५ वैशाख २०८१ बुधबार
समाज

तिर्खा मेटाउन कर्णालीको पानी

विद्यालय समयमा कर्णाली नदीबाट पिउनका लागि पानी ओसार्दै जनज्योति मावि, दैलेखका विद्यार्थी। नदीको पानी पिउन योग्य नभए पनि शिक्षक र विद्यार्थी यसैले तिर्खा मेटाउन बाध्य छन्। तस्बिर : गोविन्द/नागरिक

दैलेख - अछामको पञ्चदेवल विनायक नगरपालिका–४, चेलकालाकी सुशीला बोहरा दैलेखको आठबीस नगरपालिका–४, राकमस्थित जनज्योति माध्यमिक विद्यालयमा १० कक्षाकी छात्रा हुन्। गाउँमा माध्यामिक तहको पढाइ नहुँदा उनी पढ्न राकम आएकी हुन्। विद्यालयमा खानेपानी अभाव भएका कारण उनले नजिकै रहेको कर्णालीको पानी पिउन थालिन्। मनले नमान्दानमान्दै पनि उनले बाध्य भएर खोलाको पानी पिउनु प-यो। त्यही पानीकै कारण उनी धेरैपटक बिरामी पनि भइन्। गाउँकै निमाविमा पढ्दा कहिल्यै खानेपानीको अभाव भएन। सफा, फिल्टरको पानी पिउथिन् उनी गाउँकै स्कुलमा पढ्दा। तर, मावि पढ्न राकम आएपछि कर्णालीको दूषित पानी पिउनपर्ने बाध्यता आइलाग्यो।

बोहरा प्रतिनिधिपात्र मात्र हुन्। जनज्योति मावि राकम पढ्ने खानेपानी लिन विद्यालय नजिकै रहेको कर्णाली नदीमा धाउँछन्। दिउँसो १ बजेको मध्यान्तर छुट्टीमा खोला किनारमा विद्यार्थीको लामन नै लाग्छ। ९ कक्षा अध्ययन गर्न राकम आएपछि नदीको प्रदूषित पानी पिउनुपर्ने बाध्यता सुरु भएको बोहराले बताइन्। ‘नदीको पानी खाएकै कारण म सुरूसुरूमा त सातैपिच्छे बिरामी हुन्थे,’ उनी भन्छिन्, ‘पेट दुख्ने, झाडापखालाजस्ता समस्या त अहिले सामान्य भइसके।’

दैलेखको आठबीस नगरपालिका–४, राकमस्थित जनज्योति माविका विद्यार्थी कर्णाली नदीबाट पानी ओसारेर पिउन बाध्य छन्। राकम आठबीस नगरपालिकाको मुकाम भए पनि विद्यालयमा खानेपानीको व्यवस्था हुन नसक्दा विद्यार्थी खोलाको पानीले तिर्खा मेटाउँछन्।

त्यस्तै ९ कक्षामा अध्ययनरत विनोद माझी पनि तिर्खा मेटाउन कर्णालीको पानी नपिई नहुने बताउँछन्। पढाइमा ध्यान दिनुपर्ने बेलामा तिर्खा कसरी मेटाउने भन्ने चिन्ताले सताउने उनले बताए। तिर्खा मेटाउन कर्णाली नदीमा पानी भए पनि त्यो पिउनयोग्य नभएको उनको भनाइ छ। पिउनयोग्य नभए पनि त्यसैले तिर्खा मोटाउनुपर्ने बाध्यता रहेको उनले बताए। वर्षाको भेल होस् या हिउँद विद्यालयका शिक्षक र विद्यार्थी कणालीको पानी पिउन बाध्य छन्। विद्यार्थीले पालैपाले विद्यालयमा नदीबाट पानी बोकेर ल्याउँछन्। ‘शिक्षकले कक्षामा स्वच्छ र सफा, ढाकेको पानी खानुपर्छ भनेर सिकाउनु हुन्छ,’ विनोद भन्छन्, ‘तर व्यवहारमा कर्णालीको धमिलो पानी जर्किनमा भरेर विद्यालयमा ल्याउनुपर्छ र त्यही पिउनुपर्छ।’

राकम आठबीस नगरपालिकाको सदरमुकाम भए पनि पनि खानेपानीको सुविधा छैन्। राकमका टाठाबाठाहरुले आफूहरुका लागि सीमित खानेपानीको मुहान ओगटेर घरमा धारा जोडेका छन् तर, विद्यालयका लागि स्वच्छ खानेपानी छैन । कक्षाकोठा व्यवस्थापन गर्न, हातमुख सफा गर्न र पिउने पानीका लागि कर्णाली नदीकै भर पर्नुपर्छ शिक्षक र विद्यार्थी। विद्यालयमा अहिले ८ सय ७३ जना विद्यार्थी भर्ना छन्। विद्यालयमा खानेपानीसँगै शौचालयको पनि समस्या छ। यी दुवै समस्याले विद्यार्थीलाई हरेक दिन पिरोल्छ। यही समस्याले धेरै विद्यार्थी नियमित विद्यालय आउँदैनन्।

विद्यालयका कम्प्युटर शिक्षक रमेशकुमार माझीले अहिलेसम्म धेरै निकायलाई खानेपानी समस्या समाधान गर्न आग्रह गरे पनि कसैले नसुनेको बताए। गत वर्ष नगरपालिकाले विद्यालयको खानेपानी समस्या समाधान गर्न भनेर २ लाख ५० हजार रुपैयाँ रकम विनियोजन गरेको थियो। स्थानीय वीरेन्द्र माझी अध्यक्ष रहेको उपझोक्ता समितिले पाइप बिच्छ्याएरै उक्त रकम सक्यो। पानी विद्यालयसम्म आउन सकेन् । अहिले बिच्छयाएको पाइप पनि हराएको स्थानीय बताउँछन्। विद्यालयको सबैभन्दा ठूलो समस्या खानेपानी रहेको प्रधानाध्यापक खड्गराज शर्माले बताए। विद्यालयमा खानेपानी सुविधा नहुँदा विद्यार्थी समूह बनाएरै कर्णाली नदीबाट पानी ल्याउने गरेको उनले स्वीकारे । उनका अनुसार कर्णालीको पानी पिउन योग्य छैन।

प्रकाशित: २७ आश्विन २०७५ ००:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App