लण्डन - उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराई, वन तथा स्वास्थ्य मन्त्रालयका सरकारी कर्मचारी लगाएत आधी दर्जन भन्दा बढी सरकारी अधिकारी सहभागी भएर बेलायतमा दशैं मनाएका छन् ।  उनीहरु  नेपाली दूतावास लण्डनले शुक्रवार साँझ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । आउँदै गरेको विजयादशमी, शुभदीपावली, छठपर्व तथा नेपाल संवतको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको हो।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जहाँ बसे पनि आफ्नो संस्कृति पहिचानलाई कायम राख्दै अगाडि बढ्नु पर्ने बताए। उनले नेपालमा सांस्कृतिक, जातीय, भाषिक, भौगोलिक विविधता रहेको बताउँदै यी विविधताको बीचमा एकता रहेको बताए। उनले नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनको परिणाम संघीय संविधान भएको बताए। यादवले नयाँ सोचका साथ नयाँ यात्रा शुरु भएको बताउँदै अन्य मुलुकको प्रयोग हेरेर अगाडी बढ्नु पर्ने बेला आएको बताए।

त्यस्तै कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले नेपालमा विभिन्न राजनैतिक व्यवस्थापनको लागि लामो समयसम्म बेथित भएको स्मरण गर्दै अब राजनीतिक व्यवस्थापन भइसकेको बताए। उनले राजनीतिक व्यवस्थापनसँगै आर्थिक विकास गरेर जनतालाई त्यसको अनुभूति दिन नसके प्राप्त राजनीतिक व्यवस्थापन समेत कमजोर हुने बताए।

वेलायत स्थित नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले वेलायतमा नेपाल छ भन्ने अनुभूति दिने गरी नेपाली समुदायलाई दूतावास भवनमा निम्तो दिएर शुभकामना आदनप्रदान गर्ने अवसर दिएकोमा दूतावास प्रति आभार व्यक्त गरे।

सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईले शुभकामना मन्तव्य दिँदै नेपालको संविधान समावेशी भए पनि भाषागत कमजोरी रहेको बताए। उनले नेपालमा सात वटा संविधान बनिसक्दा पनि मुलुकी ऐन संसोधन हुन नसकेको बताउँदै अहिले सबै पक्षको सहयोगबाट विस्तृत कानूनी संरचना बनाउन सफल भएको बताए।

कार्यक्रम उपस्थित अतिथिहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले चाडपर्वले नेपाली भएर बाँच्न र नेपाली भएर हाँस्न, अँध्यारोबाट उज्यालो, विविधा बीचको एकता कायम गर्ने विचार ब्यक्त गरे।

कार्यक्रममा प्रोफेसर सूर्य सुवेदी, गायिका मिरा राणा, म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योग कुमार फगामी लगायतको उपस्थिति थियो। सोही कार्यक्रममा सगरमाथा आरोही निर्मल पुर्जालाई सम्मान गरिएको थियो भने सयपत्री सांस्कृतिक परिवारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।

प्रकाशित: २७ आश्विन २०७५ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App