८ वैशाख २०८१ शनिबार
अर्थ

जागिर र हिरोको अफर छोडेपछि उद्योगी

रसियाबाट सिभिल इन्जिनियरमा पिएचडी गरेका ताराप्रसाद पोख्रेल पेशाले उद्योगी हुन् । अग्नि सिमेन्टका सञ्चालक पोख्रेलले अन्य ४ ब्रान्ड सिमेन्ट उत्पादन गरिरहेका छन् । कान्तिपुर इन्जिनियर कलेजका अध्यक्षसमेत रहेका पोख्रेलको अन्य थुप्रै ठाउँमा लगानी र संलग्नता छ । कुनै बेला उनी सरकारको ओभरसियरका रुपमा जागिरेसमेत रहेका थिए । 

सानैदेखि कलाप्रेमी पोख्रेलले ‘मोहनी लाग्ला है’ फिल्मको निर्माता मात्र बनेनन् नयाँ जीवन रेखासहित अरू केही फिल्ममा अभिनयसमेत गरेका छन् । हेर्दा अग्ला र हेन्डसम पोख्रेललाई नेपाली फिल्म क्षेत्रकै चर्चित फिल्म युगदेखि युगसम्ममा मुख्य भूमिका खेल्ने अफरसमेत आएको थियो । सरकारी जागिर र फिल्मको हिरो बन्ने अवसर छोडेका तिनै पोख्रेलसँग नागरिक परिवारका लागि सन्तोष न्यौपानेले गरेको कुराकानी: 

अग्नि सिमेन्टको अहिलेको अवस्था कस्तो ?

अग्नि सिमेन्ट उत्पादन सुरु भएको करिब एक दशक भएको छ । हामीले आफ्नै प्रयासमा धेरै मिहिनेत गरेर उद्योग सुरु गरेका हौं । त्यो बेला नेपालमा लगभग सबै सिमेन्ट विदेशबाट आयात हुने अवस्था थियो ।  
मेरो आफ्नो विषय भएकाले सिमेन्ट उद्योग खोल्नु रुचि पनि हो । सुरुमा हामीले ग्रान्डिङबाट सिमेन्ट उत्पादन सुरु ग¥यौं । सुरुका दिनमा बजार लिन गाह्रो भयो । सुरुका दिनमा उपभोक्ताको विश्वास लिन समय लाग्यो । बिस्तारै हाम्रो गुणस्तर उत्पादनलाई उपभोक्ताले बुझेपछि हामी बजारमा राम्रोसँग गयौं । हामीले गुणस्तरमा विशेष ध्यान दियौं । उपभोक्तामाझ विश्वास जितेका कारण अहिलेको अवस्थामा आइपुगेका हौं । 

तपार्इंहरूका उत्पादन के–के छन् ? 

अहिले हामीसँग ४ वटा ब्रान्ड छन् । पिपिसीमा अग्नि सिमेन्ट, ओरियन्ट सिमेन्ट र त्रिदेव सिमेन्ट छन् र ओपिसीमा अल्फा सिमेन्ट हाम्रा उत्पादन हुन् । 

हाम्रो उद्योग रुपन्देहीमा छ । हामी पूर्वमा जनकपुरसम्म पुगेका छौं । हेटौंडा र पश्चिममा महाकालीसम्म पनि हाम्रो बजार छ । काठमाडौं क्षेत्रमा पनि हामी उपस्थित छौं । 

तपार्इं आफैंले क्लिंकर उत्पादन गर्नु हुन्छ कि हुँदैन ? 

हाम्रो अर्को उत्पादन शुभश्री अग्नि सिमेन्टबाट क्लिंकर उत्पादन सुरु गरेका छौं । प्युठानको खानी प्रयोग गरेर क्लिंकर उत्पादन सुरु गरेका छौं । 

उद्योगमा लगानी थप्दै हुनुहुन्छ ? 

हाम्रो क्लिंकर त आइसक्यो । हामीले यसलाई पनि थप विस्तार गर्ने योजना बनाइरहेका छौं । आफूलाई चाहिनेबाहेक थप क्लिंकर उत्पादन गर्ने सोचमा छौं । 

सिमेन्ट उद्योगमा कहिलेदेखि लाग्नु भयो ?

सन् २००९ देखि सिमेन्ट उद्योगमा लागेको हुँ । 

बजार उपस्थितिमा तपाईंले आफ्नो उत्पादनलाई कहाँ पाउनु हुन्छ ?

हामी परिणाममा अग्रस्थानमा नभए पनि गुणस्तर उत्पादनमा अगाडि नै छौं । बिक्रीको परिणाममा अरु सिमेन्ट अगाडि हुनुहोला तर गुणस्तरको हिसाबले हामी शीर्षस्थान मै छौं ।

तपाईंले गुणस्तरमा राम्रो छ भन्नु भयो । एक ग्राहकले यो सिमेन्ट कुन गुणस्तरको छ भनेर कसरी थाहा पाउन सक्छ ?

