८ वैशाख २०८१ शनिबार
अन्य

५ लघुकथा

किशोर पहाडी

अनियन्त्रित
बस स्टपमा बस देखेर झटपट चढेँ । “आज बसको हर्न नै बिग्रेछ” ड्राइभरले भन्यो । बसका यात्रुहरू चनाखो भए । कसैले भन्यो - “हर्न नभएको बस पनि चलाउन हुन्छ  त ?” ढ्याक् ढ्याक् ... खलासीले बस बजायो । बस हिँड्यो । “लौ, आज किन गेयर पनि फँसेछ ” ड्राइभरले गेयरलाई कडासाथ चलाउन खोज्दै भन्यो । “छ्याााा...कस्तो गाडी रहेछ !” — यात्रु कराए। अब बस ओरालोतिर दर्गुन थाल्यो । ड्राइभरले आत्तिँदै खुट्टाले ब्रेक थिच्दै भन्यो — “लौ, ब्रेक पनि त लागेन।” ऊ हडबडाउन थाल्यो । म विस्फारित नेत्रले ऊतिर हेर्न थालेँ । ऊ ब्रेक थिचेको थिच्यै थियो । मलाई लाग्यो— ऊ ब्रेक लगाउन आत्तिँदै हामी सबै यात्रुलाई भनिरहेछ— “म तपाईहरू सबलाई मार्न गइरहेछु।” भगवान पुर्कान अनि म वाध्य भएँ । बस त मेरो देशजस्तै भएछ । 
...
आगमन
हत्या/हिँसा/ भूकम्प/दैवी प्रकोप/युद्ध । मानिसको संख्या घट्दै छ/घट्दै छ । यो संसारको एउटा सुनसान कोठामा नाक र मुख ड्याम्म कपडाले छोपेका तिनीहरू चारैतिर थिए । तिनीहरूको बीचमा प्रतिमा थिई (आफ्ना नाङ्गा खुट्टा दुवैतिर फाटेर उत्तानिएकी) उसका कपडा जम्मै कम्मरमा थुप्रिएको थियो। कपडा जस्तै प्रतिमाको अनुहार पनि पीडाले गुचुमुच्च परेको थियो । आँखाबाट आँसु चुहिरहेको थियो। ऊ लामो सास फ्याँक्दै थिई । नाक र मुख छोपेका तिनीहरूका ऊ डरलाग्दा आँखा मात्र देखिरहेकी थिई । तिनीहरू सबै गढेर प्रतिमालाई हेरिरहेका थिए। प्रतिमा पीडा र भयले चिच्याउँदै थिई। नाक र मुख छोपेका दुई जना महिलाहरू उत्तानिएकी प्रतिमाका दुईतिर उभिए र दुवै घुँडा  दुईतिर फाटिदिए। नाक मुख छोपेको एक पुरुष प्रतिमातिर घोप्टे झैँ गर्यो । प्रतिमा झन् चिच्याई ।
’अय्या .................’, प्रतिमा झन् चिच्याई ।
अन्ततः प्रतिमाको मुखबाट एउटा अत्यन्त ठूलो चित्कार निस्क्यो र वातावरणमा एउटा बालकको रोदन सुनियो – ’चिहाँ ...चिहाँ ...।’ नाक र मुख छोपेकाहरू सबै खुशी भए । प्रतिमा सबैभन्दा बढी खुशी भई ।
’बधाई छ ... छोरा भयो’ – नाक र मुख छोपेका मध्येको सबैभन्दा बढी उमेरकी महिलाले प्रतिमालाई भनी। प्रतिमाको आँखाको आँसु सुकेझैँ भयो – ’थ्यांक यू डाक्टर !’ मानिसको संख्या यसरी बढ्दै छ । बढ्दै छ।                                    ...
पाँचौ घटना
पहिलो घटना –वरिष्ठ लेखक प्रदीपजीको हृदयरोग तथा मधुमेहको कारण केही वर्ष अगाडि निधन भयो।
दोश्रो घटना– स्व. प्रदीपजीका भिन्न मित्र ज्ञानेशजीले परिवार समक्ष एउटा ‘प्रदीप स्मृतिग्रन्थ’ निकाल्ने प्रस्ताव राखे।तेश्रो घटना –प्रदीपजीका दुवै छोराहरूले यो कुरामा स्वीकृति दिए र रचना सङ्कलनको काम शुरु भयो।
चौथो घटना– करीब पचास वटा रचना सङ्कलन भएपछि ज्ञानेशजी र दुवै छोराहरू प्रेसमा गएर इस्टिमेट गरे । प्रेसवालाले  स्मृतिग्रन्थ निकाल्न एक लाख रुपैयाँ जति पर्ने हिसाब देखायो।
पाँचौ घटना–प्रदीपजीको जेठो छोरोले कान्छोको अनुहारमा हेर्यो । कान्छोले जेठोको अनुहारमा।
