५ वैशाख २०८१ बुधबार
अर्थ

सिक्टा आयोजनाभित्र कमजोरी रहेको संसदीय समितिको ठहर

बाँके (अगैया) - राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा आएको संसदीय टोलीले आयोजनाभित्र कमजोरी रहेको ठहर गरेको छ। ‘संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति’का पदाधिकारीले दुई दिन लगाएर सिक्टाको पश्चिम र पूर्वी मूल नहरको स्थलगत निरीक्षण गरेका थिए । उक्त टोलीले निरीक्षणपश्चात आयोजनाभित्र कमजोरी रहेको ठहर गर्दै लिखित प्रतिवेदनमार्फत सबै कुरा सार्वजनिक गर्ने जनाएको छ।

आयोजनाको पश्चिम मूल नहर परीक्षणका क्रममा गत साउन ७ गते ढकेरीस्थित चंगाई नालानजिक भत्केको थियो। त्यसअघि २०७३ असार १४ गते पनि ढकेरीस्थित झिझरी खोला छेउमा परीक्षणकै क्रममा मूल नहर भत्किएको थियो । पटक–पटक सिक्टाको मूल नहर भत्किएपछि स्थानीय बासिन्दाले संसदीय समितिमार्फत छानबिन गर्नुपर्ने माग गर्दै आएका थिए। समितिका पदाधिकारीले दुई दिनसम्म स्थलगत निरीक्षण गरिसकेपछि सिक्टाभित्रको कमजोरी प्रारम्भिक रुपमा औंल्याएका हुन्।
समितिका सभापति पूर्णा सुवेदीले आयोजनाभित्र कमजोरी रहेको कुरा अनुगमनका क्रममा प्रस्ट देखिएको बताइन् । पश्चिम मूल नहरमा कमजोरी कसबाट भएको छ, त्यसको सबै कुरा प्रतिवेदनमा समेट्ने उनले सुनाइन्। ‘हामीले दुई दिन लगाएर सिक्टाको पश्चिम र पूर्वी मूल नहर निरीक्षण ग-यौं, फिल्डमै पुगेर निरीक्षण गर्दा केही कमी–कमजोरी देखिएका छन्,’ उनले नागरिकसँग भनिन्, ‘हामीले प्रतिवेदनमा आफ्नै आँखाले देखेका र जनताले बोलेका कुरालाई समेट्छौं, समितिको बैठक बसेर प्रतिवेदन बुझाउँछौं, मन्त्रालयलाई निर्देशन दिएपछि कारबाही गर्ने निकायले कारबाही गर्लान् ।’ सिक्टाभित्रको अनियमिततालाई सिँचाइ मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टा–छुट्टै रुपमा छानबिन गरिरहेका छन्।

सिक्टाभित्रको अनियमितता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि छुट्टै तरिकाले लागेकाले कमजोरीमा संलग्न व्यक्ति कारबाहीमा पर्नेमा उनी विश्वस्त छिन् । स्थानीय स्तरबाट आएका सुझाव अनुसार आफूहरुले प्रतिवेदन तयार गर्ने समितिका पदाधिकारीले बताएका छन् । ‘हामीले समन्वय र सहजीकरणको भूमिका खेल्ने हो, जसरी भए पनि राष्ट्रिय गौरवको आयोजना गुणस्तरीय हिसाबले बन्नुपर्छ,’ सभापति सुवेदीले थपिन् । सिक्टा आयोजनाप्रति जनताको चासो र चिन्ता धेरै रहेको उनले सुनाइन्।

उक्त टोलीमा समितिका सदस्यहरु राजबहादुर बुढाक्षेत्री, शान्ति माया तामाङ र सत्यनारायण शर्मा (खनाल) छन् । टोलीसँगै बाँकेबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सांसद पनि सहभागी भएका थिए । सिक्टा आयोजना निर्मित क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद महेश्वरजंग गहतराजले सिक्टा आयोजनाको मर्मतसम्भार ठेकेदारले गर्ने कि आयोजना कार्यालयले भन्नेमा अन्योल हुँदा निर्मित संरचना बिग्रिने र भत्किने क्रम सुरु भएको बताए।

‘एउटा परिवारमा बुबाआमालाई दाजुले हेरविचार गर्ने कि भाइले गर्ने भन्नेमा पन्छिने काम गरे झैं सिक्टामा पनि ठेकेदार र आयोजना कार्यालय पन्छिन खोजेको देखिन्छ, यसको परिणामस्वरुप सिक्टाको नहर बिग्रिने र भत्किने गरेको मैले बुझेको छु,’ उनले भने । मर्मतसम्भार गर्ने समय हुँदा हुँदै पनि ठेकेदार आफ्नो दायित्वबाट पन्छिनु र आयोजना कार्यालयले पनि ठेकेदारलाई जिम्मेवार बनाउन नसक्नु पनि सिक्टाभित्रको कमजोरी रहेको सांसद गहतराजले बताए । स्थानीय बासिन्दाको सुझावका आधारमा पनि सिक्टाभित्र देखापरेको समस्या समाधान गर्न सकिने उनको भनाइ छ।