हामीले भन्ने र यसको प्रचार–प्रसार गर्नु सैद्धान्तिक कुरा हो । उपभोक्ताले सबैभन्दा पहिला यही कुरालाई विश्वास गर्छन् । 

सिमेन्ट प्रयोग गर्न भन्यो कि आफैँ अनुभव गर्छन कि प्रयोग गरिसकेका अरुलाई यस बारेमा सोध्छन् । त्यस आधारमा सिमेन्ट राम्रो छ कि छैन भन्ने ग्राहकले थाहा पाउँछन् । कुनै उपभोक्ताले घर बनाउँदै छ भने तीन चार महिनाअघिदेखि नै कुन सिमेन्ट राम्रो छ भनेर खोज्न थाल्छ । यसबेला साथीभाइलाई सोधेर सिमेन्ट रोज्ने हुन् । 

विज्ञापन पैसा दिएपछि सबैले गर्न सक्छन् तर उपभोक्ताको मन जित्न भने प्रयोगकर्ताले भनेको आधार, प्राविधिक, इन्जिनियरले भनेको आधारमा गुणस्तरको बारेमा थाहा पाउने हुन् । विज्ञापनले पूर्णरुपमा गुणस्तरलाई प्रमाणित गर्दैन । 

बजारको हिसाबले कुन ठाउँमा धेरै बिक्री हुन्छ ? 

बजारको उपभोगका आधारमा काठमाडौं, रुपन्देही र पश्चिममा हाम्रो बजार क्षेत्र हो । हेटाैंडा र पोखरासम्म पनि हाम्रो सिमेन्टको बजार राम्रो छ । 

अहिले उद्योगको क्षमताको आधा मात्र उत्पादन भइरहेको छ । मंसिर र पुसबाट निर्माण कार्य सुरु हुन्छ । नयाँ योजना आउँछन् । त्यसपछि उद्योग पनि पूर्णरुपम सञ्चालन हुन्छन् । 

सिमेन्ट अरू सामानजस्तो थुपारेर राख्न सकिँदैन । यो उत्पादन भएको तीन महिनाभित्र प्रयोग गर्नु सबैभन्दा राम्रो हो । राख्न त सकिन्छ तर सुरक्षित ठाउँ हुनुपर्छ । भण्डारण गर्दा धेरै चाङ लगाएर, भित्तामा टासेर राख्न हुँदैन । 

सिमेन्टको प्रयोग व्यक्तिगत घर बनाउन र अन्य परियोजना बनाउन प्रयोग भइरहेको हुन्छ । तपाईंको सिमेन्ट कुन क्षेत्रमा बढी खपत भएको छ ? 

नेपाल सरकार र अन्य ठूला योजनाहरूमा ओपिसी सिमेन्ट प्रयोग गरिन्छ । जति पनि निजी क्षेत्रका परियोजनामा पिपिसी सिमेन्ट पनि प्रयोग भएको छ । 

ओपिसी र पिपिसीमा के फरक छ ? 

ओपिसीमा छिटो सेटिङ हुन्छ भने पिपिसीमा अलि ढिला सेटिङ हुन्छ । तर, अन्तिममा दुवैको बजबुती बराबर हुन्छ । ओपिसीले गर्ने काम पिपिसीले गर्न सक्छ । विदेशमा पिपिसी सिमेन्टको प्रयोग राम्रो छ । यी दुई मिसेन्टमा फरक दृष्टिकोणले हेर्नु पर्दैन तर नेपालमा भने अलि चिसो पन भएर चाँडै सेटिङ होस् भनेर ओपिसीको माग छ । सिमेन्ट बनाउने तरिका अलि फरक भएकाले यी दुई सिमेन्टको मूल्यमा पनि केही फरक हुन्छ । ओपिसीमा क्लिंकर र जिप्सनको मात्रा मात्र हुन्छ भने पिपिसीमा क्लिकर, जिप्सन, फ्लाइयसको मिश्रण हुन्छ । 

नेपालमा ओपिसी र पिपिसी भनिन्छ तर विदेशमा सिमेन्टलाई ग्रेडिङका आधारमा वर्गीकरण गरिन्छ नि हैन ? 

ओपिसी र पिपिसीको वर्गीकरण संसारभर मै छ । बाहिर सिमेन्टको बलियोपन नाप्ने  आधारलाई ग्रेडिङ गर्ने भनेर छुट्याइएको हो । ओपिसी र पिपिसी दुवैमा पनि ग्रेडिङ हुन्छ । कुनै प्रोजेक्ट वा संरचना बनाउँदा प्राविधिकले कुन ग्रेडको सिमेन्ट लगाउने भन्ने तोकिदिएको हुन्छ । 

नेपालमा सिमेन्टको ग्रेडिङ किन हुन नसकेको होला ?

नेपाल गुणस्तर तथा नापतौल विभागले ग्रेडिङ गर्ने तयारी गरिरहेको छ । ग्रेडिङ तोक्ने भनेर समिति पनि बनेको छ तर अझै हुन सकेको छैन । हामी पनि लागेको लागै छौं । 

सिमेन्टको ग्रेडिङ गर्ने भनेको तीन चार वर्ष भइसक्यो । यति लामो समयसम्म पनि ग्रेडिङ हुन नसक्नुको कारण के होला ? 

