coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लोकसेवामा प्रदेश २ बाट मात्रै २५ प्रतिशत आवेदन

काठमाडौं - सरकारी सेवा प्रवेशका लागि लोकसेवा आयोगद्वारा गरिएको विज्ञापनमा सबैभन्दा बढी प्रदेश नम्बर २ बाट आवेदन पर्ने गरेको पाइएको छ। आयोगको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनअनुसार विज्ञापनमा पर्ने कुल आवेदनमध्ये प्रदेश नम्बर २ बाटमात्रै २५ प्रतिशत पर्ने गरेको छ । आयोगले प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।

आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार स्थायी ठेगानाका आधारमा प्रदेश नम्बर २ बाट मात्रै कुल आवेदनको २५ प्रतिशत परेको छ। जसअन्तर्गत सबैभन्दा बढी आवेदन पर्ने जिल्लामा क्रमशः सप्तरी, धनुषा, सिरहा, सर्लाही, महोत्तरी र रौतहट छन्। सबैभन्दा कम आवेदन पर्ने जिल्लामा भने मनाङ, मुस्ताङ, रसुवा, डोल्पा र मुगु छन्।

आयोगका अनुसार उमेरगत आधारमा हेर्दा आवेदन दिनेमध्ये २१ देखि २५ वर्ष उमेर समूहका ३८ प्रतिशत छन्। आवेदन दिने उम्मेदवारको औसत उमेर २६ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ५ हजार ९ सय ७० पदका लागि १ हजार २ सय ४ वटा विज्ञापन प्रकाशन गरिएको थियो। जसअन्तर्गत समावेशी प्रतियोगितातर्फ १ हजार ८ सय ७ पदका लागि विज्ञापन गरिएको थियो। विगत १० वर्षको अवधिमा दरखास्तको संख्या करिव ६ गुणाले वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०६५/६६ मा कुल दरखास्त संख्या ८६ हजार १ सय ६८ रहेकोमा २०७४/७५ मा बढेर ५ लाख ६७ हजार ८ सय ५३ पुगेको छ। तर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष दरखास्त संख्यामा ३३ प्रतिशतले कमी आएको आयोगले जनाएको छ । आयोगका अनुसार २०७४/७५ मा खरिदार पदमा सबैभन्दा बढी अर्थात् १ लाख ४६ हजार ४ सय ७६ वटा आवेदन परेका थिए।

आयोगले विगतमा प्रतिवेदनमार्फत दिइएका सुझाव कार्यान्वयन स्थितिको समीक्षा गरी यसपटक अलग्गै परिच्छेदमा प्रस्तुत गरेको प्रवक्ता शर्माले जानकारी दिए। आयोग अध्यक्ष उमेश मैनालीले केही महत्वपूर्ण नीतिगत विषयमा प्रतिवेदनमार्फत सरकारलाई सुझाव दिइएको बताए। उनले भने, ‘ती सुझावलाई सरकारले गम्भीरतापूर्वक लिई नीतिनिर्माण एवं कानुन तर्जुमा हुने अपेक्षा गरिएको छ।’

प्रकाशित: २७ आश्विन २०७५ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App