... ... ...र यो पाँचौ घटनापश्चात् “प्रदीप स्मृतिग्रन्थ“ कहिल्यै निस्केन, जबकि प्रदीपजीले सम्पत्ति त चार करोडभन्दा बढी छाडेर गएका थिए।
...
मिथ्या
ऊ विस्तारै त्यो निर्माणाधीन घरको मूल ढोकाबाट भित्र छिर्यो । ढोकामा खापा थिएन । छिर्न उसलाई सजिलो भयो । विस्तारै त्यो ढोकाबाट ऊ सिंढीतिर गयो ।  सिंढी चढ्न थाल्यो  । सिंढीमा प्लास्टर गरिएको थिएन। त्यसो त अर्को तलाको सिंढी पनि प्लास्टर गरिएको थिएन तर त्यसमाथि ईंटाको टुक्रा र प्रयोग भइसकेका सिमेन्ट मसलाको सुकेको डुंगुर थियो  । ऊ त्यसमाथि पनि चढेर गयो । त्यसपछि ऊ त्यो निर्माणाधीन घरको छतमा पुग्यो । चारैतिर यसो हे¥यो र सँगैको सुन्दर घरमा हामफाल्यो । त्यो सुन्दर घरको माथिल्लो तलामा भान्छाकोठा थियो । ऊ त्यहाँभित्र छि¥यो र भाँडा उघार्दै हेर्नथाल्यो । ग्यास चुल्होमाथिको भाँडामा पहिलेको बाँकी रहेको भात रहेछ । कति दिनदेखि खान नपाएको  भोको ऊ सपासप त्यही भात खान थाल्यो र  खाइसकेपछि अन्त कतै केही नगरी आएकै बाटो निर्माणाधीन घरमा छिर्यो । अनि तल झर्दै बाहिरियो। भोलिपल्ट त्यो सुन्दर घरमा प्रहरी आयो र सर्जमिन गर्न थाल्यो । चोरी भएको लिस्टमा चोरी नै नभएका कसौंडी एक वटा, स्टीलको थाल पाँच वटा, रिकापी सत्र वटा, चम्चा दस वटा, चाँदीको थाल एक वटा– सबै हराएको भनी लिस्ट बन्यो । तर साँच्चिकै चोरी भएको बासी भातको चाहिं लिस्टमा नाम टिपिएकै थिएन।
...
अर्थबोध
एक दिन छोरोले सोध्यो –“आमा ! डाँका भनेका कस्ता हुन्छन् ?’ मैले जवाफ दिएँ – “हाम्रा राजनैतिक नेता जस्ता हुन्छन्, बाबु !’ छोरो अलि मन्द बुद्धिको – बुझेनछ  । मलाई सम्झाउँदै सोध्यो –“होइन क्या, डाँका भनेको ...’ “अँ त, हाम्रा राजनैतिक नेता डाँकाजस्ता त हुन् नि !... उनीहरूले जनताका मानसिकतामाथि डकैती गरेका छन् । ठूलो आशा देखाएर जनतालाई बिल्लीबाँठ पारिदिएका छन् उनीहरूले ।... देश र जनताको वास्ता छैन । आफ्नो स्वार्थ पूरा गर्नमा मस्त छन् उनीहरू...’ त्यसपछि मन्द बुद्धिको त्यो मेरो छोरो बुझक्कड बनेर खुशी भयो । मलाई लाग्यो – छोरोको प्रश्नको उत्तर दिएर मैले तमाम भ्रष्ट नेताहरूप्रतिको आफ्नो आक्रोश शान्त पारें। कालान्तरमा अर्को वर्ष – एक दिन हाम्रो घरमा साँच्चिकैका तीन डाँकाहरू दन्दनाएर पसे  । तीनै जनाका आँखाहरू ठूला ठूला थिए  । पाखुराहरू मांसपेशीय थिए  । छातीहरू चाक्ला थिए र ती तीनै जना हतियारले सुसज्जित थिए। अचानक अगाडि आएका तिनीहरूलाई देखेर डरले मेरो मुखबाट निस्क्यो –“आम्मै ! डाँकाहरू पो आएछन् ।’ छोरो र म बाहेक कोही थिएनन् घरमा, त्यसैले म डराएँ  । आत्तिएर मैले के गर्ने भनी सोच्न नै भ्याइन  ।

तर मेरो छोरो चाहिं निर्धक्क थियो । ऊ फटाफट ती डाँकाहरूको अगाडि गएर कम्मरमा हात राखी उभियो र सोध्यो – तपाईहरू कुन पार्टीको हँ ?                                    

प्रकाशित: २७ आश्विन २०७५ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App