ग्रेडिङ गर्दा सिमेन्टमा के–के कम्पोनेन्ट हुन्छन् भन्ने परिभाषित गर्नुपर्छ । त्यो परिभाषामा कुन कम्पोनेन्टको कति प्रतिशत हुनुपर्छ भन्ने कुरा नटुंगिएको हुनाले यो रोकिएको हो । सायद केही दिनभित्रैमा टुंगिन्छ भन्ने आशा छ । अहिले यो विषय परिषद्मा गएर बसेको छ । 

यसको भित्री पक्ष त भारतको जस्तो ग्रेडिङ प्रणाली बनाउने कि नेपालले आफ्नै किसिमको बनाउने भन्नेमा कुरा नमिल्दा अड्किएको छ भनिन्छ नि !

हामी उद्योगीले भनेको कुरा के हो भने भारतमा पनि धेरै अध्ययन र अनुसन्धान गरेर ग्रेडिङ तोकिएको छ । हामीले फेरि नयाँ अध्ययन गर्नुभन्दा त्यही भारतको अध्ययनको आधारमा गरिदिनु न भन्ने हाम्रो भनाइ हो । त्यो अनुरोधमा परिषद्ले भने सबै भारतको नक्कल किन गर्ने ? त्यसका केही परिवर्तन हुनसक्छ भन्ने धारणा सरकारी पक्षको रहेको छ । यसै विषयमा कुरा अल्झिएको हो । 

नेपाली सिमेन्टको ग्रेडिङ नहुँदा ठूला प्रोजेक्टमा स्वदेशी सिमेन्ट प्रयोग हुन सकेको छैन । यसमा सरकार र उद्योगीहरू किन नसोच्नु भएको ?  

नेपाल सरकारले गर्ने जुन–जुन टेन्डर छन्, त्यसमा उहाँहरूले ग्रेडिङ गरेको सिमेन्ट प्रयोग गर्नुपर्छ भनेर तोक्नु हुन्छ । नेपाल सरकारका योजना, विदेशी सहयोगका ठूला परियोजनामा ग्रेड लेखेकै सिमेन्ट चाहिन्छ । हाम्रोमा भने ग्रेड छैन । हामीले ५३ ग्रेडकै सिमेन्ट उत्पादन गरे पनि यसैकारणले ठूला परियोजनामा नेपाली सिमेन्ट प्रयोग गर्न सकिएको छैन । यसै कारण सरकार संलग्न भएका ठूला योजनामा नेपाली सिमेन्ट प्रयोग हुँदैन तर निजी क्षेत्रबाट बनाउने योजनामा भने नेपाली सिमेन्ट प्रयोग भइरहेको छ । हामीले धेरै पहिलेदेखि भनिरहेको विषय हो ।

भारतबाट ल्याउँदा अर्को फाइदा भनेको ठूला योजनाका लागि आएको सिमेन्ट र फलामे डन्डीमा भन्सार शुल्क लाग्दैन । भन्सार नतिरेपछि उताको सिमेन्ट हाम्रोभन्दा सस्तो पर्छ । हाम्रो उत्पादनको लागत धेरै छ।

यसका लागि विदेशबाट कति सिमेन्ट आउँछ ? 

यो प्रोजेक्टको आधारमा निर्धारण हुन्छ । प्रत्येक वर्ष मुलुकमा कति योजना सञ्चालनमा आउँछन् त्यसका आधारमा चाहिएको सिमेन्ट आउने हो । यी परियोजनाका लागि सरदर अहिले १५ प्रतिशत सिमेन्ट आयात हुन्छ । 

यदि नेपाल सरकारले स्वदेशी उत्पादनलाई पनि ग्रेडिङ गरिदियो भने त्यो आयात पनि बन्द हुन्छ । हामीले उनीहरूले खोजेको ग्रेडको सिमेन्ट उपलब्ध गराउन सक्छौं । 

मुलुकमा कति सिमेन्ट उद्योग छन् ? त्यसमध्ये कति उद्योगले आफँै क्लिंकर उत्पादन गर्छन् ?

मुलुकमा झन्डै ५० वटा सिमेन्ट उद्योग रहेका छन् । झन्डै १५ वटा उद्योगले क्लिंकर पनि उत्पादन गरिरहेका छन् ।  

मुलुकमा सिमेन्ट उद्योगमा लगानी बढिरहेको छ । उत्पादन पनि बढिरहेको छ । के नेपालले सिमेन्ट निर्यात गर्न सक्ने अवस्था छ ? 