सिक्टाभित्र भ्रष्टाचार हुँदा आयोजनाको काम गुणस्तरहीन भएको प्रश्न उठिरहेका बेला सम्बन्धित निकायले यसलाई गम्भीरतापूर्वक हेर्नुपर्ने सांसद गहतराज बताउँछन् । ‘अख्तियारले पनि छिटो आफ्नो काम चाँडो टुंग्याउनुप-यो,’ उनले भने, ‘मैले राज्य व्यवस्था समितिको बैठकमा पनि केही दिनअघि अख्तियार प्रमुख सहितको टिमलाई सिक्टाको विषयलाई चाडो टुंग्याउन सुझाव दिएको थिएँ, छानबिनको प्रक्रियालाई चाँडो टुंग्याएपछि सिक्टाको कामलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्छ।’

समितिका पदाधिकारी र जिल्लाका सांसदसहितको टोलीले बिहीबार सिक्टाको पूर्वी नहर निरीक्षण गरिसकेपछि अगैयामा स्थानीय बासिन्दासँग र त्यसपछि जिल्लाका सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको सभापति सुवेदीले जानकारी दिइन् । पूर्वी नहर निर्मित क्षेत्र राप्तीपारि बैजापुरका स्थानीयले पश्चिम मूल नहरको जस्तै कमसल काम हुन सक्नेतर्फ सरकार समयमै सचेत रहनुपर्ने सुझाव दिएका छन् । पूर्वी नहर निर्माण हुने क्षेत्रमा पनि माटोको गुणस्तर ठिक नभएको भन्दै ल्याब परीक्षण गरेर मात्र काम गर्नुपर्ने उनीहरुको आग्रह छ।

‘पूर्वी नहर निर्माण हुने क्षेत्रमा बलौटे खालको माटो छ, भविष्यमा यो माटोले नहरलाई धोका दिन सक्छ,’ एक स्थानीयले भने, ‘यसलाई सरकारले समयमै ध्यान दिने काम गरोस्, पश्चिम नहरको जस्तो हविगत पूर्वी नहरमा नहोस् ।’ अधिकांश स्थानीयले ठेकेदारको काम कछुवा गतिमा अघि बढेको भन्दै सरकारले समय–समयमा नियमन गर्नुपर्ने सुझाव पनि दिए।

पूर्वी नहर निर्माणका लागि ठेकेदार ‘कालिका कुमार जेभी’सँग २०७४ साउन १० (२४ जुलाई २०१७) मा सम्झौता भएको थियो । तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रूपैयाँको लागतमा सम्झौता भएको उक्त काम सम्पन्न गर्न ठेकेदारलाई २८ महिनाको समय दिइएको छ । यसका लागि ठेकेदारले २०७६ कात्तिक २५ गतेभित्र पूर्वी मूल नहरको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्नेछ।

कुल साढे ५३ किलोमिटर पूर्वी मूलनहर निर्माण गर्ने जिम्मा पाएको ठेकेदारले हालसम्म ३.३ किलोमिटर क्षेत्रसम्म मात्र काम गरेको छ । यसका लागि हालसम्म आयोजना कार्यालयबाट ठेकेदारले ३९ करोडभन्दा बढी रकम पेस्कीस्वरुप बुझिसकेको बताइएको छ । सिटिसिई कालिका जेभीले कमसल निर्माण गरेका कारण आयोजनाको पश्चिम मूल नहर परीक्षणकै क्रममा पटक–पटक भत्किने गरेको छ । आयोजनाको गलत डिजाइन र ठेकेदारको कमसल निर्माणका कारण अगैयास्थित हेडवक्र्सदेखि ३५ किलोमिटरसम्मको आइसिबी–१ र आइसिबी–२ ठेक्कामार्फत निर्मित पश्चिम नहर जीर्ण भएको छ।

सिक्टा सिँचाइका लागि अहिलेसम्म १४ अर्ब ७० करोड रूपैयाँ खर्च भइसकेको छ । आयोजनाको ४२.२५० किलोमिटर पश्चिम (दायाँ) मूल नहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर तथा साढे ५३ किलोमिटर पूर्वी (बायाँ) मूल नहरमार्फत राप्तीपारिको नौ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य छ । आयोजनाको सम्पूर्ण काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारले अनुमान गरेको छ।

प्रकाशित: २६ आश्विन २०७५ ०५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App