काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ। यो भाउ २०६९ भदौयता सबैभन्दा महँगो हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ बिहीबार ५९ हजार ३ सयमा कारोबार भएको सुन एकै दिनमा ७ सयले बढेर उच्च विन्दुमा पुगेको हो। ‘आज (शुक्रबार) को मूल्य ६ वर्षयताकै महँगो हो,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘२०६९ भदौमा प्रतितोला ६३ हजार ५ सयसम्म पुगेको थियो।’ उनका अनुसार प्रतितोला ६० हजार भनेको २०६९ भदौ महिनापछिको सबैभन्दा महँगो हो। दुई वर्षअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४७ हजार ७ सयसम्म झरेको थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एकै दिन प्रतिऔंस २७ अमेरिकी डलरले सुनको मूल्य वृद्धि भएको थियो। बिहीबार प्रतिऔंस १ हजार १ सय ९४ डलरमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतिआैंस १ हजार २ सय २१ डलर पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकस्मात वृद्धि भएको र त्यसको असर स्थानीय बजारमा परेको शाक्यले बताए।
महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य गिरावट हुदा सुनको मूल्य बढेको हो। अमेरिकी डलर उच्चतम विन्दुमा पुगिरहेका बेलामा अकस्मात ओरालो लागेर कमजोर बनेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय सेयर बजार पनि कमजोर हुँदै गएको छ। सेयर बजार कमजोर हुँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन्। अन्तर्राष्ट्रिय स्तरका केही कम्पनीको सेयरको मूल्य एक्कासि घटेपछि त्यसले सुनको भाउलाई असर गरेको शाक्यले बताए।
स्थानीय बजारमा सुनको मूल्य बढ्नुमा छिमेकी मुलुक भारतको बजारले पनि सहयोग गरेको छ। हिन्दुहरुको चाड दसैं, तिहार र छठ आउँदै गर्दा भारतीय बजारमा सुनको खपत बढेको बज्राचार्यले बताए। त्यसले सुनको मूल्य बढाउन सहयोग गरेको छ। भातीय रुपैयाँ डलरसँग कमजोर हुँदा पनि सुनको मूल्य वृद्धि भएको विश्लेषण छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै केही दिन बढ्न सक्ने अनुमान गरिएको छ। अमेरिकी डलर र सेयर बजार कमजोर बन्दै जाने संकेतसँगै सुनको मूल्यमा वृद्धि हुन सक्ने विश्लेषकले अनुमान गरेका छन्।
मूल्य बढाउने प्रमुख कारक माग पनि हो। तर स्थानीय बजारमा सुनको मूल्यवृद्धिमा मागको भूमिका छैन। विगतमा दसैं, तिहार, छठलगायतका चाडपर्वले स्थानीय बजारमा सुनको खपत बढाउने भए पनि यसपालि माग खासै बढ्न नसकेको बज्राचार्यले बताए। ‘यस बेला जसरी सुनको व्यापार हुनुपर्ने हो त्यसरी हुन सकेको छैन,’ बज्राचार्यले भने, ‘बजारमा सुनको माग बढेको छैन।’
सरकारले चाडपर्वको अवसर पारेर सुन आयातको कोटासमेत बढाएको छ। सामान्य दिनमा दैनिक २० केजी आयात भएकोमा चाडपर्वमा हुने खपतलाई ध्यानमा राखेर राष्ट्रबैंकले दैनिक आयात २५ केजी पु-याएको छ। केही हप्ताअघि नै राष्ट्रबैंकबाट यो निर्णय भए पनि बिहीबारदेखि मात्र कार्यान्वयन भएको र यसको असर दसैंपछि देखिने बज्राचार्यको भनाइ छ।
प्रकाशित: २७ आश्विन २०७५ ०१:१० शनिबार