अहिले विदेशी लगानीका दुईवटा सिमेन्ट उद्योग आएका छन् । यी उद्योगले पूर्ण उत्पादन सुरु गरेपछि स्वदेशको माग पूरा हुन्छ । भइरहेका उद्योगले पनि क्षमता वृद्धि गरिरहेका छन् । अब बढी भएको सिमेन्ट भए के गर्ने भन्ने समस्या छ । 

यसको विकल्प भनेको हामीले अफ सिजनमा जसरी आधा मात्र चलाइरहेका छौं त्यसरी नै आधा चलाउनुपर्ने अवस्था हुनसक्छ । क्षमताको ४० प्रतिशत वा ३० प्रतिशत चलाउने गर्नुपर्ने हुन्छ । बजारमा सामान बिक्री नभएपछि सबै उद्योगले उत्पादन घटाउनु पर्छ । 

अर्को उपाय भनेको भारतमा निर्यात गर्ने हो । तर, समस्या भनेको हाम्रो सिमेन्टको उत्पादन लागत भारतको सिमेन्टको भन्दा धेरै छ । यसका केही कारण छन् ।

पहिलो कारण भनेको हाम्रो स्वदेशी कोइला छैन । सिमेन्ट उत्पादनमा कोइलाको झन्डै ५० प्रतिशत भूमिका हुन्छ । चुनढुंगाभन्दा पनि महँगो छ । 

त्यसैगरी, भारत कोइला ट्रेनबाट सिमेन्ट उद्योगमा सिधै पुग्छ । हाम्रो भने, दक्षिण अफ्रिकाबाट कलकत्ता, हल्दिया आउँछ । त्यहाँ अनलोडिङ हुन्छ । त्यहाँ रेक नपाए ६ महिनासम्म स्टक बस्छ । रेक पाएपछि रक्सौलसम्म आउँछ । त्यहाँ अनलोड हुन्छ । फेरि त्यहाँबाट वीरगञ्ज पारिसम्म आउँछ । त्यहाँ फेरि अनलोड गर्नु प-यो । त्यहाँबाट फेरि बल्ल उद्योगसम्म आउनु प-यो । यसरी ६–७ महिना लगाएर हाम्रो उद्योगमा कोइला आउँदा कति महँगो पर्ला !

हाम्रो ढुवानी खर्च धेरै छ । सबै उद्योगको खानीबाट चुनढुंगा कारखानासम्म ल्याउने दूरी ५० देखि ८० किलोमिटर छ । पहाडको सानोबाटोमा ठूला भारवहन गर्ने ट्रक चलाउन सकिँदैन । सानो ट्रकले बोकेर ल्याउँदा लागत धेरै छ । 

भारतमा जहाँ खानी छ, त्यसैको आसपासमा क्लिंकर र सिमेन्ट उद्योग राखिएको हुन्छ । त्यसै ठाउँमा रेल पनि पुगेको हुन्छ । कुनै पनि ठाउँमा ट्रक प्रयोग भएको देखिँदैन । ढुवानी खर्च धेरै कम छ, उनीहरूको । 
भारतको सिमेन्ट सस्तो हुनेको अर्को कारण हाम्रोमा भन्दा भारतको विद्युत् पनि सस्तो छ । 

मुलुकमा चुनढुंगा खानी प्रशस्त हुँदाहुँदै पनि वार्षिक अर्बौंको क्लिंकर ल्याउनु परेको छ । हामीलाई चाहिने आफैं उत्पादन गर्न किन नसकिएको हो ? 

हाम्रोमा जसले क्लिंकर उत्पादन गरिरहेका छन् उनीहरूले आफैँ मात्र खपत गरेका छन् । अरु उद्योगलाई बेच्न सकेका छैनन् । अबको ढेड–दुई वर्षमा हामीलाई चाहिने क्लिंकर आफैँ उत्पादन गर्न सक्ने हुन्छाैं । 

गत वर्ष मात्रै झन्डै ३० अर्बको क्लिंकर आयात भएको छ । सरकारले चालु आवको अन्त्यसम्म यस्तो आयातलाई शून्यमा झार्छौं भनेको छ । के यो सम्भव छ ? 

यो वर्ष आयात धेरै घट्छ तर शून्य नै त नहोला । जसरी उद्योगहरू क्षमता वृद्धि गर्नुपर्ने हो त्यो नभएकाले धेरै आएको हो । मलाई लाग्छ यो वर्ष आधा घट्छ होला । 

चुनढुंगा खानी पाउन पनि समस्या छ भनिन्छ नि । खास समस्या के हो ? 

खानी छन् तर हामी आफैंले गएर खोज्नु पर्छ । खानी तथा भूगर्भ विभागले खानी खोजेर दिँदैन । विभागले आफैं खोजेको खानी टेन्डर गर्छ । टेन्डर पक्रियामा आएका खानी धेरै कम छन् । विभाग यो सबै गर्न सक्षम देखिँदैन । 

कुनै पनि व्यक्ति वा कम्पनीले खोजतलासको लाइसेन्स लिन्छ । यदि खोजतलास गर्दा खानी भेटियो भने कि आफैं उत्पादन गर्नु प-यो कि बाहिर बेच्नु प-यो । आफैं उत्पादन गर्न नसक्नेले अरुलाई  खानीको लाइसेन्स बेच्ने गरेका छन् । 

उद्योगीले आफैं खोजतलास गरेर खानी भेट्याउने काम गर्दैनन् । त्यस्तो गर्ने मान्छेहरू छन् । उनीहरू फाइदा उठाइरहेका छन् । खोजतलास लाइसेन्स दिँदा नै विभागले रोक्न सक्यो भने मात्र यो रोकिन्छ । 

खोजतलास लाइसेन्स दिँदा नै हैसियत बुझेर दिनु प-यो भनिरहेका छौं । खोजतलास लाइसेन्स लिएपछि नामसारी गर्न नपाइने बनाउनु पर्छ भन्यो भने मात्र यो रोकिन्छ । जति वर्षसम्म ओगटेर राख्छ त्यसअनुसारको फाइन तिराउन सकेमा रोक्न सकिन्छ । राम्रो नीतिको खाँचो छ । विभागले उद्योगीलाई खानीका लागि सहयोग गरेको छैन । त्यसले गर्दा खानी कोसँग छ भनेर खोज्दै हिँड्नु पर्छ । खानी विभाग नै यसको प्रमुख जिम्मेवार पक्ष हो । 

सिमेन्ट उद्योगमा रहेका चुनौतीहरू के–के हुन् ? 

पहिलो चुनौती विद्युत हो । विद्युत अझै पनि महँगो छ । यति ठूलो उद्योगका लागि १३२ केवीबाट विद्युत पाउनुपर्ने हो तर ११ र ३३ केवीबाट विद्युत प्रयोग गरिरहेका छन् । १३२ केवीबाट दियो भने सस्तो र गुणस्तरीय पाउँथ्यौं । 

कोइलाको ठूलो समस्या छ । कोइला ल्याउने संयन्त्र झन्झटिलो छ । जसरी मुलुकमा ठूलो लगानी लगाएर उद्योग आए तर त्यसलाई चाहिने कोइला ल्याउने छरितो संयन्त्र विकास गर्न सकिएन । नेपाल सरकार पछिल्लो समयमा ध्यान दिएर लागेको देखिन्छ । कोइला ल्याउने नाका वीरगञ्ज मात्र रहेको छ । जोगवनी, भैरहवा, नेपालगञ्ज, कैलावासमा खोल्दियो भने बल्ल लागत सस्तो पर्छ । 

चुनढुंगा खानीबाट उद्योगसम्म ढुवानी गर्ने बाटो धेरै साँगुरो छ । कम गुणस्तरका छन् । यी बाटो राम्रो र फराकिलो बनाउन आवश्यक छ । बाटो राम्रो भएन भने लागत धेरै बढ्छ ।  

अर्को ठूलो समस्या भनेको स्थानीय समस्या छ । चुनढुंगा खानीमा रहेको स्थानीय बसोबासलाई पुनस्र्थापना र त्यहाँका समस्या समाधान गर्नुपर्छ । सरकार, उद्योगी र स्थानीय मिलेर ती समस्या समाधान गर्नुपर्छ । एकातिर सरकारले उद्योग खोल्ने र रोजगार सिर्जना गर्ने भन्छ तर अर्कोतिर राम्रोसँग उद्योग सञ्चालन गर्न राम्रो नीति छैन । उद्योग खोलिन्छ भने त्यहाँको जनताको जिम्मेवारी सरकारले लिनुपर्छ । सरकारले सहयोग गर्नुपर्छ । 

पहाडमा चुनढुंगा उत्खनन्देखि ढुवानी गरेर उद्योगसम्म ल्याउँदा देखिने नदेखिने धेरै समस्या छन् । स्थानीयबाट पनि धेरै समस्या सृजना भइरहन्छन् । 

श्रम र कामदारको समस्या कस्तो छ ? 

उद्योग चलाउनलाई आवश्यक कामदारको समस्या छ । नेपालमा सिमेन्ट उद्योग चलाउने हामी पहिलो पिँढी हौं । हामीलाई दक्ष जनशक्ति छैन । भारतबाट पनि दक्ष जनशक्ति ल्याउनुपरेको छ । 

सरकारले ७–८ वर्षदेखि नै चुनढुंगा खानीसम्म प्रसारण लाइन र पहुँच मार्ग बनाउने भनेर बजेट विनियोजन गर्दै आएको छ । यो योजना किन सफल हुन सकेको छैन ? 

प्रगति नै नभएको होइन । सरकारले दिएजस्तो र उद्योगीले केही पाए जस्तो भएको छ तर प्रतिफल राम्रो छैन । बजेट कनिका छरेजस्तै दिइएको छ । दिएको पैसाले पुग्दैन । उद्योग स्थापना भइसक्छ तर बाटो नबन्ने समस्या छ । सरकारले कुन उद्योग चलाउनुभन्दा अघि नै बाटो बनाउनु पर्छ । सरकारले चाहिने बजेट दिँदैन । ठेक्का समयमा हुँदैन । ठेकेदारले समयमा काम गर्दैनन् । 

सरकारले जति बजेट छुट्याउँछ त्यो उद्योगीलाई दिनुपर्छ भनेका छौँ । त्यो भए हामीले समयमै बाटो बनाउँछौं भनिरहेका छौँ । यो कुरा एकपटकको बजेटमा पनि आएको थियो तर कार्यान्वयन भने हुन सकेको छैन । 

बैंकबाट हुने लगानीको अवस्था कस्तो छ ? 

हाम्रो अर्को समस्या भनेको बैंकको पनि हो । हाम्रोजस्तो मुलुकमा लगानी पाउन पनि गाह्रो छ । बैंकको ब्याज पनि धेरै महँगो छ । हामीले १२–१३ प्रतिशत ब्याज दिएर कसरी उद्योग सञ्चालन गर्न सक्छौं !

एकातिर उपभोक्ताले सिमेन्टको भाउ महँगो भन्नुहुन्छ तर उतातिर हामीले धेरै ब्याज तिर्नुपरेको बुझ्नु हुन्न। अहिले सिमेन्ट भनेको राष्ट्रिय प्राथमिकताको उद्योग भन्छ तर यस उद्योगलाई कुनै पनि सुविधा दिइएको छैन । 

मुलुकमा भौतिक पूर्वाधार बन्न बाँकी नै छन् । सानादेखि ठूला योजन तर्जुमा भइरहेका छन् । यस हिसाबले आगामी दिनमा सिमेन्टजस्ता निर्माण सामग्रीको बजार राम्रै हुनसक्छ ?

नेपाल द्रूत रुपमा विकास भइरहेको देश हो । यहाँ बाटो बनाउन नै बाँकी छन् । नयाँ बाटो बनाउन बाँकी छ भने भएकालाई पनि विस्तार गर्नु पर्नेछ । सुरुङ मार्ग बनाउनुपर्ने छ । हाम्रो जस्तो पहाडी मुलुकलाई सिमेन्टको माग धेरै बढ्दै जानेछ । 

सिमेन्टको माग र आपूर्ति कस्तो ?  

अहिले मुलुकको सिमेन्टको माग भनेको ८.५ मिलियन टन हो भने सप्लाइन ७.५ मिलियन टन जति छ । आपूर्ति बढ्दै जाने देखिन्छ । पाँच वर्षपछि त सिमेन्ट उत्पादन फालाफाल हुनेछ । 

पाँच वर्षपछि सिमेन्ट आपूर्ति मागभन्दा धेरै हुन्छ भन्नु भयो । त्यस अवस्थामा के गर्ने त ? निर्यात गर्ने अवस्था पनि छैन भन्नुहुन्छ । 

हामी मुलुकमा आर्थिक उन्नति हुन्छ र सिमेन्टको माग पनि बढ्दै जान्छ भनेर उद्योग खोलेका हौं । तर उत्पादन बढ्ने तर माग बढेन भने त त्यो अवस्थामा हाम्रो उद्योगको सिमेन्ट उत्पादन घटाउनु पर्छ । माग भएन भने त बन्द पनि गर्नुपर्ने अवस्था हुनसक्छ तर हामीले उद्योग बन्द गर्नुपर्छ भनेर खोलेको होइन । माग बढ्छ र उद्योग राम्रोसँग चल्छ भनेर खोलिएको हो । 

मुलुकमा सिमेन्ट उद्योगमा लगानी र रोजगारीको अवस्था कस्तो छ ? 

अहिले मुलुकको सिमेन्ट उद्योगमा ६५ देखि ७० अर्ब जति लगानी छ । यस क्षेत्रमा प्रत्यक्षरुपमा ३० देखि ४० हजारले रोजगारी पाइरहेका छन् । अप्रत्यक्ष रुपमा ड्राइभर, डिलरजस्ता लाखौंले रोजगारी पाइरहेका छन्। 

तपाईं आफैँ इन्जिनियर र उद्योगी हुनुहुन्छ । नेपालका अबका सम्भावनाका क्षेत्र के–के हुन् ? 

अहिले पूर्वाधार निर्माण नै सबैभन्दा बढी सम्भावनाको क्षेत्र हो । बाटो, पुल, सुरुङ मार्ग, रेल मार्ग बनाउँनै बाँकी छ । यी क्षेत्रमा ठूलो लगानी हुनेवाला छ । 

साथै, जलविद्युत आयोजनामा पनि सिमेन्टको ठूला प्रयोग हुनेवाला छ । सहरी विकास पनि हुनै बाँकी छ । सहर विस्तार हुदैछन् । त्यहाँ सिमेन्टको माग ठूला हुनेछ । 

अब मुलुकमा लगानीका ठूलो सम्भावना भएका क्षेत्रहरू कुन–कुन होलान ?

अहिलेको अवस्थामा लगानीको क्षेत्र भनेको कृषि क्षेत्र पनि हो । मुलुक कृषि क्षेत्रमा धेरै पछाडि छ । कृषि र कृषिका आधारमा उद्योगको सम्भावना धेरै छ । दैनिक उपभोग्य उत्पादन सबैलाई चाहिने वस्तु हुन् । हामीले गर्न सक्ने क्षेत्र पनि कृषि हो । कृषिमा आधुनिकीकरण गर्न आवश्यक छ ।  खानेकुरा सबैभन्दा महŒवपूर्ण वस्तु हो । अरु सामान आयात गर्न सकिएला तर मान्छेले खाने चिज आफैँ उत्पादन गर्नुपर्छ । 
अर्को सम्भावनाको क्षेत्र भनेको औषधि उद्योग पनि हो । अहिले मुलुकलाई चाहिने ६०–७० प्रतिशत औषधि भारतबाट आइरहेको छ । 

अब तपाईंको व्यक्तिगत र करियरका कुरा गरौं । तपाईंको करियर कसरी, कहाँबाट सुरु भयो ? 

मैले हाइस्कुल भैरहवामा पढेको हुँ । पुल्चोकमा सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेँ । त्यसपछि २०४२ सालतिर नेपाल सरकारको सार्वजनिक निर्माण शाखामा ओभरसियर भएर तीन वर्ष जागिर गरेँ। 

शिक्षा मन्त्रालयबाट नेपाल सरकारको छात्रवृत्तिमा बाहिर पढ्ने अवसर पाएँ । पूर्व सोभियत संघमा इन्जिनियरिङमा मास्टर डिग्री गरेँ । १९९१ मा मैले पढाइ सकेपछि शिक्षा मन्त्रालयमै फर्केर आएँ । शिक्षा मन्त्रालयले उद्योग मन्त्रालयमा पढाइदियो । तर, त्यहाँ जागिर छैन भन्नु भयो । त्यसो भए मैले पिएचडी गर्न जान्छु अनुमति दिनुस् भनेँ । 

मैले पढेको कलेजमा पिएचडी गर्न छात्रवृत्ति दिन्छु भनेको थियो तर मन्त्रालयबाट अनुमति पाइनँ । चिठी पनि दिनु भएन । पछि म आफैँ पढ्न गएँ । पिएचडी गरेर आएँ । १९९७ मा राजा वीरेन्द्रबाट महेन्द्र विद्याभूषण पाएँ । नेपालमा काम गर्ने अवसर नमिलेपछि पुनः रसिया गएर काम गर्न थालेँ । म पढेको युनिभर्सिटीमा रिसर्च काम थालेँ र मेरो व्यवसाय पनि सुरु गरेँ । रसियामा १४ वर्ष बसेर सन् १९९९ मा नेपाल फर्किएँ । 

नेपाल फर्किएपछि के–के गर्नु भयो ? 

नेपालमा आएर कान्तिपुर इन्जिनियरिङ कलेजको स्थापना गरेँ । म त्यसको अध्यक्ष छु । यो कलेजबाट १ हजार ५ सय विद्यार्थी उत्तीर्ण भइसकेका छन् । 

निर्माण व्यवसायीका रुपमा बज्रगुरु कन्स्ट्रक्सन कम्पनीमा पनि काम गरेँ । अहिले म त्यसमा संलग्न छैन । रसुवाको मैलुङ खोला जलविद्युत आयोजनामा पनि मेरो लगानी छ । स्टार हस्पिटलमा पनि निर्देशक छु ।
२०६८ सालमा ‘मोहनी लाग्ला है’ भन्ने फिल्मको निर्मातासमेत बनेँ । हामी दाजुभाइ मिलेर यसमा लगानी गरेका थियौँ । यसको निर्देशक कुन्दन खनाल हुनुहुन्थ्यो । फिल्म राम्रोसँग चल्यो पनि । सायद लगानी उठेको थियो होला । त्यो बेला फिल्मको राम्रो माहोल थियो । 

हामी राम्रोसँग जाने भन्ने योजना थियो । नेपालमा ठूलो स्टुडियो बनाउने भनेर योजना पनि अगाडि सारेका थियौँ । तर, त्यही बेला राजा वीरेन्द्रको घटना भयो । हाम्रो योजना पनि अगाडि बढ्न सकेन । माहोल बिग्रियो ।  

नयाँ जीवन रेखामा कलाकारको रुपमा काम गरेको छु । यो फिल्ममा निर शाहको साथी अर्थात् विदेशी व्यापारी भएर खेलेको छु । यो झन्डै दस वर्षअघिको कुरा हो । म अरु तीन–चारवटा फिल्ममा पनि सानो रोलमा खेलेको छु । 

फिल्ममा कसरी जोडिन आउनु भयो ? 

म सानैदेखि कलाप्रेमी मान्छे हुँ । फिल्ममा खेल्ने भन्ने रुचि थियो । म रसियाबाट दुई वर्षपछि बिदामा आएको बेला २०४८ सालतिर हिरोको भूमिकामा फिल्म खेल्ने अफर आएको थियो । हिरोको रोल खेल्न अफर आएको थियो । फोटो कन्सर्नमा गएर फोटो सेसन पनि गरेँ । त्यो फोटो अझै पनि छन् । 

मलाई त्यो बेला दुई महिना समय चाहिन्छ भन्नुभएको थियो तर म एक महिनाका लागि मात्र बिदामा आएको थिएँ । मैले समय दिन सकिन र मैले आफैँ छोडेँ । 

त्यतिखेर फिल्म खेल्नुभएको भए तपाईंको करियर नै फरक पर्ने रहेछ है ?

हो, म त्यो बेला फिल्म खेलेको भए सायद यो उद्योगमा आउने थिइन् । जुन फिल्ममा म खेल्न पाइनँ । त्यो एक नेपाली फिल्मको महत्वपूर्ण फिल्म थियो । त्यो फिल्मको नाम थियो– युगदेखि युगसम्म । 

परिवारमा को–को हुनुहुन्छ ?

श्रीमती ओल्गा पोख्रेल, उनी बेलारुसकी हुन् । रसियामा मास्टर पढ्दा बिहे भएको हो हाम्रो । दुई छोरी छन्, रीता र सीमा । जुम्ल्याहा हुन् । बेलायतमा फेसन डिजाइनर छन् ।

उद्योगदेखि विभिन्न ठाउँमा संलग्न हुनुहुन्छ । समयको व्यवस्थापन कसरी गर्नु हुन्छ ? 

एकै ठाउँमा धेरै समय दिनु पर्दैन । अनुभवले सबै सिकाउँछ । काम गर्नेहरू सबै ठाउँमा छन् । उहाँहरूलाई व्यवस्थापन गर्ने हो । समय पुग्दैन तर पनि मिलाउनु पर्छ । 

खानपिनमा रुचि कस्तो छ ? 

एकदमै सादा खाना मन पर्छ । बढी भेज मन पर्छ । सोसल ड्रिग्स पनि गर्छु ।  रसियनमा हुँदा धेरै खानपिन पनि भयो । विद्यार्थी जीवन थियो तर अहिले व्यस्त दैनिकी छ । धेरै जिम्मेवारी छ र स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ । मलाई बढी रेड वाइन मन पर्छ ।  

तपाईंको अनुभवमा नेपालमा उद्यमीलाई कसरी हेरिन्छ ? उद्यमी बन्न के–के चुनौती छन् ? 

धेरै राम्रो प्रश्न गर्नु भयो । जति मैले सोचेको थिएँ । मैले जति पनि अध्ययन गरेँ, त्यो प्रयोग गर्ने क्षेत्र यही हो । मैले यो उद्योगमा धेरै मिहिनेत गरेको छु । जति सुकै गरे पनि नेपालको परिस्थिति, यहाँको काम गर्ने तरिका बेग्लै छ । नेपालमा नीतिहरू छन् तरसही तरिकाले कार्यान्वयन हुँदैन । धेरै कामहरू भनसुनको आधारमा हुन्छन् । ‘स्मुथ’ तरिकाले कुनै पनि काम हुँदैनन् । 

विदेशमा हेर्ने हो भने मान्छेको अनुहार नै नहेरी काम सकिन्छ । कागजपत्रको आधारमा । किन भएन भन्ने कुरा पनि कागज वा इमेलबाट हुन्छ । यहाँ भने आफू नपुगी काम हुँदैन । समय हुँदैन तर त्यहाँ पुग्नै पर्छ । समय तालिकामा कुनै पनि काम हुँदैन । सिस्टम नै सही तरिकाको छैन । यसले गर्दा भने समय व्यवस्थापन गर्न गाह्रो हुन्छ । 

हामीलाई ठूला कर दाता भनिन्छ तर त्यसअनुसारको व्यवहार राज्यबाट हुँदैन । ठूला कर दाता बन्न कति धेरै मिहिनेत चाहिन्छ । कति लगानी हुन्छ । मानसिक तनाव कति छ त्यसको मूल्यांकन नै गर्न सकिँदैन । राज्यले उद्यमी पनि राज्यका एक अंश हुन् भन्ने बुझ्नुपर्छ । यस्तो भयो भने मात्र हामीलाई पनि कर्तव्य पालन गर्न उत्साहित बनाउँछ । 

सामाजिक रुपमा उद्यमीलाई कसरी हेरिन्छ ? 

समाजले उद्यमीप्रति हेर्ने दृष्टिकोण अलि सकारात्मक छ, व्यापारीलाई भन्दा । सरकारले रोजगारी दिन सकेको छैन तर एक उद्यमीले रोजगारी दिएको छ भन्ने धारणा समाजमा छ । 

अविकसित देश हो सबै ठाउँमा एउटै छैन । कतिपय ठाउँमा नकारात्मक धारणा पनि छ । निर्माण व्यवसायीलाई ठगी हुन, उद्योगी व्यापारीलाई धेरै नाफा लियो भन्ने धारणा पनि छ । म के भन्छु भने हाम्रो देशमा सबै कुरा बुझ्ने क्रम मै छ । 

तपाईंलाई अहिले हामी उद्योगीको रुपमा कुरा गरिरहेका छौं । शिक्षा मन्त्रालयले जागिर दिएको भए वा फिल्ममा अफरलाई स्वीकारेर खेल्नुभएको भए अर्कै करियर हुन्थ्यो होला । तपाईंले टर्निङ प्वाइन्ट केलाई मान्नु हुन्छ ? 

म रसियाबाट फर्केपछि सरकारले जागिर दिएको भए म अर्कैै ठाउँमा हुन्थेँ होला । सचिव भएर रिटायर्ड हुन्थेँ होला । अथवा, फिल्म खेलेको भए अर्कै दुनियाँमा हुन्थेँ होला । 

म युरोपमै बसेर पनि काम गर्न सक्थेँ । मेरो परिवार उतै थियो तर मैले धुलो मैलो भए पनि नेपालमै केही गर्नुपर्छ भनेर आएँ । मैले देश सम्झेर आएको हुँ । मेरा धेरै साथी अमेरिका, अस्ट्रेलिया बसेका छन् । मेरी श्रीमती विदेशी हुँदाहुँदै पनि दुवैजनाको सहमतिमा नेपालमै केही गरौं भनेर आएको हुँ । 

प्रकाशित: २६ आश्विन २०७५ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App